राष्ट्र बैंकले दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण गर्ने


राष्ट्र बैंकले दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिन अघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यद्यपि राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् ।

यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ ।

सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लेखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् । सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन ।

यसो गरेको भेटिए प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार