‘नीतिहरु बन्छन्, कार्यान्वयन हुँदैनन्’ : सरोकारवाला

आवश्यक समन्वय गरी नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

  नयाँ बुलन्द
378 Shares

इलाम : नेपालमा विभिन्न महत्वकांक्षी नीति बन्ने गरेको भएपनि कार्यान्वयनको पक्ष फितलो रहेको सरोकारवालाहरुले बताएका छन् । आवश्यक समन्वय र श्रोत साधनको अभावमा नीति कार्यान्वयन हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले बताएका हुन् ।

आइतबार प्रकृति रिसोर्सेज सेन्टर काठमाडौंको सहयोगमा सहयात्रा नेपाल इलामले सदरमुकाममा आयोजना गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय तहमा निर्धारित योगदान’ विषयक अन्तरक्रियाका सहभागीहरुले त्यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनले दिनानुदिन वातावरणमा नकरात्मक प्रभाव पारिरहेको सन्दर्भमा समेत राष्ट्रिय जलवायु परिवर्तन नीति कार्यान्वयन हुन नसक्नु दुखद रहेको उनीहरुको भनाई थियो ।

संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव, राष्ट्रिय सवालहरुमा समदुरी कायम गर्न नसक्नु, सार्वजनिक, नीजि साझेदारी कार्यक्रम प्रभावकारी हुन नसक्नु, समुदाय स्तरमा सचेतना अभावलगायतका कारण नीति कार्यान्वयनमा समस्या रहेको सहभागीहरुको निष्कर्ष थियो ।

सहभागीहरुले राष्ट्रिय जलवायु परिवर्तन नीतिलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहले जलवायु परिवर्तन सम्बन्धी छुट्टै योजना बनाउनुपर्ने सुझाव दिएका छन् । वातावरण साझा र वृहत सवाल भएकाले सरकार एक्लैले गर्न सम्भव नरहेको सहभागीहरुको भनाई थियो । उनीहरुले सरोकारवालाहरुबीच आवश्यक समन्वय गरेर समुदायस्तरबाट नै नीति कार्यान्वयनमा योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष एवम् वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नुतनदेव दुलालले आफ्नै नेतृत्वमा रहेको समितिले वातावरणको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे । कार्यपालिकाबाट वातावरण संरक्षणमा नीतिगत निर्णयहरु भएपनि अपेक्षित रुपमा कार्यन्वयन गर्न नकसकेको स्विकार्दै दुलालले त्यसका लागि सबै सरोकारवाला पक्षहरुबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, वडा नम्बर ६ का वडा सदस्य मदन श्रेष्ठ, शेरबहादुर खड्का, दीपा आचार्यलगायतले समुदायस्तरबाट वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गरी जलवायु परिवर्तनलाई न्युनीकरण गर्न सकिने सुझाव दिएका थिए ।

यता इलाम नगरकाका प्रमुख महेश बस्नेतले राष्ट्रिय जलवायु परिवर्तन नीतिलाई योगदान गर्ने गरी आफ्नो नगरपालिकाले नीति निर्माण गरि कार्यान्वयन गरिरहेको दावी गरे । नगरमा वनको स्थिति राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख बस्नेतले वातावरण संरक्षणका लागि नगर क्षेत्रमा निर्माण गरीने संरचनाको भौगोलिक अध्ययन हुनुपर्ने, सडकको नयाँ ट्रयाक खोल्नु परेमा नगरपालिकाबाट स्विकृति लिएर मात्र खोल्नुपर्ने, वन फाँडेर तथा पानीका मुहानलाई असर पर्ने गरी तथा भुक्षय हुने स्थानमा बाटो निर्माण गर्न नपाइनेजस्ता नीतिहरु ल्याएर कार्यन्वयन गरिरहेको बताए ।

कार्यक्रममा नगरपालिकाकी वातावरण शाखामा कार्यरत अधिकृत लुना खतिवडाले इलाम नगरपालिकाले वन र वातावरणका क्षेत्रमा पारित गरेको नीति एवम् हालसम्म गरेको कार्यक्रम र बजेटको बारेमा जानकारी प्रस्तुत गरेकी थिइन् ।

आयोजक सहयात्रा नेपाल इलाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका जनप्रनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारहरुलगायत सरोकारवालाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार