महतोको अभिव्यक्तिप्रति नेपाल-खनाल पक्षले माग्यो प्रधानमन्त्रीसँग जवाफ

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरुले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकपछि जारी संयूक्त विज्ञप्ति जारी गर्दै महतोको अभिव्यक्ति संविधानको मर्म विपरित रहेको जनाउँदै कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने जनाएका छन् । उनीहरुले उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट जवाफ माग समेत गरेका छन् ।

उपप्रधानमन्त्री पदमा नियुक्त महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय भएको उनीहरुको निष्कर्ष छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार