इलाम : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय इलामसहित देशैभरबाट सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाइएको युवा संगठन इलामले जनाएको छ । सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै युव संगठनले सहमति कार्यान्वयन गर्न माग गरेको हो ।
युवा संगठनका जिल्ला संयोजक विद्रोहीद्वारा हस्ताक्षिरत ज्ञापनपत्रमा ३ बुँदै माग उल्लेख छ । ज्ञापनत्रमा राजैनिक आस्थाका आधारमा लगाइएका झुटा मुद्धाहरु खारेज गर्न, राजैनिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीलाई विनाशर्त रिहाई गर्न र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्न माग गरेको छ ।
तत्कालिन सरकार र नेकपा बिच गत २० फागुन २०७७ मा तीन बुँदे सहमति भएको थियो । सो सहमतिपत्रमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो । तर सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउनेबाहेक अन्य सहमति कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वयनका लागि सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।
यसअघि हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन २०७५ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।
नेकपाले पुँजीवाद कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएको छ ।