नारायण भट्टराईको नेपाली साहित्यमा रुचिसंगै अमेरिका बस्दै गरेको अनुभव…..

  युद्धबहादुर बोहोरा
917 Shares

 

इलाम : अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण भट्टराई अमेरिका बसोबास गर्दै आएको एक दशक भयो । हाल उनी क्यालिफोर्निया राज्य स्थित सानफ्रान्सिस्को बे एरियामा बसोबास गर्दै आएका छन् । इलामको फाकफोकथुम-२,कोल्बोटेमा २०३५ साल पौष १४ गते स्वर्गीय बुबा भानुभक्त र यसोदाको कोखबाट माइलो सुपुत्रको रूपमा जन्मिएका भट्टराई अमेरिका पुगेको शुरुका वर्षमा विभिन्न निजी संस्थाहरुमा काम गरे । त्यसपछि २०७४ देखि सानफ्रान्सिस्को सिटी कलेजमा कार्यरत छन् ।

अमेरिका पुगेपछि काम पाउन र दाम कमाउन भट्टराईले धेरै संघर्ष गर्नु पर्यो । अंग्रेजी भाषाको उनीसंग ज्ञान भएको हुँदा आत्मा विश्वास र काम प्रतिको इच्छाशक्तिका कारण पछि फर्केर हेर्नु परेन । अगाडि बढ्न भट्टराईलाई केहि सहज भयो ।
उनी भन्छन् ,”अमेरिकामा काम प्रति अत्यन्तै सम्मान छ,कसैले सानो वा ठुलो काम भनेर भेदभाव गर्दैन ।”
जति उच्च पदमा काम गर्ने मानिसहरु छन् जो कोहि पनि प्रायः तल्लो स्तरबाट नै कामको थालनी गरेका भेटिन्छ्न् । एउटा कम्पनीको सिइओ होस् अर्थात सिटीको मेयर वा राष्ट्रपति नै किन नहोस् जीवनमा कुनै दिन उस्ले रेस्टुरेन्टको वेटर वा कफी सपमा कुनै काम गरेकै हुन्छ ।
उनका अनुसार कामको सम्मान गर्ने यहाँको संस्कारकै कारण काम गर्दा कुनै हिनताबोध नभएको बताउँछन् । भट्टराईले पनि रेस्टुरेन्टबाट नै काम शुरु गरेका थिए । किन अमेरिका निक्कै छिटो विकसित भयो होला ? भन्ने सवालमा सायद यहाँ कामको सम्मान भएर नै चाँडाे विकासले फड्को मारेको हुनसक्नेमा उनी विश्वस्त छन् । सिपसिक्ने जाँगर भएको मानिसले काम सजिलै पाउने र आर्थिक उन्नति गर्न सक्ने उनको अनुभव छ ।
अमेरिकामा थोरै या धेरै पैसा कमाइ गर्नेको जिवनशैलीमा खासै फरक छैन । हरेक विलासिताका सामान सबैले समान रूपमा सहजै उपभोग गर्न पाउने वातावरण भएको उनी बताउँछन् ।

अमेरिकामा स्थापित हुन सबैलाई त्यति सहज नभएको र
भाषाको ज्ञान,काम प्रतिको लगनशिलता अनि काम सिक्न धैर्यता हुनुपर्ने उनको बुझाइ छ । हचुवाको भरमा विदेश भासिने प्रवृत्तिले पक्कै दु:ख निम्त्याउन सक्छ । नेपालमा पनि कामको सम्मान गर्ने संस्कारको विकास भए रोजगारीकै निमित्त विदेशिनु नपर्ने उनको विचार छ । थोरै पढ्ने र दक्षता विना ठुलो जागिरको अपेक्षा गर्ने नेपालीको मुख्य समस्या हो,अनि सानेतिनो नोकरीमा प्रवेश गर्न नचाहनाले हामी पछि परिरहेको उनी बताउँछन् । नेपालमा व्यावसायिक बन्ने तर्फ चासो कम छ तर अमेरिकामा भने माथिल्लो तहको शिक्षा हाँसिल गरेर समय खेर फाल्नुको सट्टा हाइ स्कुल वा कलेज सकेपछि नोकरी गर्न र व्यावसायमा प्रवेश गर्न थाल्दछ्न् । साथमा राज्यले विना भेदभाव योग्यता अनुसारको काम गर्न सबैलाई मौका दिएको पाइन्छ ।

 

तर,नेपालमा अलिक फरक परिवेश भएको उनको गुनासो छ ।
“शिक्षा र रोजगारीको क्षेत्रमा राजनीतिकरण नभईदिएको भए, सायद म पनि विदेशिने थिइन होला,उनले भने । सबैले आफुले चाहेको क्षेत्रमा राजनैतिक भेदभाव रहित वातावरणमा रोजगारी र व्यावसायिक उन्नतिको अवसर पाउने भए म जस्ता धेरै युवा विदेश जानु नपर्ने चिन्ता व्यक्त गर्दछन् । उनको विदेश बस्नु रहर र बाध्यता दुवै हो । तर आफ्नो मुलुक छोडेर विदेशिनु आफैमा प्रिय भने कदापि ठान्दैनन् ।

भट्टराईको शैक्षिक र साहित्यिक यात्रा

शिक्षण पेशामा आवद्ध भएका उनका बुबाको जागीर जता हुन्थ्यो त्यत्तै पढ्दै जाँदा साना कक्षाको उनको पढाई धेरै विद्यालयमा बिताउनु पर्‍यो । उनले २०५१ सालमा आदर्श माद्यामिक विद्यालय इलामबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट स्नातकतह पार गरे ।
त्यसपछि उच्च शिक्षा अध्ययनको लागि उनी काठमाडौं छिरे । त्रिभुवन विश्वविद्यालयबाट २०६० सालमा अङ्ग्रेजी साहित्यमा एमए सम्मको अध्ययन पूरा गरि काठमाडौँका विभिन्न कलेजमा अध्यापन शुरु गरे ।
पछिल्लो समय २०६४ देखि २०६९ सम्म विरेन्द्र सैनिक महाविद्यालयमा र भक्तपुरको कलेजमा समेत शिक्षण पेशामा आवद्ध रहे । त्यहाँ रहँदा वार्षिक मुखपत्र “सल्लाघारी” नामक पत्रीकाको प्रमुख सम्पादक भएर काम गरेका थिए ।

यसअघि इलाममा स्नातकतह अध्ययन गर्दै गर्दा २०५७ सालमा उनले साहित्यिक यात्रा शुरु गरेका थिए । इलाम क्याम्पसमा पहिलो पटक “क्रिएटिभ भ्वाइस “नामको अंग्रेजी साहित्यिक भित्ते पत्रिकाको सम्पादन मण्डल थिरबहादुर बुढाथोकी,राजेन्द्र रिजाल लगायतका सहयात्रीसंग काम गरे ।

उनका पिता लामो समयसम्म शिक्षण पेशा पश्चात् अवकाश जीवन विताउँदा साहित्य सृजनामा सक्रिय थिए । उनकै प्रेरणाबाट सानो उमेर देखिनै उनले पनि साहित्य र समाज सेवामा विशेष रुची राख्ने गरेको बताउँछन् ।

प्रत्येक मानिसका लागि जन्म दिने बुबाआमा सबै भन्दा महत्वपूर्ण हुन्छन् । त्यसैले बुबाआमाको नाममा स्थापित संस्था मार्फत नेपाली साहित्य,संगीत र समाज सेवामा आफू पनि समर्पित रहने उनले बताए । अमेरिकामा बसेर अहिले नेपालका चार्डपर्व,रीतिरिवाज,साहित्य,कला र संस्कृती प्रति उत्तिकै मोह भएको बताउँछन् । नेपाली गीतसंगीत सुन्ने,अंग्रेजी न्युज भन्दा नेपाली न्युज बढी हेर्ने गर्दछन् । आफ्नै देशको यादले नेपालमै भए जस्तो उनलाई महसुस हुन्छ । विदेशमा बसेर मुटुमा आफ्नो देशलाई राख्ने,अनि काममा दौडने उनको अहिले दिनचर्या चलेको छ । आफू जन्मेको देशमा देखिएका बेथितिले कहिलेकाही मन पोल्छ तर गर्न केहि सकिन्दैन तैपनि साहित्य सिर्जनाले पोलेको मनलाई शितलता दिन साहित्य सृजना र गीत रचना गरेको उनको भनाइ छ ।

उनको रचनामा भर्खरै “यसपालिको तीज” नामको गीत
इलामकै संगीतकार कमल भट्टराईको संगीत र मेलिना राईको स्वरमा तीज गीत यशोभानु साहित्य संगीत प्रतिष्ठानको अफिसियल युट्युब च्यानल एचएण्डएच ईन्टरटेट्मेन्ट मार्फत सार्बजानिक गरिएको छ । तीज पर्बमा देखिने बिकृति र विसंगती प्रति सम्पूर्ण महिला वर्गमा सचेतना जगाउने उदेश्यले रचना गरिएको उनले बताए ।
सानो उमेर देखि नै गीत संगीत,कथा,कविता रचनामा विशेष रुचि राख्ने भट्टराईका हालसम्म दुईवटा गीत रेकर्ड भएका छन् । पहिलो गीत चर्चित गायिका अस्मिता अधिकारीको स्वर,डेनी निरौलाको संगीतमा बनेको सदाबहार गीत ” बितेका दिन छुटेको माया”को रचना गरेका थिए भने दोश्रो तीज गीत मेलिना राईको स्वरमा रहेको छ । दुवै गीतका म्युजिक भिडियो सार्बजानिक भएका छन् । योसंगै उनका समसामयिक लेख रचना तथा कविता नेपालबाट प्रकाशित दैनिक पत्रिका अन्नपूर्ण पोस्ट,अनलाइन पत्रिका,साहित्य पोस्ट,सेतोपाटी,नेपाल नाम्चा लगायत अनलाइन पत्रिकामा प्रकाशन भइरहेका छन् ।

अंग्रेजी र नेपाली दुवै भाषामा कविता लेखनमा सक्रिय भट्टराई
क्यानाडाको पार्कल्याण्ड पोयेट्स सोसाइटीको सदस्य छन् र सक्रिय रुपमा कविता लेखन र वाचनमा समेत संलग्न छन् ।
पार्कल्यान्ड पोयेट्स सोसाइटीको वार्षिक पत्रीका ” आउटलेइङ्ग वोईस ” मा गतवर्ष अमेरिकामा प्रहरीको जातीय हिंसाको शिकार भएर मारिएका जोर्ज फ्लोइडको सम्झनामा उनले लेखेको कविता “द फल अफ ह्युम्यानिटि” प्रकाशित भएको थियो ।
उनले स्वर्गीय बुबा भानुभक्त र आमा यसोदाको नाममा ” यशोभानु साहित्य संगीत प्रतिष्ठानको स्थापना गरिएको जानकारी गराएका छन् । उक्त संस्थाले “भानुभक्त भट्टराई स्मृती पुरस्कार” को स्थापना समेत गरेको छ । वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कार यसवर्ष नेपाली साहित्यकारको विश्व संजालले आयोजना गरेको “१५६ औं मोती जयन्ती अन्तर्राष्ट्रिय गजल प्रतियोगिता २०७८” मा प्रथम र द्वितीय हुने प्रतियोगीलाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।


सम्पूर्ण इलामे साहित्यकारलाई सिर्जनाको एउटै मालामा जोड्ने प्रयत्न स्वरुप “कविताको क्यानभासमा इलाम” कविता संग्रह प्रकाशन गर्ने निर्णय गरिएको र कविता संकलनको काम शुरु गरिएको उनको भनाइ छ । संग्रहलाई स्व.भट्टराईको वार्षिक पुण्य तिथिमा एक कार्यक्रम गरि सार्बजानिक गरिने भएको छ । हरेक क्षेत्रमा योगदान गर्ने लक्ष्य राखेको यस संस्थाले कोभिड संकटमा इलाम उद्योग वाणिज्य महासंघको अगुवाईमा “इलामका लागि इलामे” अभियानमा आर्थिक सहयोग पनि प्रदान गरेको जनाइएको छ ।

अमेरिकामा ज्यान नेपालमा मनसंगै इलामे भट्टराईको जीवन चलिरहेको छ । जो जहाँ पुगे पनि आखिर आफ्नो प्यारो जन्मभूमि प्रति माया गर्दै विपत्तिमा नेपालीलाई सहयोग गर्न पछि नपरौं भन्ने उनले उदेश्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार