इलाम : संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारकाे आफ्नै खलक रहेका छन् । प्रहरीले छिट्टै पत्रकार सम्मेलन गरी घटनाबारे सबै जानकारी दिने तयारी गरिरहेको बुझिएको छ ।
घटना भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी टोली घटना स्थल पुगेको थियो । आरोपितले सिआईबीका प्रहरी समक्ष आफूले हत्या गरेको स्वीकारेको प्रहरी श्रोतले बताएको छ ।
व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चैनपुर निकै टाढा र विकट पनि छ ।
उम्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओर्लिएपछि थप ३ घण्टा पैदल हिड्नुपर्छ । सोही कारण अनुसन्धानमा प्रहरीलाई समयमै घटना स्थल पुग्न समस्या भएको थियो ।
गत सोमबार संखुवासभाको मादी नगरपालिका–१,खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की ८४ वर्षीया आमा पार्वता,५६ वर्षीया श्रीमती मनमाया,२८ वर्षीया बुहारी रञ्जना,१० वर्षीय नाति दीपक र पाँच वर्षीय नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।