इलाम : झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वाेत्कृष्ट ठहर गरेकाे छ ।
गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दै गृहमन्त्रालयले झापा जिल्ला कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको जनाएको हो ।
उनी नेपालका विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै पछिल्लो समयमा झापामा कार्यरत छन् ।
कार्यसम्पादनमा अब्बल जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका बेला सम्मान गरिनेछ । झापासंगै अर्घाखाँची र रुकुमपूर्व सर्वाेत्कृष्ट बनेका छन् । नतिजा अनुसार ललितपुर र रुकुम पश्चिम कार्यसम्पादनमा दोस्रो र गुल्मी तेस्रो स्थानमा रहेका छन् ।
कार्यसम्पादन सम्झौताको ६ विधा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण,सुशासन र सेवा प्रवाह,लागूऔषध नियन्त्रण,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन,विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा यो मूल्यांकन नतिजा निकालिएको हो । नतिजाअनुसार उत्कृष्ट,मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला क्रमशः १८, २१ र २१ वटा छन् ।