इलाममा व्यावसायिक बन्दै बाख्रापालन,उपचार र बीमाको सुविधा गाउँमै पाउँदा किसान उत्साहित

  नयाँ बुलन्द
42 Shares

इलाम : प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जिल्लाको सोयाकमा बाख्रा ब्लक विकास कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सिंहदेवी सहकारी संस्था मार्फत यहाँका १८ परिवारले बाख्रापालनका लागि आधुनिक खोर निर्माण गरेका छन् ।

बाख्रापालनको लागि उपयुक्त भएकाले सोयाकलाई बाख्रा पकेट क्षेत्रको रूपमा विस्तार गर्न लागिएको पशुसेवा विज्ञ सञ्जय ढुङ्गाना बताउछन् । पछिल्लो समय रोजगारी गुमेर गाउँ फर्र्किएका युवापुस्तालाई समेत लक्षित गरेर बाख्रापालन व्यवसायलाई विस्तार गरिएको उनको भनाइ छ । समुदाय स्तरमा लोकप्रिय बनाउँदै बाख्रापालनलाई व्यवसायिकताउन्मुख बनाइनेमा उनको जोड छ ।

अहिले सोयाकको एक सय ७५ सदस्य रहेको सहकारी संस्थाका २४ परिवारलाई ४८ वटा बाख्रा उपलब्ध गराइएको छ । सहकारीले बाख्रापालनका लागि उन्नत घाँसका विरुवा वितरण गरी औषधि उपचार र बीमाको समेत व्यवस्था गरेपछि समुदाय स्तरमा कृषकहरूसमेत उत्साहित देखिन्छन् । त्यसमाथि गाउँमै बाख्राको स्याहारसुसार र औषधि उपचार प्रविधिबारे प्रशिक्षणको समेत व्यवस्था गरिएको छ ।

परियोजना मार्फत बाख्रा ब्लक विकास कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इलामले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । ५० प्रतिशत सहकारीले लगानी गरी सञ्चालन गरिएको कार्यक्रम किसानको आवश्यकता हेरेर आगामी वर्षसमेत सञ्चालन हुने भएको छ । गाउँघरमै उन्नत जातको डाले घाँसको व्यवस्थापन र बजार व्यवस्थापनमा समेत सहजीकरण गरिने तेजबहादुर घोसाइले बताए ।

बाख्रापालन व्यवसायले उन्नत जातका बाख्रापालनमा किसानलाई अग्रसर बनाउने र आहाराको व्यवस्थापनमा सहयोग पुग्ने भएको छ । जसले गर्दा सोयाक क्षेत्रका कृषकहरूमा उत्साह मात्र थपेको छैन यस क्षेत्रलाई बाख्रापालनको नमुना क्षेत्र बनाउने संकल्प पनि पूरा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार