विभागले भन्यो-‘इजरायल जाने नाममा कसैलाई रकम र राहदानी नबुझाउनू’

काठमाडौं : आकर्षक मानिएको इजरायलको रोजगारीका जाने कामदार छनोटअघि मोलमोलाई र सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ । विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि  अनावश्यक चलखेल बढेको सार्वजनिक भएको हो । ५ वर्षका लागि जाने कामदारले मासिक पौने दुई लाख रुपैयाँ हाराहारीमा कमाउने भएपछि चलखेल बढेको हो ।

विभागले सूचना जारी गर्दै इजारायलका स्याहार केन्द्रहरुमा पठाइदिने भनी कामदार छनोट प्रक्रियामा निजी क्षेत्र म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनैपनि प्रकारको भूमिका र संलग्नाता नरहने बताएको छ ।

सहयोगी कामदार छनोटमा केबल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार गरिने भन्दै विभागले भनेको छ, ‘अँग्रेजी भाषको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तर्वार्तामा बोलाइने छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोष्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने छ । कामदार छनोट प्रक्रिया पूर्णरुपले निष्पक्ष हुने छ ।

यसअघि इजरायल जाने एक हजारमध्ये २ सय ५० जनाको कोटा आफ्नो संस्थाले विभागसँग सम्झौता गरी लिएको भन्दै एक व्यक्तिले रकम र राहदानी संकलन गर्न आफ्ना सहयोगीलाई भनेको अडियो मध्यान्हले सार्वजनिक गरेको थियो ।

उक्त अडियोमा आफ्नो ध्यानाकर्याण भएको जनाउँदै विभागले भनेको छ, ‘इजरायलमा केयर गिभरमा सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनोटका लागि कुनै निजी संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएकाले यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनैपनि कागजात वा रकम नबुझाउन अनुरोध गरिन्छ ।’

उचाई कम्तीमा १.५ मिटर र कम्तीमा ४५ किलो तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा १५ महिनाको अध्ययन वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका युवा युवती आवेदनका लागि योग्य मानिएका छन् । विभागले बिहीबारसम्म २० हजारको हाराहारीमा अनलाइनमार्फत आवेदन आएको बताएको छ ।

विभागले अनलाइन प्रणालीमा समस्या आएको भन्दै सोमबार बिहानसम्म आवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्न निर्देशन दिएको छ । सोमबार बिहान १ बजेदेखि विभागको प्रणालीमा समस्या आएको थियो । जसका कारण आवेदनको प्रक्रिया नै अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार