
इलाम : इलाममा असार पन्द्र सडकमा धान रोपेर मनाईएको छ । पानीले सडक खेतभन्दा हिलाम्मे भएपछि स्थानियले बाटोमै धान रोपेर विरोध जनाएका हुन् । जिल्लाको माईजोगमाई गाउपालिका, सूर्योदय नगरपालिका र रोङ गाउँपालिका क्षेत्रमा स्थानीयले विरोध स्वरुप सडकमा धान रोपेका हुन् । माईजोगमाईमा गाउपालिकको केन्द्र जोड्ने सडकमा तरुण दलका युवाहरुले धान रोपिएको हो भने सूर्योदय नगरपालिका क्षेत्र र रोङ गाउँपालिकामा पर्ने हर्कटे–धजे–निन्दा–काँकरभिट्टा सडकको विभिन्न ठाउँमा स्थानीयले रोपाई गरेका हुन् । सडकमा बर्षेनी लाखौं रुपैयाँ लगानी भइरहेपनि सडकको स्तरउन्नती हुन सकेको छैन । सडकको स्तरउन्नतीको लागि भन्दै स्थानियपालिकाहरुले करोडौ बजेट खर्च गर्ने गरेका छन् । तर, सडकको अवस्था झन विग्रिदै गएको छ ।

हिलोका कारण बेहाल भएको सडकमा छोटो दुरी पार गर्न घण्टौ लाग्ने गरेको छ । अहिले स्थानीय तहहरुमा बाह्रैमास सवारी चल्ने सडक योजनाको नाममा बर्षेनी करोडौ लगानी हुने गरेको छ । तर, यस्ता आयोजना नाम मात्रैमा सीमित भएका छन् । बर्षायाम शुरु भएपछि सडक निर्माण थालिने, निर्माणको काम अधुरै छाड्ने प्रबृतिले सडकमा जतिनै लगानी भएपनि सडकको स्तरउन्नती भएको छैन । स्थानीय भने हिउँदमा धुलो र वर्षामा हिलोको समस्याबाट मुक्त हुन सकिरहेका छैनन् ।
























































