सामाजिक सञ्जालको मुख्य कार्यालय विदेशमा हुँदा अनुसन्धानमा चुनौती

सामाजिक सञ्जालको मुख्य कार्यालय विदेशमा हुँदा अनुसन्धानमा चुनौती

काठमाडौं : सामाजिक सञ्जालले मानिसलाई जोड्ने मात्र हैन, तोड्ने काम पनि गरिरहेको छ । सूचना प्रविधिमा आएको अभूतपूर्व परिवर्तनसँगै अपराधका घटनाले रंग फेर्ने गरेका छन् । अझ सामाजिक सञ्जालका मुख्य कार्यालय विदेशमा हुने गरेकाले अनुसन्धानमा प्रहरीले चुनौती व्यहोर्नु परेको छ ।

खुँडा, खुकुरी हानेर अपराध गर्ने प्रवृत्ति अब साईबरमा परिवर्तन भएको छ । पहुँच र सीपको विकाससँगै युवा समूहहरु यस्तो अपराधमा अधिक संलग्न रहेको प्रहरीको रिपोर्टले देखाउँछ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, अनाधिकृत रुपमा अर्काको पहिचान प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट लगायतको चोरी गरी गरिने बैकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई विश्वका अधिकांश मुलुकको कानूनले साईबर अपराध मानेको छ ।

पहिले दैनिक २ देखि ३ वटासम्म साईबर अपराधको उजुरी प्रहरीमा दर्ता हुने गरेकोमा अहिले दिनप्रतिदिन बढ्दो छ । अघिल्लो आर्थिक वर्ष ७७ वटा उजुरी दर्ता भएको नेपाल प्रहरीको साईबर ब्युरोका प्रमुख नविन्द्र अर्यालले जनाकारी दिनुभयो ।

विदेशीले अपराधको कार्यथलो नेपाललाई बनाउने गरेको विगतका केही घटनाले यसको जोखिम नेपालमा थपिएको छ । सामाजिक सञ्जाल गाली, मानहानी वा चरित्र हत्याका पोस्ट मात्र सीमित नभएर ठूला कर्पोरेट आक्रमणमा समेत प्रवेश गरेबाट घटना बाक्लिने छाँट देखिन्छ । यस्ता सञ्जालहरु विदेशबाट सञ्चालित र नियन्त्रित हुने भएकाले अनुसन्धानका लागि प्रहरी स्यंमले चुनौती व्यहोर्नुपरेको छ ।

साईबर अपराधबारे नागरिक आफैं सचेत हुनुको विकल्प नभएको अर्याल बताउनुहुन्छ ।

साईबर अपराध गरेमा ५० हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना देखि ५ बर्ष सम्म कैद वा प्रचलित कानून बमोजिम सजाय हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार