इलाममा स्वास्थ्य बीमा छैठौं वर्षमा प्रवेश गर्दै गर्दा……..

  खेमराज अधिकारी
1.9k Shares

आम नगरिकको स्वास्थ्य उपचारमा सहज पहुँच तथा आर्थिक अभावकै कारणबाट स्वास्थ्य सेवा लिनबाट बन्चित हुनु नगरोस भन्ने उद्धेश्यले २०७३ असार १५ गतेबाट दर्ता प्रकृया शुरु भएको इलामको स्वास्थ्य बीमा ५ वर्ष पुरा गरेर छैठौं वर्षमा प्रवेश गरेको छ । पहिलो चरणमा कैलाली , बाग्लुङ्ख र इलाम जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा हाल काठमाडौं र ललितपुर बाहेक देशका ७५ जिल्लामा पुगिसकेको छ । स्वास्थ्य बीमालाई सरकारले प्राथमिकतामा राखेर काम गरेको पाइन्छ भने आम नागरिकको विश्वास एवम् सहभागिता बढिरहेको छ ।

आ.व.२०७२।०७३ मा स्वास्थ्य बीमा शुरु भएका तीनबटा जिल्ला मध्ये इलाम पनि एक हो । पहिलो चरणमा नै जिल्ला छनौट हुनु आफैमा इलामका लागि सकारात्कम पाटो मान्नु पर्ने हुन्छ । किनकी त्यही सेवा लिन छिमेकी जिल्लाहरुले ५ बर्ष कुर्नु पर्यो । त्यस बखत नेपालमा नै पहिलो पटक शुरु भइरहेको स्वास्थ्य बीमा कतिपय नितिगत तथा रणनितिगत रुपमा हालमा जस्तो परिपक्क भएको अवस्था थिएन । यीनै शुरु भएका जिल्लाबाट शिक्षा लिदै आवश्यक रुपमा सुधार गर्दै लानुको विकल्प थिएन । सरकारकालागि पनि नयाँ, स्वास्थ्य संस्थाका लागि पनि नयाँ , आम नागरिक एवम् सरोकारवाला निकायहरुका लागि पनि नयाँ कार्यक्रम भइएकाले यस प्रति सबैको चासो, आशंका र आशा रहेको थियो ।

इलामका आम नागरिकहरुले यस कार्यक्रम प्रति सकारात्मक चासो र विश्वास गरेर शुरुवातकै वर्षहरुमा उत्साप्रद रुपमा बीमा गरेको तथ्याङ्कले बताउछ । त्यस चरणबाटै सिमित श्रोत साधनका बावजुत पनि इलामका इलाम अस्पताल इलाम , प्रा.स्वा.के.हरु फिक्कल, पशुपतिनगर, मंगलबारे ,प्याङ्गले आफ्ना बलबुताले भ्याए सम्म बिमित एबम् आम नागरिकको मन जित्ने गरि सेवा दिएको पाइन्छ । यस्तै जिल्लाको पछिल्लो समय सम्झौंता भएको माइ नगर अस्पतालले राम्रो पनि सेवा दिइरहेको छ । इलामका सबै तहका जनप्रतिनिधि , राजनीतिक दलहरु , नागरिक समाज , पत्रकार तथा आम नागरिले आआफ्ना तवरले सकारात्क सहयोग गरेकोले स्वास्थ्य बीमाले महशुस गरेको छ ।

इलामको स्वास्थ्य बीमालाई तथ्याङ्कको रुपमा हेर्दा २०७७ चैत्र मसान्त सम्ममा स्वास्थ्य बीमामा आवद्ध भएर २०७८ जेठ १ गतेबाट सेवा लिनेको संख्या १ लाख ६ हजार ७ सय २ रहेको छ । नेपाल सरकारले सत प्रतिसत निशुल्क स्वास्थ्य बीमा गर्ने भनि घोषण गरेका लक्षित बर्ग मध्ये ७० बर्ष पुरा भएको जेष्ठ नागरिक १२ हजार १ सय ९५ , रातो कार्ड प्राप्त परिवार सदस्य १९ सय ८६ , एच.आइ.भी पोजेटिभ ५१ , कुष्ठ रोगी परिवार सदस्य १४ रहेका छन् भने ५० प्रतिसत निशुल्क अन्तर्गत म.स्वा.स्व.से.को परिवार सदस्य २ हजार ४ सय ७ स्वास्थ्य बीमामा आवद्ध भएको अवस्था छ । निशुल्क अन्तर्गतका लक्षित बर्गको इलाम जिल्ला पूर्ण बिमित जिल्ला हो । यस जिल्लाबाट बीमा गरेका ४६ हजार ८ सय ६९ बिमितहरुले पटक पटक सेवा लिइसकेको तथ्याङ्कले बताउछ ।

इलामका विभिन्न स्थानियतहहरुले पछिल्ला वर्षहरुमा विभिन्न लक्षित बर्गहरु तय गरि योगदान रकम आफूले तिरिदिएर स्वास्थ्य बीमा गराउने क्रम बढेको छ । इलाम नगरपालिकाले ६० देखि ७० बर्ष उमेर समुहका जेष्ठ दलित परिवार , म.स्वा.स्व.से.को परिवार , सूर्योदय नगरपालिकाले एकल महिला , अपांगता भएको परिवार , माइ न.पा.ले अपांगता भएको परिवार , रोङ्ग गाउपालिकाले म.स्वा.स्व.से.परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । विगत बर्षहरुमा रोङ्ग गा.पा.ले अल्पसंख्यक, दलित आदि लक्षित बर्गको र माइजोगमाई गा.पा.ले अपांगता भएका परिवारको स्वास्थ्य बीमा गरिदिएको छ भने अन्य स्थानिय तहहरुले पनि सकारात्मक सहयोग गरेको पाइन्छ ।

उल्लेख्य मात्रमा बिमित हुनु , सत प्रतिसत नविकरण हुनु , लक्षित बर्गका सबै नागरिको बीमा हुनु , तोकिएको दायरा भित्र उपचार लिन आर्थिक अभाव नहुनु , आफुले लिने सेबा प्रति बिमितको चासो हुनु ,भने जस्तो सेबा पाइएन भने प्रश्न उठाउनु , जिल्लाका स्वास्थ्य संस्थाहरुको सेवा सवल बन्दै जानु ,सेवा मैत्री वातावरण हुनु , बिमितको सरकारी स्वास्थ्य संस्था प्रति विस्वास बढ्नु , स्वास्थ्य संस्थाहरु आर्थिक रुममा सबल बन्दै जानु ,देशका विभिन्न अस्पतालबाट ठुलबुला अप्रेशन तथा अन्य जटिल रोगहरुको उपचार पाउनु , नियमित औषधी सेवन गर्ने बिमित लावान्वित हुनु , सुरुकै अवस्थाम स्वास्थय परिक्षण गराउने दर बढ्नु जसका कारण जटिल रोग लाग्नबाट बच्नु तथा प्रारम्भिक चरणमा नै निधान हुनु , जिल्ला बाहिर गएर सर्बसाधारण नागरिकले सेवा लिने पहुँच हुनु जस्ता सवल पक्ष देखिएको छ ।

त्यस्तै नितिगत रुपमा नै तोकिएका स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन पाइनु , आकस्मिक बाहेकमा प्रेषण हुनु पर्ने , तोकिएको अवधि भित्रमा बीमा गरिसक्नु पर्ने नत्र सेवा छुट्ने , बिमितहरुले कार्डको विजतन गर्ने , तोकिएको सिमा भन्दा माथि सेवा नपाइन, गरिव बर्गको निशुल्क स्वास्थ्य बीमा गरिदिन जिल्लामा गरिविको परिचय पत्र नहुनु ,जिल्लामा सुविधा सम्पन्न अस्पतालको अभावमा अन्य जिल्लामा गएर सेवा लिनु, सबै प्रकारका औषधीहरु सेवा भित्र नपर्नु हाल देखिएका दुर्वल पक्ष हुन् ।

यसरी ५ वर्ष अघि तीन जिल्ला वाट शुरु भएको स्वास्थ्य बिमा मुलुकका ७५ जिल्लामा पुगिसकेको छ । हिजोका दिनमा ३३० प्रकारका औषधि आज ११३३ प्रकारको भएको छ । सिमित स्वास्थ्य संस्थाहरुवाट शुरु स्वास्थ्य सेवा आज देशका प्रतिष्ठित स्वास्थ्य संस्थाहरु सम्म पुगेको छ । स्वास्थ्य बीमामा औषधि तथा स्वास्थ्य संस्थाहरु समय अनुसार थपघट हुन सक्दछन् । हाल कायम रहेका औषधि तथा स्वास्थ्य संस्था हेरेर भन्दा पनि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो सेवा प्रदायक आफ्नै संस्थाको रुपमा बुझेर सदस्य बनौं । हर क्षण बीमित सदस्यहरु तथा आम नागरिकहरुको हक, हित र सुझावलाई ध्यानमा राखेर काम गर्ने प्रयास हुने छ जसका लागि सवै पक्षको साथ , सहयोग र विश्वास चाहिन्छ ।

स्वास्थ्य बीमा के हो ?

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ ।संविधानको धारा ५१(ज)१५मा राज्यका नीतिहरु अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चत गर्दै स्वास्थ्य उपचारमा पहँुचको ब्यवस्था मिलाउने भनि उल्लेख गरे अनुरुप नेपाल सरकारले स्वास्थ्य बीमालाई सक्रियताका साथ अघि बढाइरहेको छ । नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा) चरणवद्ध रुपमा लागुगर्ने गरि नेपालका तीन जिल्ला कैलाली, इलाम र बाग्लुङ्ग वाट गत वर्ष २०७३ साल देखि शुरु गरेको हो ।

नेपाली नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्दा ठूलो आर्थिक संकट व्यहर्नु नपरोस भन्ने लक्ष्यका साथ स्वास्थ्य बीमा हाल नेपालका ७५ जिल्लामा लागु भैसकेको र काठमाडौं र ललितपुर जिल्ला शुरु गर्ने प्रकृयामा रहेको छ । स्वास्थ्य बीमामा आवद्धताले आम नागरिकलाई विरामी पर्दा आर्थिक सुरक्षा प्रधान गर्छ । ५ जना सम्मको परिवारले रु. ३ हजार ५ सय रकम तीरि स्वास्थ्य बीमाको सदस्य वन्न सक्ने छन् भने ५ जना भन्दा माथि भएमा प्रत्येक थप सदस्य वरावर ७००को दरले लागत बढ्दै जान्छ ।

स्वास्थ्य सेवाको हकमा ५ जना सम्मको परिवारले १ लाख सम्म र प्रत्येक थप सदस्य वरावर २० हजारको दरले सेवाको दर बढ्दै जान्छ जुन क्रम एकलाख रुपयाँ भन्दा माथि भने छैन । यो पारिवारिक बिमा हो । परिवारका प्रत्येक सदस्यलाई स्वास्थ्य बीमाको परिचय पत्र दिइन्छ सोही कार्ड बोकेर स्वास्थ्य समस्या भएमा सेवा लिन जान सकिन्छ । राष्ट्रवाट आम नागरिकले अपेक्षा गर्ने प्रमुख बिषय मध्ये स्वास्थ्य सेवामा पहुँच पनि एक हो । आज एउटा नेपाली विरामी पर्दा विरामी पक्षले उपचार खर्चको ५५ प्रतिसत भन्दा माथी आफ्नो गोजीको रकम खर्चनु परेको छ जुन खर्चमा अब स्वास्थ्य बीमाले सहायता गर्ने भन्ने रहेकोछ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको नयाँ व्यवस्था अनुसार ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई २०७६ साल बैशाख १ गतेबाट राज्यले रु ३५सय रकम व्योरेर निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था भए अनुरुप स्वास्थ्य बीमा लागु भएका जिल्लाहरुमा सो अनुरुप काम भइरहेको छ । सो व्यवस्था अनुसार १ लाख सम्मको स्वास्थ्य उपचारमा सेवा पाइने हुन्छ ।

त्यस्तै अति अशक्त अपाङ्गता रातो कार्ड भएका व्यक्तिको ,कुष्ठरोगी, एच.आइ.भी संक्रमित, जटिल खालका क्षयरोग भएका विरामीको भने परिवारलाई नै निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था छ । महिला स्वास्थ्य स्वयम सेविकाहरुको परिवारलाई लागतको ५० प्रतिसत छुटको व्यवस्था छ ।यस्तै प्रचलित कानुन बमोजिम अति गरिवको परिचय प्राप्त परिवारको पनि निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था छ । क्यान्सर,मुटु रोग ,मृगौला रोग ,हेड इन्जूरी , स्पाइनल इन्जुरी ,सिकलसेल एनिमिया , पार्किन्सोनिजम ,अल्जाइमर रोगलाई भने थप १ लाख रुपैया सम्मको सुविधा पाउने रोगहरु हुन् ।

स्वास्थ्य बीमाको सेवा प्रदायक संस्थाहरुमा स्वास्थ्य बीमा लागु भएका जिल्ला तथा छिमेकी जिल्लाका भिभिन्न सुचिकृत स्वास्थ्य संस्थाहरु रहेका छन् । त्यस्तै विर अस्पताल, मनोमहन कार्डियो भास्कुलर, पाटन अस्पताल, भरतपुर क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, शुक्रराज सरुवारोग नियन्त्रण केन्द्र टेकु, प्रसुती गृह थापाथली , कान्ति वाल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, ट्रमा सेन्टर काठमाडौं , शहिद गंगालाल अस्पताल, कोशी अंचल अस्पताल आदि अस्पतालहरु स्वास्थ्य सेवा दिने गरि सुचिकृत भएका छन् ।

इलाम जिल्लाका इलाम अस्पताल इलाम, माइ नगर अस्पताल, जिल्ला भित्र रहेका चारवटा प्राथमिक स्वास्थ्य केन्द्र सेवा दिदै आएका छन् । स्वास्थ्य बीमाले समय समयमा सुचिकृत औषधिहरु थप गर्दै लगेर हाल ११ सय ३३ प्रकार औषधि पुर्याएको छ । घर लैजाने औषधिमा सुचिकृत औषधि भन्दा वाहेकका औषधि आवस्यक परेमा स्वास्थ्य बिमाले समेट्दैन भने निशुल्क अन्तर्गत हुने सेवाहरु निशुल्क अन्तर्गत नै रहने छ

लेखक ः स्वास्थ्य बीमा बोर्ड , इलामका प्रमुख हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार