इलाम⁄पाँचथर : दुवै जिल्लाको सिमानामा रहेको घुर्बिसे पञ्चमी बजारबासीको वर्षौंदेखिको खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन ।
अहिले वर्षातको समयमा समेत यस बजारका बासिन्दालाई खानेपानीको समस्या र बिजोग सुन्दा धेरै मानिसलाई आश्चर्य लाग्न सक्दछ । तर,यहाँको यथार्थता साँच्चिकै मर्मस्पर्शी छ । बजारको उचाइ बराबरको स्थानबाट हाल एउटा सानो मुहानको पानी दुई ठाउँमा विभाजन गरेर सार्वजानिक धारामा खसालिएको छ ।
धारामा पानी भर्न बिहान ३ बजेदेखि राती ११ बजे सम्म ताँत हुने गरेको बजारबासीले दुखेसो पोखेका छन् । आकासको पानी छानाबाट आउँदा प्रत्येक घरमा भाँडा थापेर सामान्य गुजारा चलाउनु परेको स्थानीयको पीडा छ । एक घर बराबर २०-३० लिटर सम्म पानी थाप्न पाउने व्यवस्था मिलाएको भएता पनि आलोपालोमा विवाद अनि धेरै र थोरै पानी भरेको निहुँमा छिमेकीको एक-आपसमा बारम्बार झगडा समेत हुने गरेको उनीहरु बताउँछन् । यहाँ चालु गरिएका ठुला योजना बीचबीचमा अलपत्र भइरहने हुँदा विगतदेखि स्थानीय मुहानले मात्रै बजारका बासिन्दाको दुःखसुख प्राण बचाएको स्थानीय लाल बहादुर बोहोराले बताए । यस ठाँउमा खानेपानीका केही ठुला योजनाहरु संचालन गरिएको थियो तर,व्यस्थित बन्न नसक्दा र जिम्मेवार पक्षको पितलोपनले दुर्दशा ज्यूँको त्युँ छ । आजभोलि खानेपानीको समस्याका कारण कतिपय मानिसहरु बजार छोडेर अन्यत्र जान समेत बाध्य भएका छन् । आगामी दिनमा बजारको लागि पर्याप्त पुग्ने दिर्घकालीन खानेपानीको योजना नभएसम्म यहाँका बासिन्दाले सधैंभरि यस्तै शास्ती खेपिरहनु पर्ने आम बजारबासीको ठहर छ ।
बजार सानो आकारको हुँदा पिउने पानी उपभोक्तालाई पुग्ने गरेको तर तीब्र गतिमा बजारीकरणसंगै करिब एक हजार बासिन्दा बसोबास गरिरहेको यस बजारमा अहिले पानीको श्रोतले धान्न गाह्रो हुँदै गएको खानेपानी समितिका अध्यक्ष कृष्ण बहादुर सम्बाहाम्फे लिम्बु बताउँछन् ।
कसरी शुरु भयो खानेपानीको समस्या ?
विगत आठ वर्षअघि डिभिजन कार्यालाय इलाम मार्फत शुरुमा यस बजारलाई खानेपानीको योजना उपलब्ध भएको थियो । उक्त योजना महाभाराडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १७ किलोमिटर टाढा इथुङ्गबाट ल्याइएको पानी देउराली,पुरानो पञ्चमी,घुर्बिसे पञ्चमी र याम्बाबुङ्ग क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका थिए । तर, मुहानबाट पानी धमिलो आएका कारण पिउन लायक भएन । बजारदेखि मुहान लामो दुरी भएकाले पटकपटक बिग्रने र मर्मत गर्न जान समेत असहज हुँदा सो योजना दिर्घकालीन बन्न सकेन । त्यसको विकल्पमा फाकफोकथुम गाँउपालिका र फाल्गुनन्द गाँउपालिकाको संयुक्त लगानीमा दुई वर्षभन्दा पहिले डिपबोरिङ खानेपानी संचालन हुँदै गर्दा बोरिङमा प्रयोग गरिएको पावर सप्लाइ गर्ने प्लेट खराब भएपछि चार महिनादेखि बजारमा खानेपानी बन्द भएको छ । मर्मतको लागि कम्पनीलाई अनुरोध गर्दा निर्माण उपभोक्ता समितिले पुरा हिसाब नमिलाएको दावी गरेको छ भने यता समितिले सबै रकम चुक्ता गरेको बताएको छ ।
हचुवाको भरमा सम्झौता बिना समितले डिपबोरिङ कम्पनीसंग काम गर्दा समस्या उब्जिएकाले फाल्गुनन्द गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवित्रा कुमारी आङ्देम्बे समक्ष उपभोक्ताले गुहार्दै उजुरी दिए तर हालसम्म सुनुवाइ नभएपछि स्थानीय दुखित बनेका छन् । समिति र कम्पनीको आर्थिक लेनदेनमा विवाद हुँदा अहिले उपभोक्ता मारमा परेका छन् ।
यस अघि पानी संचालन हुँदा खानेपानीको महसुल न्युनतम दुई सय ५० रुपैया प्रति घर मिटरमा उठाउँदै आएको र पानी बन्दपछि प्रति महिना एक सय ५० रुपैयाका दरले महसुल बुझाउँन पनि उपभोक्ताले अटेर गरेकाले गत चार महिना देखि प्राविधिकको तलब दिन मुस्किल परेको समितिले जनाएको छ । पानी मर्मतमा सबै उपभोक्ता सहभागी नहुने,डिपबोरिङको लागि जडान गरिएको विधुत मिटरको महसुल समेत प्रत्येक महिना बृद्धि भइरहेको समितिले दावी गरेको छ भने खानेपानीको चरम समस्यामा समितिले वास्ता नगरी महसुल उठाउन मात्रै दबाब गरेको उपभोक्ताले आरोप लगाएका छन् । अहिले सम्म समितिले साधारणसभा नगरेको र आर्थिक पारदर्शीता नदेखाएको साथै यस बजारमा आएका धेरै योजनाहरु निर्माण सम्पन्नपछि सार्वाजनिक सुनुवाइ नगरिएको प्रति उनीहरुले गुनासो गरेका छन् ।
बजारमा कुनै पनि योजाना संचालन गर्दा प्रकृया विहिन ढंगले गोप्य रुपमा उपभोक्ता समिति निर्माण गरिने र समस्या शुरु भएपछि मुन्टो लुकाउने प्रवृतिले समस्या बल्झिरहेको स्थानीबासी जानुका कट्टेल बताउँछिन् ।