टेम्पल स्ट्रिटको नालीबेली ‘नियात्रा’

  भीम राई  81 पटक हेरिएको

भीम राई

दिउसोको २ बजेर २० मिनेट जाँदा छाङ्सादेखि चढेको बुलेट ट्रेन (जी ७३) सेनजेन सहरमा पुगेर रोकिने तरखर गर्दै थियो । लगभग साढे तीन घण्टाको यात्रा सकिनै लागेको त्यस समयमा बेलुकीको सूर्य उदयीमान सहर सेनजेनको गगनचुम्बी महलहरुको शिरमा अस्ताउने प्रयत्न गरिरहेको थियो । तारा र मैले त्यसबेला दुईहप्ते चीनको भ्रमण सक्नै लागेका थियौ । हामीले त्यस भ्रमणको क्रममा बेइजिङ्, शङघाई र हुनान प्रान्तको रमाइलो यात्रा गरेका थियौ र हाम्रो दोश्रो अध्यायको लागी हङकङको यात्रा तय भएका थिएँ ।

बेलुकीको ५ बजेर ४५ मिनेट जाँदा अति बेगमा गुडने बुलेट ट्रेन सेनजेन सहरको उत्तरी रेल अड्डामा पुगेर बिना आवाज रोकिएको थियो । त्यति गतिमय ट्रेन रोकिने बितिक्कै धैर्यता गुमाएका चिनिया यात्रुहरु हतार हतार आफ्ना सिटदेखि झर्न सुरु गरिहाले । तर हामी चाँही ट्रेनदेखि झर्नको लागि अलिक समय लगाइ रहेका थियौ । किनभने रेलदेखि बाहिर जमिनमा निस्कने बितिक्कै हङकङ जानको लागि कतातिर जानुपर्ने होला भनेर मनमनै सानो पिर परिरहेका थियौ ।

बिश्वको दोश्रो ठूलो अर्थतन्त्र भएतापनि चीन साम्यबादी राष्ट्र भएको हुनाले प्रायजसो सामाजिक सन्जालहरुलाई प्रतिबन्ध लगाइएका छन् । छिट्टफुट्ट चीनमा बनेका सन्जालहरु बाहेक इमेल र गुगलहरु जम्मै प्रतिबन्धित भएको हुनाले ‘गुगल नक्शा’ को त्यहाँ कुनै काम छैन । त्यसैले होमरको पुस्तक शाहसिक यात्रा झै जतिसुकै साहसिक यात्रृ बनेर पटक पटक चीनको भ्रमणमा गएपनि भाषा र नक्शाको कारणले हरेक कुरोको सुचना प्राप्त गर्न मानिसहरुलाई निक्कै हम्मेहम्मे परिरहने गर्दछन् ।

खास गरेर चीन भ्रमणको बेला त्यहाँको भौगलिक नक्सालाई मात्रै दोष दिइराख्न अलिक न्यायोचित नहुन पनि सक्त्तछ । आफ्नो जीवन बिताउने क्रममा दशकौ बर्ष हङकङमा बसेको भएतापनि अहिले मानिसहरुले ‘दिमा’ भन्दै क्यान्टोनिज भाषा बोलेको सुन्दा उहिले कताकता सुनेको जस्तो मात्र लाग्ने गर्दछ । झन मेरो म्याण्डरिन भाषा त गतिलो छँदै थिएन । त्यसैले म्याण्डरिन भाषा बोल्न नजाने पछि र अङ्ग्रेजी भाषा बोल्ने चिनियाहरु लरतरले नभेटेपछि हाम्रो यात्रा कुनैबेला फलामको च्युँरा चपाउन झै कठिन भइरहेको थियो ।

हुनत बिश्व भरिका मानिसहरुले बोल्ने बिभिन्न थरिका भाषाहरु पनि एउटा अचम्मैको चिज रहेछ । जस्तो कि त्रिभुवन बिमानस्थल छाडेर बिमानले ‘भिक्टर २’ को गति लिए सँगसँगै नेपाली भाषाले मृत्युबरण गरि हाल्छ । खयर अरु भाषाको त कुरै छाडौ । बिश्वको प्रमुख भाषा मानिने अङ्ग्रेजीकै कुरो गर्ने हो भने पनि लण्डनदेखि रेलयात्रामा २ घण्टा जति टाढा रहेको सहर पेरिस पुग्दा त्यो भाषा पनि खलास भइसकेको हुन्छ । बरु कसोकसो फ्रान्समा भन्दा चीनमा नै अलिक धेरै अङ्ग्रेजी बोल्ने मानिसहरु सँग भेट हुँदा थोरै राहत मिलेको जस्तो महसुस भएको थियो ।

बिषय बस्तु अन्ततिर नमोडेर हाम्रो यात्राकै कुरो गरौ । चिनिया यात्रृहरु रेलदेखि बाहिर निस्केपछि हामी पनि उनीहरुको पछिपछि निस्केका थियौ । बाहिर निस्केर केहिबेर उनीहरु सँगसँगै हिडेका थियौ । तर एकैछिनमा उनीहरु दायाँबायाँ हराइ हाले । हामी अचानक स्टेसनदेखि पश्चिम दिशाको बाहिर निस्कने ढोका नजिकै पुग्यौ । त्यसपछि एकछिन दोधारमा परिरह्यौ । अरे ! यता होइन रहेछ भन्दै आफ्ना पयरहरुलाई सर्लक्कै १८० डिग्री घुमाएर पुनः पहिले रेलदेखि झरेको स्थानमा फिरयौ । हो, त्यसबेला हाम्रो केबल समय मात्र नष्ट भएको थिएन । ताराको अनुहार पनि हल्का लाल बर्णमा परिणत भइसकेका थिएँ ।

मैले उनको अनुहारलाई एक झलक राम्ररी नियाले र लामो श्वास प्रश्वास लिएँ । तर त्यसरी उनको मुहार हेर्दैगर्दा मेरो मुखदेखि एक्कैशब्द फुत्किन सकिरहेको थिएन । त्यसैले म केहि नबोलि अगाडि बढदै गएँ । थोरै अगाडी पुगेपछि एउटी चाइनीज युबतीलाई, ‘मलाई माफ गर्नोस, के हामीलाई हङकङ जाने कोच स्टेसन देखाइ दिन सक्नु हुन्छ ?’  खियाँ परिसकेको मेरो म्याण्डरिन भाषामा उनलाई प्रश्न गरे । मेरो उँच्चारण बिग्रेको लवज सुनेर उनी मसक्कै मस्किन तैपनि कुरो बुझिन र कोच स्टेसन जाने बाटो देखाइ दिइन ।

कोच स्टेसन जाने बाटो पत्ता लगाएपछि केहिबेर अगाडी हराएको खुशीलाई फरक्कै फर्काएर हामी हिडदै अगाडी बढ्यौ । स्टेसनको आगन्तुक कोठामा छिर्ने बितिक्कै ‘सियाङ्गङ्’ भनेको मात्र के थिएँ । स्टेसनका कर्मचारीले नजिकै रहेको कुर्सिमा बस्ने आदेश गरि हालिन । उनको कुरो सिध्दिन नपाउदै कुर्सिमा बसिहाल्यौ । तैपनि अब के हुने होला भनेर मनभित्र थोरै खुलदुली उब्जिरह्यो । बास्तवमा सेनजेनदेखि हङकङ जानको लागि हामीसँग अन्य उपायहरु पनि प्रशस्तै थिएँ । तर हाम्रो यात्रामा सबैभन्दा सस्तो चाँही कोचदेखि नै हुन्छहोला भन्ने भित्रि हृदयमा लागिरहेको थियो । त्यसैले एक-एकवटा सुटकेस गुडाउदै हामी कोच स्टेसनमा पुगेका थियौ ।

हामी आगन्तुक कक्षामा पुग्दा अनुहार अध्याँरो बनाएका दुई-चार जना चिनियाहरु देखिएका थिएँ । उनीहरु कहाँ बाट आएका थिएँ । र, कता हिडेको होला भनेर मलाई केही अत्तोपत्तो थिएन । तर मैले तिनै साम्यबादी राष्ट्रमा चिनिया मानिसहरुको सामाजिक जीवन बारे डा. हर्बट स्पेन्सरको ‘सोसियल इभोलुसन’ सिदान्तको बिषयमा सोचेर आँधा घण्टा जति समय नष्ट गरे । किनभने केहिबर्ष अगाडी तीनै अङ्ग्रेजी समाज शास्त्रको पिता स्पेन्सरलाई मट्टि दिनको लागि उनको समाधिस्थल ‘हाइगेट’ पुगेको थिएँ ।

सेनजेनको समय आफ्नै गतिमा बहदै गइरहेको थियो । केहिबेरमा स्टेसनका कर्मचारीले हामीलाई पछाडीको ढोकादेखि बाहिर कोच पार्कमा जाने सङ्केत गरिन । उनले इसारा दिने बितिक्कै सुटकेस गुडाउदै हामी बाहिर निस्क्यौ । र, सिधै अगाडी पार्क गरेर राखेको कोचमा चढ्यौ । सिटमा बसेको एकैछिनमा ठिसिसी आवाज सहित चालकले कोचको हेन्डब्रेक खोले त्यसपछि कोच अगाडी बढन थालिहाल्यो । कोचमा हामी दुईजना मात्रै थियौ । त्यसबेला सबैभन्दा ठूलो आश्चर्य त के भइरहेको थियो भने, ‘के पुरै कोच हामी दुईजनाको लागि मात्र हो ?’

कोच सेनजेनको मूल सडकमा निस्केपछि, ‘एउटा बिरालो कालो होस वा सेतो मुसा मारयो भने ठिक्छ,’ भनेर सहरको अनुहार परिवर्तन गर्ने मूख्य योजनाकार तीनै फुच्चे देङ् सायो पिङको याद मेरो आँखाभरी नाँचीरहेको थियो । उचाँइमा म भन्दा लगभग आँधाफिट होचो तर भिमकाया आँट बोकेका देङ्ले सेनजेनलाई जस्तो कल्पना गरेका थिए, त्यस्तै बनाउन शफल रहेका थिएँ ।

देङ् साओ पिङ्को सपनाको सहर सेनजेनको त्यति ठूलो सडकमा आधा घण्टा जति गुडेपछि हङकङ अध्यागमन कार्यलय अगाडी पुगेर कोच रोकिएको थियो । कोच रोकिएपछि चालकले सिधै अगाडीको अध्यागमन कार्यलयमा जानको लागि हामीलाई हातले इसारा गरे । उनले इसारा दिने बितिक्कै सुटकेसहरु त्यँही छाड्यौ र कोचदेखि सरासर बाहिर निस्क्यौ । सडकमा झरेर पेटिमा केहिबेर हिडेका मात्र के थियौ । चालकको ठूलो हर्न बजाएर पुनः हामीलाई कोचमा फर्कनको लागी सङ्केत गरयो । हामी कोचभित्र फर्केर आएपछि आ-आफ्नो सुटकेसहरु निकालेर सँगसँगै लानको लागी उनले आदेश जारि गरयो ।

एबम प्रकारले बाइरोडको बाटोमा धुलो उँडाउदै आरण्यप्रथेट, थाइल्याण्ड देखि कम्बोडिया जाँदा होस वा सिङ्गापुर देखि मलेशिया पुग्दा होस सुटकेस कोचमा नै राखेर अध्यागमन पार गरेका हामीसँग रमाइलो अनुभव थियो । तर सेनजेनदेखि हङकङमा जाँदा अलिक फरक नियम लागु हुनेरहेछ भनेर तारालाई सम्झाउन थालिसकेको थिएँ । मेरो भनाईलाई पूर्णबिराम चिन्ह दिन नपाउदै, ‘टिकट त हङकङ सम्म पुग्ने काटेको होइन र ?’ मुख बङ्याउदै उनले सोधि हालिन । प्रश्नको प्रति उत्तरमा ‘हो वा होइन’ के भन्ने होला भनेर एकछिन दोधारमा परिरहेको थिएँ । तर उत्तर दिन पाउँदा नपाउँदै हामी सिमानाका लोहउ अध्यागमन कार्यलयभित्र छिरीसकेका थियौ ।

हङकङको पश्चिमी सिमानामा रहेको अध्यागमनको प्रकृया पुरा गरेर बाहिर निस्कदा लहरै पार्क गरिएका पब्लिक लाइट बसहरु देखापरेका थिएँ । त्यतिका धेरै बसहरु देखेपछि हामी सुस्तरी हिडदै एकजना चालकको नजिक पुग्यौ । यसो कतै काम लागि हाल्छकि भनेर मैले सेनजेनमा काटेको कोचको टिकट उनलाई एकपटक देखाइ हेरे । उनले सबैभन्दा अगाडीको मिनिबसमा चढनको लागि मुन्टो हल्लाएर सङ्केत गरे । अब सोहि टिकटले काउलुन सम्म भरपर्दो यात्रा हुनेरहेछ भनेर ताराले चाल पाएपछि एक्कासि उनको मुहारमा खुशिका लहरहरु परिबर्तन भएर आइहाल्यो ।

साम्यबादी राष्ट्र चीनको माटोलाई सधैको लागि छाडेपछि प्रशन्न मुद्रामा हङकङको भूमीलाई टेकिरहेको थियौ । खै किन हो किन ? हङकङ मलाई नेपाल पछिको दोश्रो घर झै लाग्ने गर्दथ्यो । बस बाट लगभग साँढे २ घण्टा यात्रा गरेपछि काउलुन सहरमा अबस्थित नाथन रोडमा पुगेका थियौ । हामी त्यहाँ पुग्दा समय रातको १० बजिसकेको थियो । तैपनि झिलिमिली बत्तिको प्रकाशले काउलुन सहर धपक्कै बलिरहेको जस्तो आभास भएको थियो । त्यति धेरै उज्यालोमा मानिसहरुको चहलपहल बिसदेखि उन्नाइस भएका थिएनन् । हामी पनि तिनै भिडभित्र मिसिएर निक्कै लामो समयसम्म नाथन रोडको पेटिमा हिडीरहेका थियौ । त्यसपछि नजिकै रहेको एउटा पाहुना घरमा पुगेर धेरैबर्ष पछि हङकङमा पहिलो रात बिताएका थियौ ।

१५ नोभेम्बर २०१७ को दिन त्यहाँ पुग्दा हामी थाकेर लखतरण भएका थियौ । लामो र पट्यारिलो यात्राले रुग्न शरिरलाई भोलि बिहान अबेलासम्म होटलमा लडाइ राख्यौ । बिहान सुस्तरी उठेपछि नजिकै रहेको भुटुने रेस्टुँरामा तात्तातो डिमसम र भुलभुल उम्लदै गरेका गोरुको आन्द्राभुँडी हसुरेपछि बल्ल जिउमा ताकत भरिएका थिएँ । शरिरमा पुरै ताकत भरेर भष्मशुर झै शक्त्तिशाली भएपछि दुईतले बसमा चढेर सिधै स्टारफेरी तिर घुम्नको लागि हुँइकिइ हाल्यौ । दिनभरी स्टारफेरीको वरिपरी मात्र नघुमेर निक्कै लामो समयसम्म हङकङ हारबर पारी देखिने हङकङ टापुको रमाइलो नजर लगाइ रह्यौ ।

त्यस दिनको बेलुकीपख हामी हिडदै टेम्पल स्ट्रिटतर्फ जाने निधो गर्यौ । टेम्पल स्ट्रिट, जोर्डन र याउमातीको बिचमा रहेको सर्बाधिक लोकपृय रात्रिकालिन बजार हो । सडकमा पुरै यातायात बन्द गरेर हरेक दिउसोको २ बजेदेखि सुरुहुने रात्रिकालिन बजार रातको ११ बजेसम्म चल्ने गर्दछ । स्थानिय ब्यापारीहरु तथा बिदेशी पर्यटकहरुको निक्कै भिड लाग्ने त्यो बजारलाई यदाकदा ‘पुरुष बजार’ पनि भन्ने गरिन्छ । किनभने त्यहाँ पुरुषहरुले लगाउने लुगाफाटा देखि बिजुलीका सरसमानहरु खरिद गर्न सजिलै सकिन्छ । तर महिलाहरुको लागि भने काउलुनकै ‘टोङ चोइ स्ट्रिट’ मा अर्को बजार लाग्ने गरेको छ ।

यदि तपाईलाई पनि टेम्पल स्ट्रिट जाने रहर लागेको छ भने भूमिगत रेल ‘मास ट्रान्जिट रेल’ (एमटिआर) को जोर्डन स्टेसनको बाहिर निस्कने ढोका ‘ए’ अथवा याउमाती स्टेसनको बाहिर निस्कने ढोका ‘सि’ बाट बाहिर निस्कन सक्नुहुन्छ । तिनै मूख्य द्वारहरुदेखि बाहिर निस्कने बितिक्कै रात्रिकालिन बजार तपाईको सिधै आँखा अगाडी पर्दछ । मलाई त्यो बजार इस्तानबुलको ग्राण्ड बजार जस्तो झकिझकाउ नलागे पनि करिब एकशय बर्ष पहिले सन् १९२० देखि सुरु भएको हुनाले निक्कै पुरानो जस्तो लाग्छ । सायद त्यसैले होला, हङकङ भ्रमणमा रहेका हरेक पर्यटकहरु एकचोटी त्यहाँ पुग्ने गरेका छन् । त्यस बजारको नाम चाँही निक्कै लामो इतिहास बोकेको मन्दिर ‘टिन हाउ टेम्पलको’ नाम बाट ‘टेम्पल स्ट्रिट’ रहन गएको हो । जुन मन्दिरलाई चिनिया छिङ्ग राजकिय शासनले सन् १८७६ मा निर्माण गरेका थिएँ ।

फुच्चे किराँतीको स-सानो कानै खाने गरेर टिटिटि आवाज दिने नाथन रोडको जेब्रा क्रसिङ पार गरेर केहिबेर अगाडि हिडेपछि हामी टेम्पल स्ट्रिट भित्र छिरीसकेका थियौ । किनभने त्यहाँ चिनियाहरुको ठूल्ठूला होहल्ला सुन्न थालिएको थियो । उनीहरुको होहल्ला मात्र नभएर रङ्गि बिरङ्गि बत्तिको प्रकाशले टेम्पल स्ट्रिटको रात्रिकालिन बजार जिवित देखिएका थिएँ । सुस्तरी हिडेर केहि खुद्रा पशलहरुलाई छिचोलेपछि जताततै उपलब्ध हुने एउटा ‘सेभेन इलेभेन’ पशल अगाडी पुगेका थियौ । तीनै पशलदेखि अति चमकदार पहेलो भेष्ट लगाएका दुईजना मान्छेहरुले हातमा सानमिगल बियरका क्यानहरु बोकेर बाहिर निस्कदै गरेका दृश्य देखापरेको थियो । तिनै श्रमिकहरुलाई देख्दा मलाई लामालामा दार्ही जुङ्गा पालेका कार्ल हेनरिक मार्क्सको यादले सताउन थाल्यो । किनभने तिनै मजदुरहरुको खातिर मार्क्सले जिन्दगि भरी बर्ग सँघर्षको कल्पना गरिरहेका थिएँ ।

सेभेन इलेभेनको पशल पार गरेपछि दाहिने कुनादेखि लेमन घासको मिठो सुगन्ध हावामा मिसिएर मेरो नाक नजिक आएर ठोकियो । त्यति मिठो सुगन्धले लहस्याएर मेरा पयरहरु स्वस्फुर्त त्यस दिशातिर आफै अघि बढिरहे । भित्ताको पर्खाल नजिकै पुगेर साइनबोर्ड हेर्दा केहि चाङ्ग बियरका बोतलहरु र थाई करीको तश्बिरले मलाई निक्कै लामो समयसम्म आकर्षण गरिरहयो । त्यो भन्दा अगाडी टेम्पल स्ट्रिटमा थाई रेष्टुँरा कहिले देखेको थिइन । अबदेखि उसो हङकङमा पनि बैकंकको याद दिलाउने स्थान रहेछ भन्ने मनमनै लागिरह्यो । बिचरो थाइ रेष्टुँरालाई एक्लै छाडि राखेर हामी क्रमशः एकसुरमा अगाडी बढिरह्यौ । तर त्यसरी हिडदै अगाडी जाने क्रममा स्ट्रिटको जमिन मुनिदेखि फोहर मैला बग्ने ढलको मुखमा घरिघरि पुग्दा ह्वास्सै दुर्गन्ध नाकभित्र अनायसै छिर्थ्यो भने रेस्टुँराहरुको ठिक सामुन्ने पुग्दा मिठोमिठो सुगन्ध आउने गरिरहन्थ्यो ।

हामी हिडदै जाँदा मूख्य सडकको अलिकति दाहिने कुनामा हो चि मिन्हको जस्तो बोके दार्ही पालेका तर तालु खुइले एकजना बुढो चिनियाले एउटी अधबैसे आइमाईको हस्तरेखा हेरिरहेको दृश्य मेरा आँखा सामुन्ने परयो । बिचरी ती आइमाई त्यतिन्जेल सम्म अभागी थिइन होली ? त्यसैले पण्डितलाई हात हेराउदै आफ्नो भाग्य परिक्षा गरिरहेकी होलिन भन्ने मलाई मनमनै लाग्यो । उनको नजिकै हातहेर्ने कोर्ने केहि अन्य पण्डितहरु थिएँ ।

गान्धीको जस्तो चश्मा लगाउने एकजना पण्डितको दाहिने तिर प्लास्टिकले तीनतिर बारेको एउटा अमेरिकन जिन्सको पशल देखा परयो । जिन्स पाइन्टहरुको दाम ४०-४५ अमेरिकन डलर पर्छ भन्ने हातले लेखेको सानो साइनबोर्ड बङलङ्गै उतानो फर्काएर मालिक आफ्नो ग्राहक तिर भन्दा हातमा कपि र कलम पक्रेर छिमेकीको टेलिभिजन तिर ध्यान दिइरहेका देखिन्थे । किनभने त्यसबेला टेलिभिजनको पर्दामा ह्याप्पि भ्याल्लि रेस कोर्समा भइरहेको घोडा दौडको प्रत्यक्ष प्रशारण भइरहेको थियो ।

घोडा दौडदेखि नजर भगाएर सिधै अघि बढदै गर्दा हाम्रा नयनहरु अचानक कम्प्याक्ट डिस्कका पशलमा परे । असिको दशकमा तिनै सिडी पशलहरुमा म्याडोनाको (लाइक ए भर्जिन) र माइकल ज्याक्सनका (बिट इट) र एलभिस प्रेस्लीका (डन्ट बि क्रुल) गितहरु बजिरहेका सुन्न सकिन्थे । तर समयले सोचेको भन्दा धेरै परिबर्तन गरिसकेको रहेछ । किनभने त्यसदिन अङ्ग्रेजी गितको सट्टा अल्प आयुमा देहाबसन भएकी प्रख्यात ताइवानिज गायिका टेरेशा वङ्गको सर्बाधिक लोकपृय म्याण्डरिन भाषाको गित ‘म तिमीलाई माया गर्छु’ (व आइ नी) बजिरहेको थियो ।

टेरेशाको लोकपृय गित सुनेर मलाई आफु यौबन हुँदाको यादले त्यसबेला खुबै सतायो । तीनै यादलाई मेटनको लागि तारातर्फ फर्केर उनको अनुहार सरसर्ती पढने प्रयत्न गरे । तीनपत्र चाउरी परिसकेको उनको अनुहार देख्दा, ‘भेनिसको साहु’ कथाको पात्र जेशिकाले ‘प्रेम अन्धो हुन्छ,’  भनेझै म पनि करिब ३५ बर्ष अगाडी प्रेममा अन्धो भएर उनीसँग बिबाह बन्धनमा बाँधिएको थिएँ । सर्बश्रेष्ठ लेखक जेफरी चाउसरले कोरेका उक्त्त हरपले भन्दापनि हामी दुवैजनाको उमेर क्रमशः ढल्दै जाने क्रममा, ‘जिन्दगी एउटा फूल हो, मह त्यस्को प्रेम हो,’ भिक्टर ह्युगोको जादुमय युक्त्ति र मह जतिकै गुलियो हाम्रो प्रेमलाई स्ट्रिटमा निक्कै लामो समयसम्म सम्झिरहेको थिएँ ।

बिगतमा भए नभएका अनेक कुरोहरु सम्झदै तिनै सिडी दोकानको छेउमा एकाध उँभिरहेको थिएँ । त्यसैबेला मैले यसो मेरो मुन्टो दाहिने तिर फर्काएको मात्र के थिएँ । एकजना परिवार नियोजनको अस्थायी साधन ब्यापारी ठिटोले हातमा एउटा ढाल उँचालेर देखाउदै म सँग बोल्न थाले । ‘मित्र ! यी लिनुहोस ! यो एशियनहरुलाई सुहाउने हो । यो भन्दा अलिक ठूलो चाँही युरोपियन मानिसहरुलाई सुहाउने खालको छ । त्यो भन्दा थोरै ठूलो अमेरिकनहरुको लागि हो । हेर्नुहोस ! अनि यो चाँही सबैभन्दा ठूलो हो जुन अफ्रिकनलाई अति सुहाउने छ ।’

ढाल ब्यापारीको कुरो सुनेर मलाई फिस्सै हासो उठ्यो । तर मलाई त्यसबेला पूर्व साम्यबादी राष्ट्र चेकको राजधानी प्रागको यौन शङ्ग्राहलयमा पुगेको उनले झल्यास्स स्मंरण गराइ दियो । अहँ ! त्यति मात्र कहा हुनु र ?  अझ उनले, ‘मलाई एशियन आकारको ठेक्कै मिल्छ,’ भनेको सुन्दा टोरोन्टोको यौन पशलको खुब याद आयो । किनभने भाटभटेनी सुपर स्टोरभन्दा अझै ठूलो भुमिगत टोरोन्टोको यौन पशलमा मैले रबर द्वारा बनेका नक्कली युबती सुश्री साकुरा सानको नजर मार्दैगर्दा त्यस दोकानमा कामगर्ने तर हेर्दा बिस-बाइस बर्षकी जस्ती देखिने क्यानेडियन तरुनीले, ‘महाशय ! यो चाँही तपाईको उँचाई अनुसार ठेक्कै मिल्छ,’ भनेर हावा भरिएको एउटी नाङ्गो भुङ्गो खेलौना युबती ल्याएर मेरो सामु उभ्याइ दिएकी थिइन ।

उनको त्यस्तो कुरो सुनेपछि, ‘मेरो उँचाई त तपाईसँग पनि मिलीहाल्छ नि, किन नमिल्ने र ?’ भन्न मन लागिरहेको थियो । तर पूर्व गोरखा सैनिक भएको हुनाले म अति इमान्दार मानिस थिएँ, त्यसैले केहि भन्न सकिन । बरु मौकाको फाइदा उठाउँदै उनले अझै थप्दै गएकी थिइन, ‘मलाई भरिपूर्ण बिश्वास गर्नोस । यो रबर बाट निर्मित भएतापनि कुनैपनि हालतमा हामी जस्तो कामुक युबतीहरु भन्दा केहि कमि छैनन् ।’ उनको त्यो जादुमय बोलिले मलाई केहिबेर आकर्षण गरि रहेतापनि थोरै सरम लागेर आयो । अझ अनुहारमा सरर रगत बहिरहेको अनुभब गरिरहे ।

यौन पशलको अगाध स्मंरणमा म डुबिरहँदा ताराले दाहिने तिरको दोकानमा टिसर्ट किन्नको लागि हेर्दै थिएन । बास्तवमा हामी जहाँजहाँ पुगेका हुन्थ्यौ, ‘म त्यहाँ पुगे,’ भन्ने टिसर्ट लगाएर उनले सम्झना स्वरुप तश्बिरहरु लिने गरेकी थिइन । मनोबिश्लेषक फ्रायडले भनेझै, ‘हरेक मानिसहरुको सोख फरक फरक प्रकारका हुन्छन ।’ त्यस्तै ताराको पनि अनेकन बिचारहरु थिएँ । तर मेरो चाँही नया टिसर्टमा त्यति धेरै सोख थिएन । तैपनि उनी प्रति सकरात्मक बिचार राखि रहने गर्दथे ।

हुनत तारा र मेरो बिश्व भ्रमणको क्रममा कम्बोडिया देखि कोलम्बिया सम्म पुग्दा मात्र नभएर रुश देखि अमेरिका सम्म पुगेर त्यस्तै टिसर्टहरु पहिरण गरेकी तश्बिरहरु उनले सङ्कलन गरेकी थिइन । र, फुर्सतको समयमा बिगतको तीनै इतिहासलाई उधारेर तश्बिरमा हेर्ने गरेकी थिइन । नभन्दै त्यसबेला पनि १ सय हङकङ डलर खर्च गरेर, ‘म हङकङलाई प्रेम गर्छु,’ भन्ने एउटा टिसर्ट उनले खरिद गरि हालिन ।

ताराले टिसर्ट खरिद गरेपछि हाम्रा पाइतालाहरु टेम्पल स्ट्रिटमा क्रमशः अगाडी बढन थाले । त्यसरि हिडदै गर्दा सडक पेटिको बायाँतिर अचानक एउटा नेपाली रेस्टुँरा देखा परयो । आफ्नो मनको कामना पुरा गर्ने ‘मनकामना’ नाम राखिएका उक्त्त रेष्टुँरा देखेपछि हामी हिडदै त्यसको नजिकै पुग्यौ । १६५ टेम्पल स्ट्रिटमा रहेको उक्त्त नेपाली रेष्टुँरा त्यसबेला बन्द थियो । खै किन बन्द भयो होला ? त्यो चाल पाउन त सकेनौ । तर रेस्टुँरा बाहिर साइनबोर्डमा यहाँ नेपाली तथा भारतिय खानेकुरो पाइन्छ भन्ने लेखिएको देख्दा हर्षले प्रफुल्लित भएका थियौ ।

यदि कुनै कसम नखाइ साँचो कुरो बताउने हो भने एकाइसौ शताब्दीको समयमा हामीले नेपालमा भन्दा नेपाल बाहिर धेरै नेपालीहरु भेटदै आएका थियौ । हङकङ र सिङ्गापुरमा मात्र के कुरो गर्ने र ? भूमध्य सागरमा अबस्थित बलेरिक टापुहरुको समुहमा पर्ने ‘मार्लोका’ टापुदेखि लिएर क्यानरी दीप समुहमा रहेको ‘लान्जारोटी’ दीपमा समेत मिठो मुस्कान सहित ‘चिकन टिका मशला’ बेच्दै गरेकी नेवार्नी बैनीहरु सँग पटकपटक भेटेका थियौ ।

अझै त्यतिले मात्र यो मन के मान्थ्यो र ? प्लम स्ट्रिट, लण्डनको चिसोमा तात्तातो मोमो बेच्ने गुरुङ्सेनी बैनीदेखि सेन्ट्रल पार्क, न्युयोर्कमा ‘डाउन टाउन मानहटन’ को नक्शा बेचिरहेको शेर्पा भाईसँग अन्तरक्रिया गरेका थियौ । तर एकबारको यस जुनीमा सबैभन्दा रमाइलो त हामीलाई त्यसबेला लागेको थियो । जतिबेला जोरबारु, मलेशियामा सुगन्धित खैनी बेचिरहेको मृदुभाषी राई भाइ मात्र नभएर मीना बजार, दुबाईमा भेटिएका लिम्बु भाइले मरुभूमिमा पाइने खजुरको सट्टा नेपालीको तिर्सना पुरै मेटाइ दिएका थिएँ ।

टेम्पल स्ट्रिटमा निकैबेर हिडेर थाकेपछि तारालाई हल्का भोक लागेर आयो भनिन । उनको बोलि सुन्ने बितिक्कै यसो दायाँ बायाँ हेरे । हामी जुन ठाउँमा उभिरहेको थियौ । त्यसको ठिक बायाँतिर डबलिमा ‘टोङ्लाइ सि फुड रेस्टुँरा’ भन्ने साइनबोर्ड देखा परयो । त्यस रेस्टुँराको छाँतीमा पुरै बाटो ढाकेर हरिया प्लास्टिकका कुर्सिहरु राखिएका थिएँ । ४-४ वटा कुर्सिहरुको बिचौबिच भागमा हल्का निलो रङ्गका प्लाष्टिकको टेबलहरु सजिएका थिएँ । हामी हिडदै गएर एउटा खाली टेबलका नजिकै पुग्यौ र केहिबेर त्यँही उभिरह्यौ ।

हामी त्यहाँ उभिरहँदा खाना पकाउने ठाउँदेखि त्यति ठूलो ग्यासले छाडेका भुरुरु आवाज हाम्रो कानसम्म आइरहेको थियो । हाम्रो अलिक बायाँ तिर भित्तामा राखिएको एउटा गोलो तर जाली पङ्खाले छाडेका चिसो हावा घरीघरी हामीलाई र घरिघरी सबै प्वाख उखेलिएर नाङ्गा भुङ्गा भएका तर ओरालो मुन्टो झुन्डिएर आत्महत्या गरेका जस्ता देखिने हासका बथानहरुलाई दिइरहेको थियो । रेस्टुँराको देब्रे कुनामा एकजोडी पश्चिमी पर्यटकहरुले चपस्टिक प्रयोग गरेर खाना खादै गरेको रमाइलो दृश्य देख्न सकिन्थ्यो । ती बुढाबुढीले एक-आपसमा स्काउच लयमा बोलेको सुनेपछि लिभरपुलदेखि घुम्न गएको होला भन्ने मैले मनमनै ठम्याएको थिएँ ।

हामी त्यसबेला सम्म सडकमा भएको खाली टेबलको छेउमा उँभिरहेको थियौ । केहिबेरमा गोरुको भित्राश भुलुलु उम्लिरहेको ठाउँ नजिकै उँभिरहेकी एकजना अधबैशे बेयरा थोरै मस्किदै हाम्रो नजिक आइ पुगिन । उनले एउटा हातमा भिजेको थाङ्ना र अर्को हातमा प्लास्टिकले ढाकेको दुईपन्ने मेनु बोकिरहेकी थिइन । उनी हाम्रो नजिक आउने बितिक्कै थाङ्नाले टेबललाई एकचोटी स्वाट्टै पुछिन र, ‘कतिजना हो ?’ बिना बिनम्रता पुर्बक सोधिन । तारालाई असाध्यै भोक लागिरहेको थियो । नत्रभने उनको ब्याबहार देखेर म हिडि हाल्यौ कि भएको थिएँ । तर चिनियाहरुको मानमिजास हामी नेपालीहरुको भन्दा अलिक कमि नै हुन्छ भन्ने मलाई राम्रै थाहा थियो । त्यसैले दाहिने हातको दुईवटा औला उठाएर प्रति उत्तरमा दुईजना भन्ने सङकेत गरे । त्यसपछि, ‘बस्नुहोस,’ भनेर उनले आफ्नो बाटो तताइ हालिन ।

हामी कुर्सिमा थपक्कै बस्ने बितिक्कै ताराले मेनुलाई ओल्टाइ पल्टाइ गर्न थालिन । मैले मेनुलाई छुनेसम्म पनि प्रयत्न गरिन । किनभने म के खान वा पिउन चाहन्छु भनेर पहिले नै थाहा थियो । त्यसैले मेनु हेरेर माग्नुको साट्टो औलाले घोचेर खानेकुरो देखाउनको लागि अघिदेखि तयार भएको थिएँ । केहिबेरमा बेयराले एकजग चाइनिज चिया र दुईवटा कपहरु लिएर पुनः हाम्रो सामु उपस्थित जनाइन । उनले चिया ल्याउने बितिक्कै एककप तारालाई र अर्को कप मेरो लागि सारे । चियाको पहिलो सिरिप घाँटीदेखि ओरालो झर्न नपाउदै मेरो नजर बायाँ कुनातिर परयो । जहाँ शिसाको ठूल्ठूलो भाँडोमा भुलुलु पानी उम्लिरहेको थियो ।

‘टोङ्लाई सि फूड रेस्टुँरा’ को तीनै ठूल्ठूलो शिसाको भाँडोभित्र बिभिन्न प्रकारका माछा, झिङ्गे माछा, गँगटा र शँखे किराहरु पालेर राखिएका थिएँ । मलाई शिसाको भाँडोभित्र राखिएको र स्वतन्त्र पौडिने माछाहरु भन्दा अर्को फाल्टो भाँडामा राखिएको दोषरहित गँगटालाई चाँही अलिक बढि नै अन्याय भएको जस्तो लागिरहेको थियो । किनभने तिनीहरुको हात खुट्टा दर्हो डोरीले मज्जाले बाँधिएर राखिएका थिएँ । रेष्टुँरामा खाना खान आउने ग्राहकहरुले तीनै माछाहरु मध्ये आफुलाई मनपर्ने माछा छानेर त्यहाँ खान पाउने सुबिधा थियो ।

केहिबेरमा सुमो खेलाडी जस्तो देखिने मोटे भान्सेले पानीबाट दुईवटा ठूल्ठूला माछा जाली द्वारा पक्रेर बाहिर निकाले । बाहिर निकालेको मिलिककै भरमा माछालाई बामफोकले काटकुट गरेर भुटभाट बनाई हाले । त्यहाँ पालिएका तर अति छोटो जीवन जिइरहेका भनौ काल पर्खेर बसेका माछाहरुले आफ्नो दाजुभाई, दिदीबहिनी वा आफ्नै आमाबाबुको हत्या गरेर ताप्केमा भुलभुल उम्लेको तेलमा जिउँदै पाक्नु पर्दाको पिडादायिक दृश्य देख्दा शिसा भित्रकाहरुले तुरुक्कै आँशु झार्छ भनेर ‘सर डेभिड एटेनबर्ग’ ले भनेको सम्झदा मेरो हृदय बिक्षिप्त भइरहेको थियो । एउटा जीवन जिउने क्रममा उमेरले ९५ टेकेका र प्राणी तथा बनस्पती सम्बन्धि अति बिज्ञ गुरु सर डेभिड भन्दा अर्को मानिस यस धर्तिमा जन्मेका छैनन् भनेर मेरो छोरोले मलाई ठोकुवा गरेका क्षणलाई त्यसबेला बिरमाइलो मान्दै सम्झिरहेको थिएँ ।

दक्षिण एशियामा छ्यासछ्यास्ति पाइने ‘बाउहिनिय फूल’ को नक्सा अङ्कित हङकङको झण्डालाई हङकङ हारबरदेखि आएको हावाले फरर हल्लाइ रहदा ताराले त्यसबेला सम्म मेनु पढिरहेकी थिइन । पुरानो एसएलसी परिक्षामा भन्दा बढि मेनु पढनुपर्ने उनको मेहनतसँग दिकदार लागेपछि मेरो नजर अर्कोचोटी सडकपेटी तर्फ फर्काइ दिएँ । सडकपेटीमा एकाध उँभिरहेको अर्धनङ्न ३ जना बैशालु तरुनीहरुले मेरो नयनहरु थोरै दिग्भ्रमित बनाइ दियो । मेरो मुन्टो त्यता फर्कर्ने बितिक्कै छेउमा उँभिरहेकी एउटी पातली तरुनीले मलाई चोर औलाले घोचि हालिन । त्यसपछि उनले बायाँ हात मुठ्ठी बनाइन र दाहिने हातको चोर औलाले मुठ्ठिमा घुसार्न खोजिकी जस्ति हर्कत गरिन ।

सपनामा पनि सोच्दै नसोचेको उनको त्यस्तो कृयाकलापले मलाई फिस्सै हासो उठ्यो । मैले प्रति उत्तरमा, ‘म मेरी श्रीमती सगँ छु,’ भनेर हातले मेनु अध्यान गरिरहेकी श्रीमतीलाई देखाइ दिएँ । उनले दाहिने हात आकासतर्फ उठाएर, ‘ए ! त्यसो भए ठिक्कै छ,’ भनिन र अन्तिम चोटी मिठो मुस्कानले मलाई प्रहार गरिन । चीनको मूख्य भूमिदेखि आएकी जस्ति देखिने त्यति सुन्दरीको ब्याबहारले मलाई एकचोटी फेरी साम्यबाद प्रति घृणा उत्पन्न गराई दियो । तर रोमियो र जुलियट जस्तै मिलेर श्रीमान श्रीमती सँगसँगै खाना खानको लागि बसिरहेको मान्छेलाई कसरी केन्द्रबिन्दु मानेर ताकेको होला भनेर म केहिबेर रणभूलमा परिरहे ।

भियतनाम युध्दको बेला अमेरिकन सिपाहीहरुले हङकङलाई आराम तथा मनोरन्जन (रेस्ट एन्ड रिक्रिएसन) गर्ने स्थान बनाए देखि युबतीहरुले त्यस क्षेत्रमा संसारको सबैभन्दा पुरानो ब्याबशाय बेश्याबृति सुरु गरेका थिएँ । हुनत अमेरिकन सिपाहीहरुले मनिला र बैकंक बाहेक बर्लिन र आम्सटर्डममा पनि बेश्याबृतिको लागि अछुतो राखेका थिएनन् । जुन स्थानहरुमा म आफै पुगेर बेश्याबृति सम्बन्धि गहन अध्यान गरेका थिएँ । तथापि ‘हुकर हिल’ इथेवान, सियोल र ‘शिल रोड’ लिभरपुलमा जस्तो छाडापन मैले जिन्दगिमा अन्त कतै अनुभव गरेको थिइन । किनभने पुरै दाँत फुक्लेको अधबैसे स्काउचसँग जाबो ५ स्टर्लिङ पाउण्ड खर्चेर शारिरिक सम्पर्ग गर्न पाइने स्थान शिल रोड सम्भवत रत्नपार्क भन्दा पनि सस्तो होला कि भन्ने मेरो मनमा लागिरहेको थियो ।

बर्षौ अगाडी देखि टेम्पल स्ट्रिटमा आफ्नो शरिर बेच्ने ठिटीहरु लिभरपुलको स्काउचहरु जस्तै अधबैसे हुने गर्दथे । तर सूर्यलाई निरन्तर परिक्रमा गर्ने क्रममा हरेक बर्ष पृथ्वी ४ सेन्टिमिटर टाढिदै गएजस्तै कपडाले पुरै शरिर ढाकिनुको सट्टा हरेक बर्ष घटदै गएर सकिनै लागेको तर उमेरले भर्खर भर्खरै २०-२२ टेक्त्तै गरेको जस्तो देखिने तरुनीहरुले आफ्नो श्रीमती सँगसँगै बसिरहेको मानिसलाई ‘टेम्पल स्ट्रिट’ मा बल्सि थापेको सम्झदा हास्य अभिनेता चार्ली चाप्लिनले भनेको एउटा कुरो भौतिक बिज्ञान सँग ठेक्कै मिलेको जस्तो लाग्यो ।

‘यस धर्तीमा हुने कुनैपनि चिज स्थिर र स्थायी छैनन् । सबै चिज निरन्तर गतिमा र रुपान्तरण भइरहने रहेछ ।’

-अक्सफोर्ड, बेलायत 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार