सगरमाथा र अरु हिमालको कमाई

  निनाम कुलुङ 'मंगले'
28 Shares

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ आठहजार ८४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्यण गत वर्ष नेपाल सरकार चीन सरकारले संयुक्त रुपमा गरेका हो । त्यसअघि सगरमाथाको उचाइ आठहजार ८४८ मिटर रहेको थियो । खासमा यो हिमालको आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम भने, ‘चोमोलुङमा’ हो । त्यसो भए तापनि हाल सगरमाथा र एभरेस्ट भनेर नै बढी चिनिन्छ । यो प्रसंगलाई यही छाडौं । यसअघि नेपाल सरकारले सन् १९५५ मा पत्ता लागेको आठहजार आठसय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले भने, आठहजार आठसय ४४.४३ सेन्टीमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली आदि देशहरुले भने, सगरमाथाको उचाइ आठहजार आठसय ५० मिटर रहेको भन्दै आएको थियो । तर, नेपाल सरकार चीन सरकारले तेस्रो पक्षको उचाइ बढेको भनाइलाई मान्यता दिएको थिएन ।

यो लेखमा सगरमाथा आरोहण र अन्य कुरोबारे भन्दा पनि सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथाको कमाइबारे केही लेखिने छ । हाम्रो देशले यो वर्ष (सन् २०२१) को वसन्त याममा कोरोना महामारीबीचमै पनि विश्वकै अग्लो सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुबाट धेरै राम्रो आमदानी गर्न सफल भएको छ ।

जस्तो कि, विश्वको अग्लो हिम शिखर सगरमाथा (नयाँ उचाइ आठहजार ८८४ दशमलव ८६ सेन्टी मिटर मानिएको छ ।) चढ्न आएका विभिन्न देशका पर्वतारोहीहरुलाई अनुमति दिएवापत नेपाल सरकारले लिने गरेको सलामी दस्तुर अर्थात् रोयल्टी मात्रै ६६ करोड नेपाली रुपैँया बराबरको विदेशी मुद्रा कमाई गरेको छ । स्मरणीय छ, यो सिजन (वसन्त याम) मा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ वटा आरोहण दलका ४०८ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति लिएका थिए । त्यसमध्ये एक जना तेस्रो लिंगी समेत थिए भने ९२ जना महिलाका साथै ३१५ जना पुरुष रहेका थिए ।

तर, दुःखको कुरो, यो वर्ष ठ्याक्कै सगरमाथा आरोहण गर्ने समयमा नै खाडी मुलुक र भारतको विभिन्न गुजरात, महाराष्ट्र, पश्चिम बंगाल, बंगलादेश लगायत क्षेत्रबाट आएको ‘ताई÷तेई’ र ‘यास÷यस’ नामक समुन्द्री आँधी (चक्रावत) का कारण मौसममा आएको नकारात्मक परिवर्तनले गर्दा सगरमाथा आरोहणमा अपेक्षित सफलता भने मिलेन । यसले गर्दा यो वर्षको वसन्त याममा लगभग ६५ देखि ७० प्रतिशत सगमाथा आरोहीहरुले बिना सफलता फर्किए होलान् ! यो मेरो व्यक्तिगत अनुमान मात्रै हो । यसबारेमा आधिकारिक निकाय पर्यटन विभागले आधिकारक रुपमा कति प्रतिशतसगरमाथा आरोहीहरुले यो वर्षको वसन्त याममा सपलता प्राप्त गरे ? विज्ञप्ति निकालेर सूचना निकाले र जानकारी गराउला नै । त्यसो त हजारौं डलर खर्च गरेर जिन्दगीमा जसरी भए पनि ‘एक पटक विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने !’ सपना साँचेर आएका विभिन्न देशका सगरमाथा आरोहीहरुले कतै मौसम सुध्रेला कि ? भनी सन् २०२१, जुनको ७÷८ तारिखसम्म सगरमाथा हिमालको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बसेका थिए । तर, …

सगरमाथापछि यो सिजनमा नेपालमा रहेको र, विश्वकै चौथौ अग्लो हिमाल ल्होत्चे जुन हिमाल आठहजार ५१६ मिटर अग्लो छ, यो हिमाल आरोहण गर्नका लागि विभिन्न देशका १४ वटा आरोहण दलका एक सय २५ सदस्यले अनुमति लिएका थिए । स्मरण रहोस्, यो हिमाल आरोहण गर्नका लागि यस वर्षको वसन्त याममा पुरुषभन्दा महिला तीन चौथाई भन्दा पनि बढीको संख्यामा रहेको थियो । अर्थात् यो वर्षको वसन्त याममा ल्होत्चे हिमाल आरोहण गर्नका लागि ९४ जना महिलाहरुले आरोहण अनुमति लिएका थिए भने २९ जना पुरुष आरोहीहरुले मात्रै आरोहण अनुमति लिएका थिए । उता खुम्बु क्षेत्रमै पर्ने नुप्चे, जुन हिमाल सातहजार ८६४ मिटर अग्लो रहेको छ, सो हिमाल आरोहणका लागि यस वर्षको वसन्त याममा विश्वका विभिन्न देशका ३८ जना आरोहीहरुले आरोहण अनुमति लिएका थिए । साथै पुमोरी हिमाल आरोहणका लागि, जुन हिमाल सातहजार १६१ मिटर अग्लो रहेको छ, यस वर्षको वसन्त याममा विभिन्न देशका ९ जना आरोहीहरुले आरोहणका लागि अनुमति लिएका थिए । यी लगायत नेपालका अन्य हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट नेपाल सरकारले लगभग ७२ करोड नेपाली रुपैयाँ बराबर रोयल्टीवापत कमाई गरको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार