काठमाडौं, भदौं २३ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गरेका छन् ।
बुधबार दिउँसो बैठक शुरू हुनासाथ आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेपछि पहिलो बैठक स्थगित गरिएको थियो ।
१५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चालन गरिएको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले वेल घेराउ गर्दै बैठकमा लगातार नाराबाजी गरे । त्यसपछि सभामुख सापकोटाले दोस्रो पटक फेरि बैठक स्थगित गर्नुभयो ।
पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरूले भने संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने गतिविधि मूर्दावादलगायतका नारा लगाएका छन् ।
सभामुख अग्नि सापकोटाले भने सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै आक्रोश पोख्नुभएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्न एमाले सांसदहरुलाई भन्नुभएको हो ।
आफूविरुद्ध मूर्दावाद भन्दै एमाले सांसदहरु उत्रिएपछि सभामुख सापकोटाले पनि चर्को शब्दमा बोल्नुभएको थियो । सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनी दिँदै उहाँले प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु, भन्नुभयो ।