समाजवाद के हो ?

भीम राई

नेपाल कम्युनिष्ट पार्टी एमालेको निक्कै लामो किचलोपछि अन्ततः नेपाली राजनैतिक धरातलमा अर्को एउटा राजनैतिक पार्टीको जन्म भएको छ र जसको नाम “नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी” रहन गएको छ । हुनत नेपाल जस्तो बिकासोन्मुख देशमा राजनैतिक स्थिरता कायम नभइन्जेलसम्म राजनैतिक पार्टीको जन्म हुनु र अन्त हुनुले खासै ठूलो असर पार्दैन । तर, एउटा नयाँ पार्टी जन्मदै गर्दा त्यसका नेता तथा कार्यकर्ताहरुले आफ्नो पार्टीको नाममा “समाजवादी” नै किन पुच्छ्रे शब्द जोडन चाहन्छन्, सामन्य मानिसको मनमा पनि सो प्रश्न खड्किन सक्त्तछ । त्यसैले वास्तवमा समाजवाद भन्ने चिज कस्तो रहेछ भनेर बुझ्नको लागि जो कोहीलाई कौतुहल लाग्ने गर्दछ ।

ल्याटिन भाषाको ‘सोसियर’ भन्ने मूल शब्दबाट अङ्ग्रेजी भाषासम्म पुग्दा सोसियर देखि सोसलिज्म हुन पुगेको हो । तिनै सोसिलिज्म शब्दलाई खस भाषामा अनुबाद गर्दा ‘समाजवाद’ भनेर पुकार्न थालिएको बिज्ञहरु बताउछन् । अब तिनै समाजवादलाई राम्रोसँग बुझ्नको लागी पुँजीबादको बिषयमा पोख्त ज्ञान हुन पक्कै पनि जरुरी देखिन्छ किनभने पुँजीबाद र समाजवाद एक अर्कामा चुम्वकका बिपरित ध्रुवहरु जस्तै हुन् अथवा समाजवाद पुँजिबादको खिलाफमा कल्पना गरिएको राजनैतिक वा आर्थिक सिदान्त हो ।

हुनत पुँजिबादलाई एक्कैचोटी निचोडमा पुगेर प्वाक्कै भनिदिने हो भने त्यस प्रणालीमा व्यक्त्तिगत सम्पतिमा मानिसहरुको आफ्नो अधिकार रहन जान्छ । त्यति मात्रै नभएर धेरैजसो उधोगधन्दाहरु ब्यक्त्तिको स्वमित्वमा हुन्छ । व्यक्त्तिको स्वमित्वमा रहेको उधोगमा श्रमिकहरुले जतिसुकै दुःख गरेर वस्तुको उत्पादन क्षमता बढाए पनि मुनाफा सबै मालिकले नै लिने गर्दछन् । जसको फलस्वरुप धनिहरु दिनदिनै धनि र गरिवहरु दिनानुदिन गरिव हुँदै जान्छन् । सामन्य अर्थमा बुझ्दा धनि र गरिवको खाडल झनझन गहिरो हुँदै जान्छ र समाजमा बर्गिय बिभेद रहिरहन्छ ।

हुनत मिश्रित आर्थिक प्रणाली भएका देशमा समाजवाद आधुनिक मानवको जीवनमा एउटा अभिन्न अङग भएतापनि बिभिन्न दार्शनिकहरुले समय र परिस्थिति अनुसार आ-आफ्नो तरिकाले त्यसलाई परिभाषित गरेका छन् । अझै कसैकसैले त समाजवादको परिभाषा गर्दैगर्दा लोक कल्याणकारी कार्य पनि त्यँही लगेर टक्क जोडि दिएकाछन् । आखिर उनीहरुले लेखेका पुस्तकहरुमा समाजवादको परिभाषा जस्तोसुकै लेखिएकोभए तापनि वास्तविक धरातलमा चाहिँ के कस्तो रहेछ भनेर बुझ्नको लागि मैले विश्वका ८० जति मुलुकहरु र लगभग ६ दशक समयलाई नष्ट गरिसकेको छु । र, अझै त्यसको गहन अध्यनको लागि के कति समय लाग्ने होला भनेर निक्कै सङ्कोचमा परिरहेको छु ।

रोजिरोटीको सिलसिलामा मैले जीवनको निक्कै लामो समय इङल्याण्डमा व्यतित गरेपछि बाँकी जिन्दगी बिताउनको लागि सन् २००४ मा दक्षिणी वेल्सतर्फ बसाइँ सरेको थिएँ । दक्षिणी वेल्समा अवस्थित ‘क्लेनेथ्ली’ भन्ने गाउँमा आफ्नो समय बिताउँदै गर्दा आक्कलझुकल उत्तरी वेल्सतिर पनि जान्थे । उत्तरी वेल्सको मोन्ट्गोमरिसायर जिल्लामा क्लेनेथ्ली जस्तै अर्को एउटा सानो तर रमणिय गाउँ छ र त्यस गाउँलाई ‘न्यु टाउन’ भनेर मानिसहरुले चिन्ने गरेकाछन् । हो, तिनै न्यु टाउनमा १४ मे १७७१ मा रबर्ट ओयनको जन्म भएको थियो ।

न्यु टाउनबाट एकदम उत्तर हानिएर लगभग साँढे चार घण्टाको यात्रा गरेपछि ‘न्यु लानर्क’ भन्ने ठाउँमा पुग्न सकिन्छ । स्कटल्याण्डको दोश्रो लामो नदी क्लायडको किनारमा अवस्थित तिनै न्यु लानर्कमा लोककल्याणकारी रवर्ट ओयनले डेभिड डेलसँग मिलेर जुलाई १७९९ मा एउटा साझेदारी सहकारी कपडा उधोग किनेका थिए । त्यस उधोग सन्चालन गर्ने क्रममा उनले श्रमिकहरुलाई अन्य स्थानभन्दा त्यहाँ विशेष सहुलियत दिन सुरु गरेका थिए । त्यसको साथसाथै व्यक्त्तिगत सम्पतिको हनन, दरिद्रता उन्मुलन र अज्ञानता निर्मूल गर्ने ३ वटा मूलभुत उदेश्यहरु लिएर उनी निरन्तर अगाडि बढदै गए । उनको तिनै महान सोचले गर्दा आजसम्म पनि रवर्ट ओयनलाई अङ्ग्रेजी समाजवादका पिता भनेर मान्ने गरिएको छ ।

न्यु लानर्क, स्कटल्याण्डदेखि उडेर सिधै फ्रान्सको राजधानी पेरिस पुग्ने हो भने हेन्ड्रि डि साइमन्डको जन्मस्थल पुग्न सकिन्छ । साइमन्डको फ्रेन्च नाम निक्कै लामो भएतापनि उनको जन्म सन् १७६० मा पेरिसमा भएको थियो । अझ अर्को फ्रेन्च समाजबादी दार्शनिकको नाम चाहिँ चार्ल्स फुरिय हो । तिनै दुईजना दार्शनिकहरुले समाजको पुनः निर्माण हुन अति नै जरुरी छ र पुँजिबादीहरुको अन्तरआत्मादेखि नै त्यसलाई परिवर्तन गर्नुपर्छ भनेका थिए ।

हुनपनि तत्कालिन समयमा कलकाराखानामा काम गर्ने मजदुरहरुको जीवनस्तर ज्यादै दयनिय थियो । अझ प्रतिकुल मौसमको कारणले ठन्डा महिनामा अत्याधिक मजदुरहरुको अनाहकमा ज्यानसम्म जाने गर्दथ्यो । त्यसैले श्रमिकहरुको जीवनस्तरमा सुधारको नितान्त जरुरी छ भनेर उनीहरुले जोडदार तर्क प्रस्तुत गरेकाभए तापनि कालान्तरमा यी माथि नाम उल्लेख गरेका तीनैजना स्कुलरहरुलाई मार्क्स र एङ्गेल्सले एकमुष्टमा आदर्शबादी अथवा एकदम अव्यबहारिक (युटोपियन) समाजबादीहरुको संज्ञा दिएका थिए ।

तिनै पेरिसदेखि सिधै उडेर पुनः लण्डन फिर्ने हो भने सन् १८४८ मा मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र प्रकाशनमा ल्याइसकेका थिए । त्यसपछि सालफोर्ड, म्यानचेस्टरमा कामगर्ने कपडा कारखानाका युबा मालिक एङ्गेल्स र २८ डिन स्ट्रिट, सोहोमा बस्ने मार्क्सले लण्डनमा पटक पटक भट्टीपशलमा भेटेर बर्ग बिभेदको अन्त्य गर्ने अचुक छडि समाजवाद नै हुन भन्न थालिसकेका थिए । अझ उनिहरुले द्वन्दात्मक भौतिकबादलाई मूल आधार मानेर केही नियमहरु प्रतिपादन गरेका थिए, तिनै नियमहरु जस्तैः- गतिशीलता, सम्बद्वता, विरोधी तत्वमा एकता र आन्तरिक विरोधहरु हुन् । त्यसलाई उनीहरुले अन्य स्कूलरहरुको भन्दा फरक सोच राखेर बैज्ञानिक समाजवादसम्म भनेका थिए ।

आखिरमा समाजवाद के हो ?

यदि मार्क्स र एङ्गेल्सकै बिचारलाई आधार मान्ने हो भने पनि समाजवाद एउटा राजनैतिक तथा आर्थिक सिदान्त हो । जस्ले वस्तुको उत्पादन, बितरण र बिनिमयको स्वमित्व केवल समाजले मात्र ग्रहण गर्ने गर्दछ । त्यसैले समाजमा कुनैपनि ब्यक्त्तिले, ‘निजी सम्पत्ति राख्न पाउनु हुदैनन्,’ उनीहरुले भनेका थिए । उनीहरुको त्यो भनाइ जोन लकको बिचार भन्दा बिलकुल फरक थियो किनभने लकले, ‘ब्यक्त्तिगत सम्पत्ति राख्न पाउनु मानिसको नैसर्गिक अधिकार हो,’ भनेका छन् र त्यसैको आधारमा ४ मार्च १७८९ मा अमेरिकन सम्बिधानको निर्माण भएको थियो ।

अझै मार्क्स र एङगेल्सले के पनि भनेका छन् भने पुँजिबाददेखि साम्यबादमा रुपान्तरण हुँदैगर्दाको बीचको अवस्थालाई नै समाजवाद भनिन्छ । जुन समयमा कृषिजन्य पदार्थहरु, उधोगधन्दाहरु लगायत कच्चा पदार्थहरु साझेदार समाजले स्वमित्व ग्रहण गर्न थालिसकेको हुनेछ । त्यसपछि क्रमशः सर्वहारा र मध्यमवर्गको बिभेद हटदै जान्छ र वर्गबिहिन समाजको निर्माण हुन्छ । त्यो नै विश्वको उत्कृष्ट बैज्ञानिक समाजवाद हो ।

अव विश्वमा त्यस्तो अव्वल समाजवाद कहाँ पाइन्छ ?

एकदम सरल तर अति छोटो उत्तर दिने हो भने त्यस्तो उत्कृष्ट समाजवाद विश्वमा कहिँ कतै देख्न सकिदैन, तैपनि बिभिन्न राजनैतिक दलहरुले नेपालमा पटकपटक कतै नभएको समाजवादको अभ्यास गरेर जनताको ढाड सेकिरहेका छन् । “आखिर एउटै कुरोको परिक्षण जति पटक गरेता पनि फरक नतिजा आउन सक्तैन,” भन्ने अल्वर्ट आइन्सटाइनको महान बाणीलाई चटक्कै भुलेर नेपाली राजनैतिक दलहरुले समाजवादको खोल ओढेर राजनैतिक खेल खेलिरहेका छन् ।

म यहाँनेर पुनः फर्केर मार्क्सकै सन्दर्भ जोडन चाहिरहेको छु । किनभने उनले सबैभन्दा पहिले बेलायत, फ्रान्स र जर्मनीमा समाजवादको अभ्यास गरिने छ भनेका थिए, तर दुर्भाग्यबस त्यस्तो चाहिँ हुन सकेन । अन्ततः मार्क्सको १८८३ लण्डनमा मृत्यु भयो र अहिलेसम्म हाइगेट समाधिस्थलमा मज्जाले आराम गरिरहेका छन् । बरु उनको मृत्यु भएपछि सन् १९१७ मा भ्लादिमिर इल्युच उल्यानोभ उर्फ लेनिनले अन्तिम जार निकोलस दोश्रोलाई सत्ताच्युत गरेपछि सन् १९२२ मा “युनियन अफ सोभियत सोसलिष्ट रिपलिक” भनेर रुसको नामकरण गर्दा सबैभन्दा पहिलो चोटी ‘साम्यबाद’ को सट्टा ‘समाजबादी’ पुच्छ्रे शब्द जोडेका थिए ।

हुनत मार्क्सले जस्तो समाजवादको कल्पना गरेका थिए, ठेक्कै त्यस्तो समाजवादको अभ्यास लेनिनले गर्न चाहेनन् । तर, रुसमा गरिएको त्यो अभ्यास नै आधुनिक समाजवादको पहिलो अभ्यास थियो । त्यसरी पहिलो पटक समाजवादको अभ्यास गर्ने क्रममा लेनिनले मार्क्सभन्दा के फरक सोचेभने वस्तुको उत्पादनको स्वमित्व समाजले भन्दा राष्ट्रले ग्रहण गर्नुपर्छ भने । लेनिनले सुरु गरेको समाजवादलाई लिएर रुस अगाडि बढने क्रममा ब्यक्त्तिको निजि सम्पत्तिको हनन हुन गयो । र, सबै मानिसहरुलाई रोजगारिका लागि समान अवसर दिने प्रयत्न गरियो । त्यसपछि एउटै समुदायमा रहेका मानिसहरुले एक अर्कामा साथ सहयोग दिन थाले र समतामूलक सिदान्त अपनाएर देशमा केन्द्रिकृत ब्यवस्था लागु गरियो ।

तर, नयाँ समाजबादी ब्यवस्थाले रुसमा के समश्य उत्पन्न भयो भने समाजमा उन्नति प्रगतिको लागि कुनै प्रतिश्पर्धा हुन छाड्यो । समाजमा तँछाडमछाडको भावना नभएपछि र जतिसुकै राम्रो काम गरे पनि व्यक्तिगत फाइदा नहुने देखिएपछि जनतामा आशाका किरणहरु धुमलिए र निरासपनका बिकाश हुन थाल्यो । जसको परिणाम स्वरुप समाजबादी व्यवस्थादेखि असन्तुष्ट भएका मानिसहरुले रसियन स्मिर्नफ भोडकासँग आफ्नो अमुल्य जिन्दगीलाई अनाहकमा साटन थाले र अल्प आयुमा नै मानिसहरुको मृत्यु हुन थाल्यो । अन्तमा ९० को दशकमा आइपुग्दा कहिले नब्युँतने गरेर सोभियत समाजवाद बङ्लङ्गै ढल्यो । सोभियत समाजवाद त्यसरी ढल्दा त्यति ठूलो राष्ट्र सोभियत संघ पनि फुटेर १५ टुक्रामा परिणत भयो र त्यसको ज्वारभाटाले पुर्वी युरोपमा फस्टाउँदै गरेको समाजवादको पनि नामेट हुन पुग्यो ।

समाजवादका प्रकारहरु

मैले माथि उल्लेख गरेझै बिभिन्न दार्शनिकहरुले समाजवादलाई फरक फरक तरिकाले परिभाषित गरेको भएतापनि अहिलेसम्म मूलत कल्पनाबादी (युटोपियन) समाजवादनै प्रमुख हुन । किनभने ओयन, साइमान्ड र फुरियले श्रमिकहरुलाई हुने अन्यायको बिषयमा सबैभन्दा पहिले मुख खोलेका थिए । अझै तिनै समयमा सहकारि संस्थाको पनि सन्चालन एबम बिकाश हुन थालेको थियो । जुन सहकारीमा मालिक र श्रमिक सँगसँगै काम गर्ने र त्यहाँदेखि आएको नाफाले श्रमिकहरुको लोक कल्याणको लागि प्रयोग गर्न सकिन्छ उनीहरुले भनेका थिए । तर त्यो बिचार समाजमा लागुगर्न एकदम असम्भव र अव्यवहारिक छ भनेर मार्क्सले त्यसलाई कल्पनाबादी समाजवाद भनेका थिए ।

कल्पनाबादी समाजवाद बाहेक नेपालमा समय समयमा सुनिने अर्को समाजवादको नाम प्रजातान्त्रिक (डेमोक्रेटिक) समाजवाद हो । यो प्रजातान्त्रिक र समाजवाद दुई फरक प्रणालीहरुको संयोजन हो । यसको मूल मन्त्र राज्यलाई मान्न सकिन्छ किनभने राज्य नै सामाजिक कल्याणको मूख्य उपकरण हो । यदि राज्य प्रजातान्त्रिक भयो भने समाजवादको स्थापना गर्न ज्यादै सजिलो हुन्छ, किनभने समाजवाद क्रमिक रुपमा आफै बिकाश हुँदै जाने अशल प्रणाली हो, जस्लाई बिजय गर्नको लागि ठूल्ठूलो क्रान्तिको जरुरी पर्दैन । किनभने, ‘क्रान्तिले तानाशाहको नष्ट हुदैन, केवल आत्मा मात्र परिवर्तन गर्छ,’ जर्ज बर्नाड शले भनेका हुन् । त्यसैले यो शान्तिको साथ ल्याउन सकिन्छ र मानविय क्रमिक बिकास सँगसँगै समाजको परिवर्तन हुन्छ । त्यसपछि सुस्तरी धनि र गरिवको खाडल भरिदै जान्छ । अन्ततः प्रजातान्त्रिक समाजवादको मुलभुत उदेश्य भनेको श्रमिकहरुलाई गरिने अन्यायको नष्ट भएपछि बिभेद हट्ने छ र समाजका सबै मानिसहरु बराबरी हुन्छ भन्ने नै हो ।

यिनै माथि बर्णन गरिएका बाहेकका अन्य प्रकारको समाजवादहरुमा फेबियन समाजवाद, गिल्ड समाजवाद, र क्रमिक विकाशबादी समाजवादहरु मूख्य रहेका छन् । तर, मेरो लेख छोटो होस भन्ने उदेश्यले सवै प्रकारको समाजवादको बिस्तृत विवरण यहाँ प्रस्तुत गरिरहन चाहन्न ।

वास्तवमा भन्ने हो भने विश्वमा हाल भइरहेको राजनैतिक अथवा आर्थिक प्रणालीहरु मध्य समाजवाद सबैभन्दा राम्रो आर्थिक प्रणाली चाहिँ निश्चय पनि हुँदै होइन । तैपनि विश्वमा धेरै जसो राष्ट्रहरुले मिश्रित प्रणाली अएनाएका देखिन्छ । यदि तपाई ५-५ बर्षको अन्तरालमा दोहरयाएर वा तेहरयाएर चीनको सेनजन सहर पुग्नु भयो भने त्यो सहरलाई देखेर ज्यादै अचम्मित हुनुहुन्छ । जहाँ हङकङको पुँजिबादी अर्थतन्त्रसँग तुलना गरेर, ‘एउटा बिरालो कालो होस वा सेतो होस जबसम्म मुसा मारयो भने ठीक्छ,’ भनेर देङ सायो पिङले सेनजनलाई सबैभन्दा पहिलो पुँजिबादी सहरको निर्माण गरेका छन् ।

तिनै सहर सेनजनको नक्कल गरेर चीनले फडको मार्दा अहिले विश्व अर्थतन्त्रमा अमेरिकाको पछिपछि लामबध्द भइरहेको छ । तर, त्यसको अलवा तपाई भुलेर पनि समाजबादी सहरहरु प्योङयाङ र हवाना पुग्नु भयो भने नेपालीहरु जस्तै पेटभरी टन्न खान नपाएका मानिसहरुको अवस्था देखेर सबैभन्दा पहिले समाजबादी अर्थतन्त्रलाई बेस्सरी गाली गर्न थाल्नु हुन्छ ।

सन् १९४८ देखि उत्तर कोरियाले समाजबादी व्यवस्थाको अवलम्बन गरेर सन् २०२१ सम्म आइपुग्दा त्यहाँका जनताले नयाँ हवाइजहाजमा त कहिलै यात्रा गर्न पाएनन् । तर अहिलेसम्म एउटा बोईङ अथवा एयरबस बिमानको मुहारसम्म देख्न पाएका छैनन् । अनि मोन्टिगो बे, जमैकादेखि पानीजहाज चढेर हवाना पुग्दा एउटा झ्याप्रे चिया दोकान पनि राज्यको सम्पति हो भनेको सुन्दा तपाईको मन त यस्सै भरङ्ग हुन्छ । अझै सबैभन्दा अचम्म त कसरी पर्नु हुन्छ भने सन् १९५९ देखि करिव ६० बर्ष यतासम्म बिचरा क्युबाले एउटा नयाँ कारको मुहार पनि देख्न पाएनन् भनेको सुन्दा तपाईको मन झन कति छियाँछियाँ हुन्छ होला ? त्यति मात्रले तपाईको मन के रुन्थ्यो होला र ? झन समाजबादी शासन व्यवस्था अभ्यास गरिरहेको स्थान सियाम रिप, कम्बोडिया पुगेर भोलीको लागि ग्राहकको ग्यारेन्टी गर्न आज बेलुकी सित्तैमा होटल होटलमा टुकटुकले पुरयाइ दिँदा तपाईको दिल कति टुटछ होला ?

यो माथि त कार्ल मार्क्सले सोचेको जस्तै बैज्ञानिक समाजवाद अभ्यास गरिरहेका राष्ट्रका केहि उदाहरणहरु मात्रै हुन । अडाम स्मिथले सोचेको जस्तो पुँजिबादको चाहिँ अवश्य हुँदै होइन । अझै समाजवाद अध्यानको क्रममा मैले मनमनै एरिक होनेकरलाई गाली गर्दैगर्दै ३२ बर्ष अगाडि पुर्वी जर्मनी पुगेको याद होस वा जोसेफ ब्रज टिटोलाई गाली गर्दै २० बर्ष अगाडि पुर्व युगोस्लाभाकियको बिभिन्न समाजबादी संघमा पुग्दाको सम्झना होस । त्यहाँ पुगेर देखेको मानिसहरुको भयभित अनुहारहरु सम्झदा अहिले पनि केवल आधी पेट मात्र खाउँ कि भन्ने मलाई आभास भइरहन्छ । तिनै पूर्वी युरोपको बिभिन्न भू-भागमा लगभग दुई दशक जति समय नष्टगर्दा रुसदेखि रुमानियसम्म पुगेर देखेको समाजबादी बिचारलाई सपनीमा देख्दा पनि अहिले झसङ्गै झस्किन्छु । अझै त्यहाँपुग्दा सबैभन्दा बढि गाली त मैले निकोला चाउचुस्के र एनभर होच्छालाई पो गरेको थिएँ । तिनै समाजबादी शासक एनभर होच्छाको चरम अन्यायले अहिलेसम्म अल्बानिय युरोपको नम्बर एक गरिव राष्ट्र बनिरहेको अवस्था छ ।

तर, त्यसको ठीक बिपरित स्ट्राभाङगर, ओल्डन, बर्गन, स्टकहोम, हेलसिन्की र कोपनहेगन पुगेर त्यहाँको आर्थिक प्रणालीलाई मध्यनजर लगाउँने हो भने त्यहाँ सफल पुँजिबादी अर्थतन्त्र मज्जाले जमेर बसेका छन् । जहाँका मानिसहरु विश्वका अन्य मानिसहरुको तुलनामा खुशि त छन् तर ज्यादै खुशि चाहिँ छैनन् । किनभने त्यहाँ आवास गृहदेखि लिएर दैनिक उपभोगका वस्तुहरु पश्चिमेली राष्ट्रहरु भन्दा दोब्बर महङ्गा छन् । तै पनि जनताहरुले बढि कर तिरेर उनीहरुको पुँजिबादी अर्थतन्त्रमा देश बेजोडले अगाडि बढिरहेको छ ।

मैले यहाँ त्यसो भन्दै गर्दा एउटा सत्य कुरोलाई चाहिँ पटक्कै लुकाउन मिल्दैन । जुन देशको अर्थतन्त्र राम्रो हुन्छ त्यहाँ चाहे बमोजिमको कर लगाउन सकिन्छ । राष्ट्रको लागि चाहिने आवश्यकिय कर उठेपछि समाजमा लोक कल्याणकारी कामहरु प्रसस्तै गर्न सकिन्छ । जसले गर्दा राष्ट्रले आफ्नो जनताको लागि आवास, शिक्षा र स्वस्थ जस्ता आवश्यकिय चिजहरु सित्तैमा उपलब्ध गर्न सक्त्तछ । त्यो फाइदा स्कानडेनिभियन राष्ट्रहरुले अहिलेसम्म मज्जाले लिइरहेका छन् । किनभने पुँजिबादको क्रमिक बिकाश नै समाजमा कल्याणकारी (वेलफेयर) सुबिधा दिनु हो । तर, त्यस्को ठीक बिपरित समाजवादमा लोक कल्याणकारी काम त्यति धेरै गर्न सकिन्न, किनभने त्यस प्रणालीमा कुनै प्रतिश्पर्धा हुदैन । जब कुनै पनि काममा प्रतिश्पर्धा हुदैन तब उन्नति एवम प्रगति सिमित मात्रामा हुन्छ । राष्ट्रमा आर्थिक उन्नति राम्ररी नभएपछि सामजिक कल्याणका केहि काम गर्न सकिदैन । त्यो नै ध्रृव सत्य हो ।

उमेरले ७९ बर्ष पुगेका तर प्रजातान्त्रिक समाजवादका कुरो गरेर कहिले नथाक्ने भरमोन्ट प्रान्तको सिनेटर तथा अमेरिकन राष्ट्रपतिको पटक पटक असफल उमेदवार बर्नी सान्डरले जतिसुकै बखान गरेतापनि अमेरिकन जनताले अहिलेसम्म उनलाई विश्वास गरिहालेका छैनन् । त्यसैले मेरो बिचारमा ‘समाजवाद एउटा त्यस्तो शब्द हो, जस्लाई सम्भवत संसारमा सबैभन्दा बढि दुरुपयोग गर्ने गरिन्छ ।’ तर, सिनेटर बर्नी सान्डरको मात्रै के कुरो गर्ने र ? आफ्नो जिन्दगीको पुरै समय समाजवादको पक्षपोषण गरेका संसद जेरेमी कोरविनलाई बेलायती जनताले विश्वास नगरे पश्चात् अन्ततः लेबर पार्टीको नेतादेखि राजिनामासम्म दिनुपरेको थियो ।

तिनै दुईजना राजनैतिक कर्मिहरुको प्रसङ्ग जोडेर अमेरिका र बेलायत जस्तो देशहरुले पुँजिबादी व्यवस्थालाई सर्बोपरी ठानेको देख्दा समाजवाद विश्वमा लामो समयसम्म गरिएको एउटा झुटको खेती रहेछ भन्ने जस्तो लाग्दछ । अझै जुन दिन सोभियत समाजवाद ढलेर नयाँ इतिहास बन्यो त्यसलाई एक मिनेट सोचेर मनन गर्ने हो भने समाजवाद अहिलेसम्म मिथ्य रहेछ भन्ने चरितार्थ भइसकेको छ । रुसको त्यस्तो बेहालत देखेपछि चीनले पनि भित्रभित्रै अमेरिकन सिलिकन उपत्यकाको नक्कल गर्दै पुँजिबादलाई अवलम्बन गरेर अत्याधिक फडको मार्न सफल भइसकेको छ ।

अहिले विश्वमा लागु गरिएको बिभिन्न राजनैतिक प्रणालीहरुलाई तुलना गरेर समग्रमा भन्ने हो भने जुनजुन देशमा मानिसहरु शिक्षित र सभ्य छन् उनीहरुले समाजवाद प्रति बिश्वास गरेका देखिदैनन् । किनभने उनीहरुले आफ्नो मेहनत र परिश्रमले कमाएका ब्यक्त्तिगत सम्पतिलाई आफैले उपभोग गर्न चाहन्छन् । त्यसैको प्रतिफल अहिले चीनमा हरेक दिन एकजना नयाँ मिलियनरको उदय भइरहेका छन् । तर, जुनजुन देशमा दुखि, गरिव, असहाय, अशिक्षित र बेरोजगार जनताहरु बढि छन् त्यहाँको राजनेता भनाउँदाहरुले समाजवाद उन्मुख राज्यको कोरा कल्पना गरेर सोझासाझा जनतालाई झुक्याउँदै आफु शासक बन्ने काइते बिचार मात्र गरिरहेका देखिन्छन् ।

अन्ततः बैज्ञानिक समाजवादका पिता कार्ल मार्क्सले समाजवाद हुँदै साम्यबादमा पुगेर इतिहास सकिन्छ भनेका थिए । तर, उनको त्यस बिचारलाई चुनौती दिदै फ्रान्सिस फुकुयामाले पुँजिबादमा पुगेर मात्र मानव जीवनको इतिहास सकिन्छ भनेको चाल पाउँदा मलाई ठेक्कै चिलाएको ठाउँमा कन्याएको जस्तै भइरहेको छ ।

अक्सफोर्ड, बेलायत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार