इलाम अस्पतालले भिडियो एक्सरे नगर्दा बिरामी मर्कामा

  गोपाल निरौला
2.3k Shares

इलाम :  इलाम अस्पतालले स्त्री रोगबाहेक अन्य बिरामीको भिडियो एक्सरे नगर्दा बिरामी मर्कामा परेका छन् ।अस्पतालले बिभिन्न कारण देखाउदै बिरामीलाई निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पठाउने गरेको छ ।जस्ले गर्दा स्वास्थ्य बिमा गरेका र आर्थिक अवस्था कमजोर भएकाहरु बढी मर्कामा परेका छन् ।

अस्पतालका मेडिकल सुपरिडेण्डेन डा प्रभु शाहले स्त्री रोग सम्बधी बिरामीको मात्र भिडियो एक्सरे गर्दै आएका छन् । अन्य बिरामीहरुको भिडियो एक्सरे गर्नुपरेमा अस्पतालले बाहिर पठाउने गरेको छ ।

अस्पतालको आसपासमा रहेका द मेडिको, दुर्गा मेडिको लगायतका क्लिनिकले भिडियो एक्सरेको सेवा दिंदै आएका छन् । यी क्लिनिकहरुमा इलाम अस्पतालकै डाक्टरहरुले भिडियो एक्सरे गर्ने गरेका छन् । द मेडिकोमा डाक्टर प्रभु र दुर्गा मेडिकोमा डाक्टर विश्रुत सापकोटाले भिडियो एक्सरे गर्ने गरेका छन् ।

निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीको गुनासो छ । स्वास्थ्य बिमा गरेका केही बिरामी अस्पतालले बाहिर पठाउने गरेपछि जाँच नगराई घर फर्कने गरेका छन् ।

भिडियो एक्सरे गर्न आइयो तर भएन अस्पतालको गेटमा भेटिएका इलाम सोयाङका राम राईले भने डाक्टरले बाहिर गरेर आउनुभनेका छन् । तर उनी भिडियो एक्सरे नगरी घर फर्किए ।स्वास्थ्य बिमा गरेको थिए, पैसा नबोकी आए राईले भने अब अर्को दिन आउनुपर्नेभयो ।

पछिल्लो समय उनी जस्तै धेरै बिरामी यस्तै समस्या झेल्न बाध्य छन् । अस्पतालले भने दक्ष जनशक्ति अभावमा सबै बिरामीलाई भिडियो एक्सरेको सेवा दिन नसकेको बताउँदै आएको छ ।

अस्पतालमा रेडियोलोजिष्ट उपलब्ध भएमा मात्र सबै बिरामीले भिडियो एक्सेरेको सेवा पाउने डा प्रभु शाह बताउछन् । बिहान १० बजेदेखी १ बजे सम्म डाक्टरहरु ओपिडीमा बस्ने गरेका छन् ।१ बजे पश्चात मात्र डा प्रभुले भिडियो एक्सरे गर्ने गरेका छन् ।

एउटा मात्र भिडियो एक्सरे मेसिन भएको साथै समय नमिल्दा अस्पतालमा आफुले भिडियो एक्सेरे गर्न नसकेको अर्का डाक्टर विश्रुत सापकोटाको भनाई छ । अस्पतालले प्रदान गर्ने सेवामा समयसमयमा प्रश्न उठ्ने गरेको छ । केहीले त इलाम अस्पताललाई रिफर सेन्टर समेत भन्ने गरेका छन् ।

अस्पतालमा स्वास्थ्यकर्मी बीचनै आवश्यक समन्वय र सहकार्य नहुँदा समस्या देखिने गरेको छ । अस्पतालमा हाल उपलब्ध जनशक्तिले नै सबै बिरामीलाई सेवा दिन सकिने सोही अस्पतालमा लामो समय कार्यरत एक स्वास्थ्यकर्मीे बताउछन् । तर आवश्यक समन्वय र सहकार्य हुन नसक्दा यस्तो समस्या आएको उनको भनाई छ ।

केही समय अघिसम्म कोभिडका सामान्य बिरामी उपचारका लागि झापा जानुपर्ने बाध्यता थियो ।उनले भने अहिले यही अस्पतालमा नै उपचार हुने गरेको छ ।सबैले आवश्यक पहल गर्ने हो भने समस्या समाधान हुने उनको तर्क छ ।

यता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गणेश बरालले यसबारेमा पटक पटक कुरा गरेको तर समस्या समाधान हुन नसकेको बताए ।सस्तो र भरपर्दो सेवा आम नागरिकले पाउनुपर्ने बताउँदै उनलेे अब कानुनी बाटोबाट समस्याको हल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार