निषेधाज्ञाको मोडालिटी परिवर्तन हुँदै

  नयाँ बुलन्द
35 Shares

निषेधाज्ञाको मोडालिटी परिवर्तन हुँदै, अनौपचारिक छलफलमा अधिकारीहरू

कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गर्ने तयारी भएको छ । जेठ मसान्तसम्म जारी निषेधाज्ञा असारबाट केही खुकुलो बनाउने तयारी भएको हो । अहिले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र सरकारी अधिकारीहरू निषेधाज्ञाको मोडालिटीका विषयमा अनौपचारिक छलफलमा रहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अहिले ३१ जेठसम्म जारी निषेधाज्ञाको मोडालिटीमा असारबाट केही परिवर्तन आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठ ३१ सम्म यही निर्णय छ । अहिले बीचमा छलफल गर्दैै छौँ । अहिले संक्रमण दरको विश्लेषण भइरहेको छ । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग निरन्तर छलफलमा छौँ ।’

निषेधाज्ञाको मोडालिटी कस्तो हुने भन्ने निर्णय नै भइनसकेको उल्लेख गर्दै उहाँले असारको पहिलो हप्ता निषेधाज्ञा केही प्रतिबन्ध फुकुवासहित जारी रहन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘असार १ गतेबाट केही रिलिज गरेर हप्ता १० दिन जान सक्छ । तर, ठ्याक्कै यही हो भन्न सकिने अवस्था छैन । पहिलो हप्ता निषेधाज्ञा जारी हुन्छ होला त्यसपछि परिस्थिति विश्लेषण गरेर के गर्ने भन्ने हुन्छ । अहिले कुनै पनि निर्णय भइसकेको छैन ।’

गृह मन्त्रालयका अधिकारीहरू पनि अहिलेको परिस्थितिको विश्लेषण गर्दै असारबाट कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भइरहेको बताउँछन् । प्रवक्ता जनकराज दाहालले अब असारबाट ‘लुजडाउन’ गर्ने योजना रहेको बताउनुभयो । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइनेछ’, उहाँले भन्नुभयो ।

संक्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रमुख जिल्ला अधिकारीलाई नै दिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्यांकले देखाएको छ ।

कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासि खोल्दा संक्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने बताउनुभयो । उहाँले सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै नखुल्ने जानकारी दिनुभयो । मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना रहेको अधिकारीहरू बताउँछन् ।

निषेधाज्ञा उल्लंघन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । अहिले नै लापरबाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारी बताउनुहुन्छ ।

ज्येष्ठ नागरिकलाई खोप

मंगलबारबाट ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन सुरु गरिएको हो ।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका वडा कार्यालयलगायतमा पाँच दिनसम्म खोप लगाइने जनाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) लगाउन सुरु गरिएको हो ।

चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै आठ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरिद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

सबै नागरिकलाई खोपको व्यवस्थापनमा प्रयत्नरत छौं : स्वास्थ्यमन्त्री तामाङ 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । मंगलबार बागमती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताउनुभएको हो ।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समूहअनुसार क्रमशः खोप दिँदै जाने बताउनुभयो । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी खोप छिट्टै ल्याउँदै छौँ । खोप आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु । खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरूका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’ बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रमअन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम मंगलबारदेखि सुरुवात गरेको छ ।

कोरोनाले मृत्यु हुने आठ हजार नाघे

मंगलबार थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या आठ हजार ९८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमी आउन सकेको छैन । सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगे पनि मृतकको संख्या घट्न सकेको छैन । कुल संक्रमितको १ दशमलव ६ प्रतिशतको मृत्यु भएको हो ।

मंगलबार थप पाँच हजार १५३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत तीन हजार ८७० जना र एन्टीजेनमार्फत एक हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय ८२ हजार ७३६ जना सक्रिय संक्रमित छन् ।

यस्तै, थप देशभर ६ हजार ५७० जना संक्रमण मुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या पाँच लाख चार हजार ५३० पुगेको छ । नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार एक हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३६ जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार