कृषकले तयार गरेको जैविक विषादीबाट फौजीकिरा नियन्त्रण भएको दावी

  युद्धबहादुर बोहोरा
665 Shares

 

पाँचथर : फालगुनन्द गाउँपालिकाका किसानले लगाएको बालीमा फौजीकिराको प्रकोप फैलिएपछि आफैं जैविक तथा वानस्पतिक विषादी उत्पादन गर्न थालेका छन् ।

केही समय अगाडि पालिकाको कृषि विकास शाखाबाट विषादी बनाउने तालिम संचालन गरिएको थियोे ।
उक्त तालिममा सहभागी मध्ये वडा नम्बर ६ अन्तर्गत प्रगतिशिल कृषक समुहका अध्यक्ष लोकनाथ हुँमागाँईले तालिममा सिकेका कुरा आफ्नो समुहका कृषकहरुसँग सहकार्यगरि वानस्पतिक विषादी तयार गरेका छन् ।

तालिमबाट सिकेका कुरालाई समुहमा सिकाएको र आवश्यक अनुसार सबैलाई सिकाउने उनले बताए । समुहले तयार गरेको विषादीले मकै बालीमा फैलिएको फौजीकिराको प्रकोप नियन्त्रण गर्न सफल भएको शाखाका प्रमुख सिर्जना बयलकोटीले जानकारी दिइन् ।

किसानले लगाएको विभिन्न बालीनालीमा समयमै औषधि लगाउन नपाउँदा बर्सेनि फौजीकिराको प्रकोपले नोक्सानी व्यहोर्नु परेपछि किसान चिन्तित थिए ।
अब,आफैंले सिकेको विधि उपयोगी हुने भएपछि प्रकोपबाट हैरान भएका उनीहरुमा हौसला थपिएको छ । यसको नियन्त्रण गर्न वानस्पतिक विषादी तयार गर्न शुरु गरेको उनीहरु बताउँछन् ।

अगुवा कृषक हुमागाँईले तालिममा सिकेको वानस्पतिक विषादी बनाउने विधि बमोजिम गाईको मुत्र २५ लिटरमा आधा किलोग्रामको दरले क्रमशः खोर्सानी,लसुन,नुन,निम,कालीझार,सुर्ती,सिस्नो लगायतलाई गाईको मुत्रमा आधा घण्टा पकाउने र सेलाएपछि छानेर एक लिटर विषादी रसलाई चार लिटर पानी थपेर विरुवाको फेदमा पुरै भिज्ने गरि लगाएको तीन दिनमा किरा मरेको बताए । किरा मर्न थालेपछि यसले प्रभावकारी काम गर्नेमा आफू विस्वस्त रहेको उनले दावी गरेका छन् ।

जैविक विषादी प्रयोग गर्दा बर्सेनि किराको प्रकोप नफैलिने साथै माटाेको उर्वरा शक्ति समेत वृद्धि हुने शाखा प्रमुख बयलकोटीको भनाइ छ । आगामी दिनमा सबै किसानलाई यस विधिमा लाग्न प्रेरित गराउने र घरमै विषादी बनाउने विधि सिक्नुपर्ने बताएकी छिन् ।

यस पालिकाकाका अधिकाँश नागरिक कृषि पेशामा आवद्ध रहेको हुँदा सकेसम्म कृषि क्षेत्रलाई प्राथमिकता दिंदै,प्रोत्साहन,अनुदान र आवश्यक सरसहयोग गरिने पालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार