काठमाडौँ । तीन हजार ८ सय ९९ मा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार मंगलवार १७ हजार ५ सय १८ मा परीक्षण गर्दा तीन हजार ८ सय ९९ मा संक्रमण पुष्टि भएको हो । यो सङ्ख्या सोमबारभन्दा ४ सय ७८ ले बढी हो ।
संक्रमितसँगै मुलुकभर संक्रमितको सङ्ख्या सात लाख ४२ हजार ८ सय १७ पुगेको छ । संक्रमण दर १९.२ प्रतिशत छ ।
उपत्यकामा ७७४ संक्रमित थपिए
यसैगरी काठमाडौँ उपत्यकामा मंगलवार मात्र ७७४ जना संक्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना संक्रमित् पुष्टि भएका छन् ।
एक हजार ७७८ निको
संक्रमणबाट स्वास्थ्यलाभ गरेर मंगलवार एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ ।
यसैगरी संक्रमणबाट मंगलवार २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् ।
यसैगरी संक्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।





















































