इलाम : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिको युवा दस्ता युवा संगठन नेपालले मंगलबार फाकफोकथुम गाउँपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा फाकफोकथुम गाउँपालिका जिल्लाको सबैभन्दा बढी बेरुजु भएको गाउँपालिकाको रुपमा देखिएपछि विरोध गर्न युवाहरु गाउँपालिका पुगेका हुन् । फाकफोकथुममा आर्थिक वर्ष २०७६।०७७ मा ५ करोड ६० लाख ६० हजार बेरुजु निस्किएको थियो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै युवा संगठन इलामका संयोजक मदन गजमेर ‘विद्रोही’ ले स्थानीय पालिका भ्रष्टचारमा चुर्लुम्म डुबेको र जनताको काम नगरेको आरोप लगाए । उनले भ्रस्टाचार गर्ने जनप्रतिनिधिहरुलाइ जनताको बिचमा नाङ्गेझार गरेर कारवाही गरेर देखाउँने चेतावनी समेत दिए ।
‘फाकफोकथुममा कुनै पनि प्रशासकीय अधिकृत टिक्न नसकेको किन हो ? जनताले सास्ती भोग्नु परेको किन हो ? विकासका काम नभएको किन हो ? जनताले आवाज उठाउदैनन् भनेर मनपरी गरेको हो ? भनेर प्रश्न गर्दै जनताले अब आवाज उठाउने मात्र होइन, कठालो समातेर सडकमा पछार्नेछ’ उनले भने ।
उनले एमसीसी जस्तो रास्ट्रघाती सम्झतालाई सरकारले अनुमोदन गर्न खोजिरहेको भन्दै एमसीसीविरुद्ध सबै जनता आन्दोलनमा सहभागी हुनुपर्ने बताए । दलाल सत्ता विरुद्ध आफूहरुले वैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्ती गरिरहेको भन्दै उनले अब विद्रोहले नै सबै कुराको फैसला गर्ने कुरा बताए ।
प्रदर्शन कार्यक्रममा भ्रष्टाचारी सरकार मुर्दावाद, एमसिसी खारेज गर, दलालहरु होसियार, एकीकृत जनक्रान्ती जिन्दावादजस्ता नाराहरु लगाएका थिए । प्रदर्शनमा युवाहरुको उपस्थिती रहेको विनोद मगरले जानकारी दिए ।