काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । धितोपत्र बजारमा यो साता नेप्से ऐतिहासिक बिन्दुमा पुगेर फर्किएको हो । लगानीकर्ताको आत्मविश्वासको मात्रामा वृद्धि भएसँगै बजार ऐतिहासिक बिन्दुमा पुगेको छ । यो साता नेप्से ३२ सय नाघेको थियो ।
धितोपत्र बजारमा यस साता ९७ अर्ब बढीको कारोबार भएको छ । यो साता २२९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट यो साता एक करोड २३ लाख ७२ हजार ७० कित्ता सेयर कारोबार भएको छ । जसबाट कुल कारोबार रकम ९७ अर्ब ५९ करोड ६१ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
यो कारोबार रकम गत साताको भन्दा बढी हो । गत साता यो रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार रहेको थियो । गत साताभन्दा यो साता कारोबार रकम १८ अर्ब ३३ करोड ५२ लाख ९६ हजार बढी भएको हो । यो साता सेन्सेटिभ इन्डेक्स भने १ दशमलब शून्य १ अंकले घटेर ५९० दशमलब १५ बिन्दुमा झरेको छ ।
गत साता सेन्सेटिभ इन्डेक्स ५९१ दशमलब १६ बिन्दुमा थियो । यो साता बजार स्थिर देखिएको छ । मौद्रिक नीतिपछि लगानीकर्ताहरू भने अन्योलमा रहेको देखिन्छ ।
यसैबीच, आइतबार र सोमबार दुई दिन सेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको पाँच दिन खुल्ने सेयर बजार दुई दिन सार्वजनिक बिदा परेको हुनाले बन्द हुने भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्राका अवसरमा सार्वजनिक बिदा परेको हुनाले दुई दिन सेयर बजार बन्द हुने भएको हो ।