कोभिड संक्रमित बालबालिकाको सेवा प्रवाहलाई बालमैत्री बनाइदैं

इलाम : पूर्वी नेपालको ४ जिल्लामा कोभिड १९ बाट संक्रमित बालबालिकाहरुका लागि विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयन सुनिश्चित गरिने भएको छ ।

बाल हेल्पलाइन १०९८ इलाम अन्तरगत ‘कोभिड १९ को समयमा विपद सहयोग परियोजना’ मार्फत स्थानीय सरकारका विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्न पहल गरिने भएको हो ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्न परियोजना सुरु भएको छ । इलाम, पाँचथर, ताप्लेजुङका सबै र तेह्रथुमका ३ गरी ३० वटा स्थानीय तहमा एक वर्षे परयोजना सुरु भएको हो ।

तेस्रो भेरियन्टको कोभिडको सम्भावना रहेको र सो भेरियन्ट बालबालिका लक्षित हुने पूर्वानुमान रहेकाले स्थानीय स्तरमा पूर्वतयारीको काम परियोजना अन्तरगत हुनेछ । स्थानीय सरकारका विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्न जोखिममा परेका बालबालिकाको आपतकालिन, आकस्मिक उद्धार, राहत, मनोविमर्श तथा संरक्षण सहयोग र पारिवारिक पुनर्मिलन, पुर्नस्थापना तथा समन्वय र सहजीकरण हुनेछ ।

सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बालबालिकाको लागि आइसोलेसन सेन्टरमा २० प्रतिशत बेड छुट्याउने व्यवस्था हुनेछ । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने परियोजना संयोजक भक्ताबहादुर थामीले जानकारी दिए । त्यसलाई कार्यान्वयन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २१ जेठमा नै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कम्तीमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।

त्यसैगरी बालबालिकाका लागि आइसोलेसन सेन्टरमा स्वास्थ्य, खेलकुद तथा शैक्षिक सामाग्री सहयोग, जोखिममा परेका बालबालिकाको उद्दार, संरक्षण, स्वास्थ्य उपचार, समन्वय र सहजीकरण, रेडियोमार्फत सचेतनाका लागि कार्यक्रम प्रशारण गरिने परियोजना संयोजक थामीले जानकारी दिए  । त्यस्तै २४ सै घण्टा टेलिफोन सेवा, छलफल तथा अन्तक्रिया कार्यक्रम, मनोसामाजिक सहयोग तथा परामर्श, कानूनी सहयोग तथा परामर्श र घटना व्यवस्थापना तथा अभिलेखिकरणको कार्य हुनेछ ।

कोभिडको समयमा विशेष गरी हिंसा पीडित र जोखिममा परेका बालबालिकालाई लक्षित गरि गत १ जसलाई २०२१ बाट सुरु भएको परियोजनाको अवधि ३० जुन २०२२ सम्म रहनेछ ।

किन्नरमिसनरेकको सहयोग, राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको व्यवस्थापनमा परियोजना सुरु भएको हो । किन्नरमिसनरेकले बजेटको व्यवस्थापन, राष्ट्रिय बाल अधिकार परिषदले बजेट तथा समन्वय र सहजीकरण एवम् मानव अधिकार मञ्चले जनशक्ति र श्रोतसाधनको व्यवस्थापन गर्नेछ ।

परियोजनाको कूल बजेट ७० लाख १४ हजार रुपैयँ रहेको परियोजनाको जानकारी गराउन आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइयो । परियोजना कार्यान्वयनका लागि ४ जना पूरा अवधि र ३ जना आंशिक कउमाचारीको व्यवस्थापन गरिएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष वीरबहादुर खड्का, सचिव एवम् कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईसहित संचारकर्मीहरुले परियोजनासँग सम्बन्धित धारणा राखेका थिए । कार्यक्रमको संचालन मञ्चका मनकुमार बराइलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार