संक्रमितको घरदैलोमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै गाउँपालिका अध्यक्ष

  बालकृष्ण बस्‍नेत  502 पटक हेरिएको

माङसेबुङ : कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना संक्रमितको अवस्था बुझ्न माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो घरदैलोमा पुग्ने गरेका छन् । गाउँपालिकाका विभिन्न वडाका संक्रमितहरुलाई घरदैलोमा नै गएर स्वास्थ्य अवस्था बुझ्ने गरेका छन् ।

होमआइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका संक्रमितको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा अध्यक्ष खटिरहेका छन् । गाउँबासीको घाउमा मल्हम पट्टि दिनु आफ्नो कर्तव्य रहेको बताउँदै अध्यक्ष इदिङ्गोले संक्रमितहरुलाई भेटेर आयुर्वेदिक औषधी वितरण समेत गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दा संक्रमितहरु समेत  खुसी भएका छन् । ‘यसरी अध्यक्ष नै आएर हाम्रो स्वास्थ्य अवस्था बुझिदिँदा हामी अत्यन्तै खुसी भएका छौं’ वडा नम्बर ५ का एक संक्रमितले नयाँ बुलन्दसँग भने, ‘यसरी नै हौसला पाए चाडैँ कोरोन जित्ने विश्वास छ ।’

अध्यक्ष इदिङ्गोले नियमलाई कडाइपूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन अनुरोधसमेत गरेका छन् । सो अवसरमा संक्रमितका लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए ।

माङसेबुङको विभिन्न वडाका ५४ जना संक्रमितले कोरोना जितिसकेका छन् । हाल ९३ जना कोरोनासँग लडिरहेका छन् । यसै सातामात्र माङसेबुङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो । तर अहिले क्रमश नियन्त्रणमा आइरहेको छ ।

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सक्रियताका साथ खटिरहेका छन् ।

माङसेबुङ ५ भालुटारको एक विद्यलयमा निर्मित आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूको सम्पूर्ण व्यवस्थापन वडाले गरिरहेको छ । संक्रमितको हेरचाहको संयोजन वडा अध्यक्ष नरेन्द्र राईले नेतृत्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार