संखुवासभा : पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला र मकालु गाउँपालिकाका १० हजार नागरिकहरूलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।
चीनको तिब्बत प्रान्तको नेपालसँग सिमाना जोडिएको क्षेत्रका १८ वर्षमाथिका सम्पूर्ण नागरिकहरूलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको हो । चिनियाँ सरकारले तिब्बतसँग सिमाना जोडिएको संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाभित्रका १० हजार नागरिकलाई निःशुल्क रूपमा खोप दिने उद्देश्यले पठाएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिकामा असार १३ देखि १५ गतेसम्म गाउँपालिकाभित्रका १९ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र तोकेको भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्पू भोटेले बताए । उनले १८ वर्षमाथिका सबै नागरिकहरूलाई आफ्नो परिचय खुल्ने कागजात बोकेर खोप केन्द्र पुगी खोप लगाउन समेत अनुरोध गरे ।
त्यसैगरी मकालु गाउँपालिकामा असार १३ देखि १८ गतेसम्म खोप सञ्चालन गरिने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले बताए । उनले कोरोनाबाट जोगिन मकालुका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अध्यक्ष पोखरेलले अनुरोधसमेत गरे । ‘आफूलाई पायक पर्ने खोप केन्द्रमा उमेर खुल्ने प्रमाणसहित सबैलाई अनिवार्य सहभागी भई खोप लगाउन खबर गरेका छौँ ’अध्यक्ष पोखरेलले भने ।
मकालु गाउँपालिकामा २४ स्थानको खोप केन्द्रबाट भेरोसिल खोप लगाउने तयारी भइरहेको छ । भोटखोला र मकालु गाउँपालिकाका १८ वर्षभन्दा माथिका नागरिकसहित त्यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी र शिक्षकलाई समेत खोप लगाइने भएको छ । निषेधाज्ञाका कारण भोटखोला गाउँपालिकासम्म जान नसक्ने भोटखोलावासीलाई मकालु गाउँपालिकाको नुम बजारमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए ।
























































