फाल्गुनन्दको डाँडागाँउमा फैलियो कोरोना,१० वर्षको बालक सहित ३१ जनामा संक्रमण

  युद्धबहादुर बोहोरा
1.3k Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ फाक्तेप स्थित डाँडागाँउमा तिब्र गतिमा कोरोना संक्रमण फैलिएको छ ।

यस वडाका अन्दाजी ७० वर्षिय एक वृद्धलाई स्वास्थ्य समस्या आएपछि मंगलबार विहान विर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो ।
हस्पिटलमा जाँच गर्दा उनको अक्सिजन लेवल कम र कोरोना पोजेटिभ देखिएपछि परिवारका सदस्य सहित अन्य ३४ जनाको असार १ गते एन्टिजेन परिक्षण गरिएको र रिपोर्टमा उनका परिवार सदस्य १० वर्षिय एक बालक सहित अन्य तीन जनामा कोरोना पोजेटिभ देखिएको पालिकाका सुचना अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । यसै समयमा वडा नम्बर ४ चिलिङदेनकी एक महिला स्वास्थ्य स्वयं सेविकामा पनि कोरोना संक्रमण देखिएको उनले बताए ।

त्यसपछि बुधबार सोही वडाको डाँडागाँउका ९८ जनालाई चेक गर्दा २७ जनामा संक्रमण पुष्टि भएसंगै दुई दिनको बीचमा एकै टाेलमा जम्मा ३१ जना संक्रमित पुगेको पालिका स्वास्थ्य शाखाका प्रमुख तथा कोभिड फोकल पर्शन दिनेश भट्टराईले जानकारी दिए ।

उक्त क्षेत्रलाई सिल गर्ने साथै शंकास्पद परिवार र अन्य इच्छुक व्यक्तिलाई परिक्षणको दायरा बढाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए । स्वास्थ्य समस्या भएका जोकोही व्यक्तिले परिक्षणको लागि सम्पर्कमा आउँन पनि पालिका कार्यालयले आग्रह गरेको छ ।

अहिले सर्वत्र कोरोना संक्रमण दर दिनहुँ ओरालो लागिरहेको समयमा पाँचथर जिल्लामा पनि दैनिक संक्रमण न्यूनदर देखिए तापनि फाल्गुनन्दमा भने कसरी संक्रमण वृद्धि हुन थाल्यो त ? स्थानीयलाई चिन्ताको विषय बन्दै गएको छ ।

हालसम्म योसंगै यस पालिकामा जम्मा ६६ जना कोरोना संक्रमित मध्ये २० जना निको भएका छन् । पाँचथर जिल्लामा असार १ गतेसम्म जम्मा १५ सय ३५ संक्रमितमा नौ सय ३४ निको भएका छन् भने सात जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालय पाँचथरले तथ्यांक सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार