कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति, कहिले गर्ने भन्नेबारे आज निर्णय हुँदै

काठमाण्डाै : कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ ।

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।

आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

गएको जेठमा तय गरेको परीक्षा कोभिड-१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार