चुरे दोहनले निम्तिएको विपत् : कतै पहिरो, कतै गाउँ नै भासिने खतरा

  नयाँ बुलन्द
28 Shares

इलामको रोङ गाउँपालिकाका प्युरे, रम्याङ, मानाबुङ, खरबन, बरफल्याङ क्षेत्र पहिरोको उच्च जोखिममा, कुवापानी, दुधे, असुरेलगायत क्षेत्रमा बस्ती भासिने अवस्थामा

इलाम : इलामको पूर्वदक्षिण रोङ गाउँपालिकाको चार हजार पाँच सय हेक्टर भाग चुरे क्षेत्रमा पर्छ । मेची, सिद्धि, टिमाई, हडिया, निन्दा बिरिङ, टाङटिङलगायत नदी यही गाउँपालिका भएर बग्छ । झापाका उत्तरी क्षेत्रका स्थानीय तहले यही नदी ठेक्का लगाएर चुरे दोहन गर्छन् । कतिपयले विनाठेक्का चुरेको तल्लो भेगमा नदीजन्य पदार्थको चोरीतस्करी गर्दै आएका छन् । जसको दीर्घकालीन र प्रत्यक्ष असर चुरेको माथिल्लो भेग अर्थात् रोङ गाउँपालिकामा पर्दै आएको छ ।

चुरे दोहनका कारण रोङ गाउँपालिकाका दर्जन बस्ती पहिरोको चपेटामा छन् । बर्सेनि बर्खाको समयमा पहिरो जाँदा गाउँ नै विस्थापित हुँदै आएको छ । चुरे दोहनका कारण रोङ गाउँपालिकाभित्र पहिरोको मात्र होइन, जमिन भासिने समस्या पनि छ । रोङभित्रका विभिन्न वडाका प्युरे, रम्याङ, मानाबुङ, खरबन, बरफल्याङ क्षेत्र पहिरोको उच्च जोखिममा रहेको र कुवापानी, दुधे र असुरेलगायत क्षेत्रमा बस्ती भासिने समस्या छ । चुरेको तल्लो भूभागमा हुने अनियन्त्रित दोहनले अधिकांश नागरिककोे खेती पहिरोले बगाएको छ ।

रोङ गाउँपालिका–४ मानाबुङका हरिप्रसाद मगरको गत वर्ष १५ भदौमा पाँचकोठे घरसहित भएको सबै जमिन बगायो । गत वर्षदेखि उनी घरबाटै विस्थापित भएका छन् । ‘पहिरोले घरबारी सबै बगायो । धन्न ज्यान बच्यो । तर, बचेको ज्यानले अब के खाने भन्ने चिन्ता छ । खेती गर्ने जमिन पनि पहिरोमै बग्यो,’ उनी भन्छन्, ‘तल खोलामा जथाभावी ढुंगागिटी निकाल्दा अहिले हामीलाई समस्या आएको छ । गाउँ सबै बगाएको छ ।’

रोङ–४ प्युरेका भीमबहादुर मगर तीन वर्षअघिसम्म २८ रोपनी जग्गा र एउटा घरका मालिक थिए । धनीपुर्जाका आधारमा २८ रोपनी जग्गा अझै उनकै नाममा छ । तर, पहिरोले उनी सुकुम्बासी भएका छन् । सबै जग्गा र घर पहिरोसँगै बग्यो । अहिले उनी अर्काको घरमा शरण लिएर बसेका छन् । ‘भएको सबै पहिरोले बगाएर खोलामा मिसायो । अहिले गरी खाने एक चपरी माटो छैन । अर्काको जग्गामा बसेको छु,’ उनी भन्छन्, ‘राज्यले पनि हेरेन । तैपनि ठूलो आस छ । राज्यले हेरेन भने त हामी भोकै र खुला आकाशमुनि नै मर्छौँ ।’

रोङ गाउँपालिकाभित्र पहिरोको समस्या धेरै छ । चुरे क्षेत्रमा रहेको यो गाउँपालिकाभित्रका अधिकांश भूभाग पहिरोको उच्च जोखिममा छन् । यहाँका पहाड पहिरोका कारण छियाछिया भएको छ । बर्खा सुरु भएपछि स्थानीय रातमा निदाउन सक्दैनन् । ‘सबैतिरबाट पहिरोले घर ढाकेको छ । पानी पर्न थालेपछि कुन वेला के हुन्छ भन्ने डरले कहाँ सुत्न सकिन्छ र,’ प्युरेका नरबहादुर बस्नेतले भने, ‘अब पनि केन्द्र सरकारले ध्यान नदिने हो भने त यहाँका हामी मान्छे नै रहन्छौँ कि रहँदैनौँ भन्ने छ ।’

रोङ–२ का नारायण दाहालले लगाएको केरा खेती प्रत्येक वर्ष जाने पहिरोले बगाउँदै गएको छ । पहिरो उनको घर छेउमै पुगेको छ । ‘गरिखाने नामको यही केरा बगान पनि पहिरोले लान थालिसक्यो । अब त घरमा नै पहिरो पुग्दै छ । घर सारौँ कतै केही छैन । पानी पर्न थालेपछि साना बच्चाहरू काखमा लिएर रातभर नसुती बस्छौँ’, उनी भन्छन्, ‘सरकारलाई कतिपटक आग्रह गरियो, एउटा जाली पनि ल्याएर हालिदिएन ।’

रोङ–४ को प्युरे र वडा नम्बर–२ को बरफल्याङको पूर्वतर्फ रहेको साइटार र खर्बनी पहिरोलाई दीर्घकालीन योजना ल्याएर नियन्त्रण नगर्ने हो भने बस्तीको नामोनिसान मेटिने पहिरोपीडित इन्द्रबहादुर मगर बताउँछन् । रोङ गाउँपालिकामा दुईवटा समस्या छ– पहिलो समस्या पहिरोको र दोस्रो बस्ती भासिने । जसकारण बर्सेनि रोङवासी विस्थापित हुँदै आएका छन् । ‘पहिरोले क्रमशः बस्ती बगाउँदै छ भने केही क्षेत्रमा जमिन दबिएर घहरू नै कोल्टे परेको छ,’ रोङ गाउँपालिका–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बो भन्छन्, ‘अहिलेसम्म भौतिक क्षति मात्र भएको छ । अब पनि बस्ती स्थानान्तरण र चुरे दोहन नरोक्ने हो भने मानवीय क्षति पनि नहोला भन्न सकिन्न ।’

चुरेको तल्लो भेगमा भएको अव्यवस्थित दोहनको असर गाउँपालिकाभित्र परेको गाउँपालिका अध्यक्ष शमशेर राई बताउँछन् । गाउँपालिकाका विभिन्न वडामा पहिरो र जमिनको धाँजा फाट्ने समस्याका कारण गाउँ नै विस्थापित भएको उनी बताउँछन् । ‘जनप्रतिनिधिले चुरे दोहनका कारण यस्तो भयो भन्न त मिल्दैन । तर, विज्ञले तल्लो क्षेत्रमा हुने चुरेको चरम दोहनले गाउँपालिकाको सबै वडाको दक्षिणी क्षेत्रमा पहिरो र धाँजा फाट्ने समस्या आएको भन्ने सुझाब दिएका छन्,’ उनी भन्छन्, ‘चुरेको अव्यवस्थित क्षेत्रको दोहन रोक्न सके दीर्घकालीन रूपमा चुरे क्षेत्रलाई संरक्षण गर्न सकिन्थ्यो ।’

गाउँपालिकाका विभिन्न वडाका बस्ती विस्थापित हुँदा पनि गाउँपालिकाले मात्र पुनस्र्थापित गर्न नसकिएको अध्यक्ष राईको भनाइ छ । यसमा केन्द्र सरकार नै लाग्नुपर्ने बताए । सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमले तटबन्धमा मात्रै ध्यान दिएर चुरे नियन्त्रणलाई बेवास्ता गरेको उनी बताउँछन् ।

‘राष्ट्रपति चुरे कार्यक्रमले चुरे भत्किएको देख्दैन । तराईमा खोलाले बाँध भत्काएर बस्तीमा पसेको देख्छ । बजारमा बाढी पसेको देख्छ । देख्नुपर्नेचाहिँ चुरेमा भएको समस्याका कारण यो विपत्ति जन्मिएको भन्ने थियो । सुरुमै चुरे बचाउन पाए तल्लो क्षेत्रमा समस्या हुँदैन भनेर लाग्नुपर्ने हो,’ राईले भने ।नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार