
पाँचथर : पाँचथर उद्योग वाणिज्य संघद्वारा ५५ लाख ६० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री पाँचथर अस्पताललाई मंगलबार हस्तान्तरण गरिएको छ ।
अस्पतालमा हस्तान्तरण गरिएको सामाग्री अन्य स्वास्थ्य निकायलाई पनि आवश्यकता अनुसार उपलब्ध गराउने उदेश्य सहित १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर,पाँच थान मल्टि पारामिटर र एक सय थान अक्सिमिटर हस्तान्तरण गरिएकाे संघका अध्यक्ष दिपक नेपालले बताए ।
संघ मार्फत अस्पतालका प्रमुख डाक्टर बुद्धि बहादुर थापा र प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका हुन ।
संघले जेठ ४ गतेदेखि शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर व्यावस्थापन अभियानबाट ५७ लाख २८ हजार सात सय १० रुपैंया ९८ पैसा रकम संकलन गरिएको संघ महासचिव नवराज घिमिरले जानकारी दिए । अझै पनि अभियानमा रकम संकलनको कार्य निरन्तर भइरहेको उनले बताए । संघले यस अघि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँचथर उद्योग वाणिज्य संघले चलाएको अभियानमा साथ दिने सम्पूर्ण सहयोगी दातालाई धन्यवाद दिए ।
आगामी दिनमा सुविधा सम्पन्न एम्वुलेन्स सेवा सञ्चालनका लागि सुझाव प्राप्त भएकाले त्यसतर्फ योजना वनाउने संघले लक्ष्य राखेको जनाएको छ । सामाग्री ग्रहण गर्दै जिसस प्रमुख विष्णुप्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी ढकालले सामाजिक उत्तरदायित्व वहनका क्रममा संघबाट भएको कामकाे प्रशंसा गरे ।
उक्त खरिद गरिएको सामाग्री काठमाडौं देखि फिदिम सम्म ल्याउन ढुवानीको व्यवस्थापन मिलाइ दिएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ प्रति वाणिज्य संघले कृतज्ञता व्यक्त गरेको छ ।

















































