खाडी मुलुक जाने नेपाली कामदारले पाएनन् जोन्सनको खोप, भेरोसेल लगाए जान नपाउँने

  नयाँ बुलन्द
49 Shares

काठमाडौं : विदेशी रोजगारदाता देशहरुले कामदारलाई खोप अनिवार्य गरेपछि वैदेशिक रोजगारमा जानेहरु समस्यामा परेका छन् । साउदी अबर, कतार लगायतका खाडी मुलुकले अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सन, फाइजर, मोडना र अष्ट्राजेनेका खोप लगाएका कामदारलाई मात्रै प्रवेश दिने निर्णय गरेकाले वैदेशिक रोजगारीमा जानेहरुलाई खोप दिन नसके रोजगारी गुम्ने खतरा बढेको छ । ती देशहरुले चिनियाँ भेरोसेल खोपलाई मान्यता नै नदिएकाले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरु खोप लगाउन ईच्छुक देखिएका छैनन् ।

सरकारले खोप अनिवार्य गरेका देशमा जानेहरुहरुलाई भेरोसेल खोप लगाउने निर्णय गरे पनि वैदेशिक रोजगारमा जान चाहने धेरै व्यक्ति खोप लगाउनै गएनन् । साउदी कतार लगाएतका खाडी मुलुकहरुले अमेरिकामा बनेको जोनसनको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाए पछि उनिहरुले चिनमा बनेको भेरोसेल खोप नलगाएको जनाएका छन् । वुटवलका खिम सिंह खत्री भेरोसेल खोप लगाउनुको मतलबै छैन् , साउदीमा जोनसनको खोपलाई मात्र मान्यता दिएका कारण भेरोसेल खोप नलगाएको बताउनुभयो ।

खोप नलगाई विदेश जानेहरु १४ दिन अनिवार्य रुपमा होटल क्वारेटिनमा बस्नु पर्ने प्रावधान रहेको छ । कम्पनीले खर्च दिदैन , आफनै पैसामा १४ दिन क्वारेटिनमा बस्दा करिव १ लाख खर्च हुने उनिहरुको भनाई छ । विदा सकिसक्यो खोप नपाएका कारण साउदीमा पाएको रोजगारी गुम्ने खतरा रहेको दाङ्मा दुर्गा प्रसाद ढकाल बताउनुहुन्छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत अनुदानमा प्रदान गरेको १५ लाख ३८ हजार डोज जोनसन एण्ड जोनसनको खोप साउन ४ गते देखि ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन छुटेका व्यक्ति, नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु र अपाङ्ता भएका व्यक्तिलाई लगाउन सुरु गर्ने छ । जोनसनको खोप लगाउने तालिका निर्णय भईसकेका कारण वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई दिन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले जोनसनको खोपलाई मात्र मान्यता दिएको भन्दै खोप लगाउने माग गर्दै धेरै जना मन्त्रालय आएको तर केही निर्णय हुन नसकेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारमा जानेहरुलाई भेरोसेल खोप प्रदान गर्ने विषयमा सबै तिर आलोचना समेत भईरहेको छ । जोनसनको खोप अनुदानमा प्राप्त भएपनि फाइजर र मोडनाको खोप खरिद गर्ने टुङ्गो छैन् । अष्ट्राजेनेकाको खोप जापानवाट अनुदानमा आउने क्रममा छ । त्यो पनि जेष्ठ नागरिकलाई दिने जनाईएको छ । जसका कारण वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई थप समस्या हुने देखिएको छ । रोजगारदाता देशहरुमा नेपाललाई प्राप्त भईरहेको रोजगारी गुम्न नदिनका लागि पनि वैदेशिक रोजगारीमा जानेहरुलाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार