
इलाम : इलामको सूर्योदय नगरपालिकामा भर्खरै गठन भएको युवाहरुको समूह “हामी सूर्योदयका युवा” ले जिल्लाकै पहिचानको रुपमा रहेको पर्यटकीय स्थल कन्याममा वृक्षरोपण सम्पन्न गरेको छ । समुहले आफ्नो पहिलो कार्यक्रम स्वरुप सूर्योदय नगरपालिकाको समन्वय बिहीबार बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको बिशेष उपस्थितिमा सुरु गरिएको उक्त कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष राजकुमार सेरेङ्ग,सामाजिक व्यक्ति खगेन्द्र वास्तोला साथै १४ वटै वडाका युवाहरुको उपस्थिति रहेको थियो। बिरुवा नगर क्षेत्र भित्र ३ लाख विरुवा रोप्ने नगरपालिकाको योजना अन्तर्गत आज करिब दूई सयको संख्यामा विभिन्न प्रजातिको गुराँसको बिरुवा रोपन कार्य सम्पन्न भएको हो।
कोभिड १९ संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै क्षेत्रबाट युवाहरुलाई वृक्षरोपणको लागि आह्वान गर्न नसकिएको युवा सागर ढुंगानाले बताए । आज भएको थालनी कार्य स्वागत योग्य रहेको र आगामी दिनहरुमा युवाहरूको हरेक सकारात्मक कार्यमा नगरपालिकाको तर्फबाट भरपुर साथ सहयोग रहने नगरप्रमुख राइले प्रतिवद्धता ब्यक्त गरे।
यता लकडाउनको समयमा सामाजिक सन्जालमा सिमित रहेका युवाहरुले गठन गरेको यो समुहमा रहेर सामाजिक कार्यमा उत्सुक भएका युवाहरुको साथमा यस्तो सुन्दर कार्य गर्न पाउदा आफुलाई पनि खुशी लागेको र साथ सहयोग निरन्तर गर्दै जाने समुहका चेतन अधिकारीले बताए ।युवाहरुको यो प्रयासलाई ऐक्यबद्धता जनाउन उपस्थिति हुनुभएका सुर्योदय नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष,सामाजिक ब्याक्तित्व एवम् महामारी बिच टाढा नजिकबाट उपस्थिति हुनुहुने सबै युवाहरुलाइ बिशेष आभार व्यक्त गर्दै छिट्टै नै अन्य बिबिध कार्यहरुमा सामेल भइ नगरबासीहरुमा युवाहरुको बेग्लै पहिचान बनाउने समुहका युवा भुषित दाहालले उदृध गर्दै समुहमा आवद्धका सदस्य प्रकाश अभिलासीले जानकारी दिए ।