प्रदेश १ का १० सांसदले एमाले छाडे, मुख्यमन्त्री आचार्य अल्पमतमा

  नयाँ बुलन्द
84 Shares

काठमाडौं : प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एमाले छाडेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् ।

प्रदेश सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले बुधबार निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर आफूलाई नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यससँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य यही भदौ १० गते प्रदेश एकको मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री आचार्यसँगै सिंगो एमाले पार्टी पंक्तीले उनीहरुलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न एक सातादेखि प्रयास गरेका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत कायम राख्नकै लागि मुख्यमन्त्री परिवर्तन समेत गरियो तर बहुमत जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले पार्टीभित्र र बाहिर समेत आलोचना खेप्नु परेको छ ।

त्यसो त, मंगलबार प्रदेश एक सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा आचार्यले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका थिए । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै । मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो’ उनले कार्यक्रममा भनेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद रहेकामा १० जना नेकपा समाजवादीमा गएपछि अब ४१ सांसद मात्रै भएका छन् । प्रदेश एकमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार