इलामका एक युवा ६ महिनादेखी साङ्लोमा

  बिप्लव भट्टराई
1.8k Shares

इलाम : कमाइ गरेर परिवार धान्ने उमेरमा इलामको माई नगरपालिकाका एक युवा साङ्लोमा बाँधिएर दिन बिताउन बाध्य छन् । माई नगरपालिका–७ कपरसुका घर भएका ३५ वर्षीय राजेन्द्र गिरी मानसिक अवस्था ठीक नभएकै कारण ६ महिनादेखि साङ्लोमा बाँधिएका हुन् ।

९ वर्षदेखि मानसिक समस्या झेल्दै आएका गिरीको परिवारले उनको उपचारमा १२ लाख रुपैयाँभन्दा धेरै खर्च गरिसकेको छ । तर पनि समस्या सुल्झिएको छैन ।

सुरुमा धेरै बोल्ने, घरका सामग्री तोडफोड गर्ने जस्ता लक्षण देखिएको गिरी अहिले भने कम बोल्छन् । अरू बेला चुपचाप बसिरहन्छन् । तर उनलाई बिरामले चापेपछि भने भाग्ने, तोडफोड गर्ने, जो पायो त्यहीलाई आक्रमण गर्ने जस्ता गतिविधि बढेपछि साङ्लोले हातमा बाँधेर राख्नुको विकल्प नभएको कान्छा भाइ रमेशले बताए । ‘उपचारका लागि ६ वर्षसम्म त उनलाई झापा बिर्तामोडको सुधार केन्द्रमा राखियो,’ उनले भने, ‘त्यसपछि पनि उपाय नचलेपछि डेढ वर्ष राजधानीको पाटन हस्पिटलमा उपचार गर्दा पनि समस्या घटेन ।’

नियमित औषधि नखाइदिने समस्याले पनि परिवार आजित भएका छन् । ४/५ महिनादेखि औषधि नखुवाएको भाइ रमेशले बताए । ६ भाइ छोरामध्ये राजेन्द्र अन्तरे हुन् । उनका ७ वर्षका छोरा पनि छन् । वृद्धा आमालाई पनि आक्रमण गर्ने भएकाले परिवारमा त्रास बढेको छ । राजेन्द्रको अवस्था देखेपछि श्रीमतीले पनि छाडिन् । अहिले उनका छोरालाई रमेशले नै पालनपोषण गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार गएका राजेन्द्र अढाई महिनामा फिरे ।

त्यहाँबाट फिरेको केही महिनामा नै उनलाई समस्या देखिन थाल्यो । तत्काल उपचार गर्दा निको पनि भयो । त्यसपछि उनको विवाह भएको रमेशले बताए । छोरा जन्मिएपछि फेरि उनको समस्या जटिल बनेको थियो । सम्पत्तिको नाममा राजेन्द्रको अंशमा ३ रोपनी जति जग्गा छ । ‘सानो बच्चा भएकाले सबै जग्गा बिक्री गर्न पनि मिलेन,’ रमेशले भने, ‘यसअघि नै धेरै खर्च भएकाले अब उपचार खर्च जुटाउन पनि मुस्किल छ ।’

माइती घरकै छिमेकमा यस्तो घटना देखेपछि उपचारको पहल गरिरहेको विराटनगरकी रेडक्रसकर्मी तीर्थ कुमालले बताइन् । ‘राम्रो उपचार हुन सके उनी स्वस्थ हुन्छन् भन्ने विश्वास छ,’ उनले भनिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार