पाँचथर : मिक्लाजुङ गाँउपालिका–५ पाँचथरमा कार्यक्षेत्र रहेको कुरुम्बा कृषि सहकारी संस्था लिमिटेडले गाईभैंसीलाई सुत्केरी पोषण भत्ता दिन थालेको छ ।
ग्रामिण क्षेत्रका कृषकहरुलाई दिगो रुपमा पशु व्यवसायमा आकर्षित गरि दुग्ध मुल्य श्रृखला विकास गर्न सहकारीले यस्तो सुविधा दिन थालेको हो ।
आज सम्म यस्तो नयाँ कुरा थाहा पाएँ । सहकारी संस्थाका मान्छे गोठमै आएर पाँच सय रुपैया हातैमा दिए खुसी हुँदै सचिन लावतीले भने “गत वर्ष सहकारीबाट ४० हजार रुपैयाँ घुम्तीकोष पाएर एक लाख ३० हजारमा भैंसी खरिद गरे । सहकारीकै सिफारीसमा १० हजार अनुदान पनि पाइयो । यो वर्ष त एक वर्षको पाडो पनि २७ हजारमा विक्री गरें । दुध बिक्री गर्न पनि टाढा जानुपर्दैन सहकारीले नै खरिद गरीरहेको । सहकारीले संस्था हाम्रो सहयोगी र अभिभावक भएको छ ।” हामी जस्ता कृषकहरुको लागि सहकारी वरदान वनेको उनले बताए
शेयर सदस्यहरुका गाई भैंसीहरु सुत्केरी भएमा पाँच सय रुपैया पोषण भत्ता स्वरुप सहकारीले उपलव्ध गराईरहेको र आगामी दिनमा सहकारीको कार्यविधिलाई थप परिमार्जन गरी कृषकहरुलाई विभिन्न सेवाहरु उपलव्ध गराउन सहकारीले योजना बनाइरहेको कुरुम्वा सहकारी संस्थाका सचिव राजकुमार लावतीले जानकारी दिए । उनका अनुसार सहकारीले ९० जना कृषकहरुलाई गाई भैंसी खरीद गर्नको लागी ४० हजारको दरले ३६ लाख घुम्ति कोष वितरण गरिएको छ ।
सहकारी संस्थाबाट कृषकहरुले प्राविधिक ज्ञानका साथै घुम्तीकोष प्राप्त गरेपछि गाई भैंसी खरिद गरी गुणस्तरीय दुध उत्पादनमा लागिरहेको र सहकारीले सेवा क्षेत्रमा एक वटा दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर विभिन्न दुग्ध जन्य उत्पादन सुरु गरेको जानकारी दिए । कुरुम्वाका चार सय ९२ महिला र दुई सय ३९ पूरुष गरी सात सय ३१ शेयर सदस्य समावेश गरेको सहकारी संस्थाले कृषि र पशुपालनको क्षेत्रमा एक सरोड ५० लाख बढी लगानी गरेको संस्थाका अध्यक्ष खड्गसिं योङहाङले बताए ।
ग्रामीण क्षेत्रमा पशुपालन व्यावसाय, गुणस्तरीय दुग्ध उत्पादन र बजारीकरण गर्न पाँचथरका दक्षिणी स्थानीयतहहरु मिक्लाजुङ,कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका कृषि सहकारी संस्थाहरुसँगको साझेदारीमा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “दुग्ध मुल्य श्रृखला विकास परियोजना” सञ्चालन भइरहेको गुड नेवर्स ईन्टरनेशनल नेपाल परियोजना अधिकृत कृष्णराज जोशीले जानकारी दिए ।
सहकारीले नयाँ कार्यको थालनी गरेको छ । यस्ता खालका कार्यक्रमले कृषकहरुमा उत्साह थपिएको छ । आगामि दिनमा सहकारी मार्फत कृषकहरुको आयआर्जन बृद्धि साथै स्वरोजगार मुलक कार्यहरुको निरन्तरता र दिगोपनाको लागि स्थानीय निकायहरुले समेत आवश्यक सहयोग र समन्वय गर्ने मिक्लाजुङ गाँउपालिका–५ का वडाअध्यक्ष अबिसन लावतीले वताए ।