कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, बन्यो देशकै सबैभन्दा ठूलो पार्टी

  नयाँ बुलन्द
112 Shares


कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, बन्यो देशकै सबैभन्दा ठूलो पार्टी

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या आठ लाख नाघेको छ । १३औं महाधिवेशनमा साढे चार लाख क्रियाशील सदस्य संख्या थियो । साढे पाँच वर्षमै कांग्रेसले दोब्बर संख्या थप गरेको हो ।

यसले कांग्रेसमा जनआकर्षण बढेको देखिएको छ । १० लाख सदस्य बनाउने लक्ष्य लिएर अघि बढेको कांग्रेसले पाँच लाखभन्दा बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।

थप क्रियाशील सदस्य संख्या कांग्रेसको वेबसाइटमा इन्ट्री हुने क्रम जारी छ । यसपटक थपिएका चार लाख १९ हजार नौ सय ३९ र नवीकरण गरेका तीन लाख ८० हजार तीन सय ७८ गरी कुल आठ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा प्राप्त भएको छ । कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको हो ।

यसअघि ६० भन्दा बढी जिल्लाबाट प्राप्त एक सय एक स्थानको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा राखिसकेको छ । कांग्रेसले १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या दोब्बरले वृद्धि गरी दश लाख पुर्याउने लक्ष्यसहित नवीकरण र वितरणको काम थालेको थियो ।

जसअनुसार जिल्ला कार्यसमितिले पुराना क्रियाशीलको नवीकरण र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूले नयाँ सदस्यता वितरण गरी केन्द्रीय कार्यालयको सफ्टवेयरमा देशभरका दुई सय सात स्थानबाट नवीकरण र नयाँ सदस्यताको विवरण अपडेट हुने व्यवस्था गरिएको थियो ।

तीमध्ये अहिलेसम्म एक सय ६६ स्थानको नामावली प्रक्रिया पुर्याएर निर्विवाद रूपमा प्राप्त भएको र छानबिन समितिले ती नामावली सार्वजनिक गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

तीन वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एक भएर नेकपा बन्दा कम्युनिस्टको पूर्णकालीन सदस्य संख्या १० लाख नाघेको थियो ।

तर, फागुनमा नेकपा एकता खारेज भएपछि दुवै दल अलग अलग क्रियाशील भएका छन् । एमालेको सात लाखभन्दा बढी पूर्णकालीन सदस्य भएको बताइन्छ । त्यसआधारमा कांग्रेसको क्रियाशील सदस्य संख्या धेरै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार