यस चक्रवातको प्रभावले आज दिनभर वर्षा हुने : डुबानको जोखिम, सतर्क रहन प्राधिकरणकाे आग्रह


यस चक्रवातको प्रभावले आज दिनभर वर्षा हुने : डुबानको जोखिम, सतर्क रहन प्राधिकरणकाे आग्रह

काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । चक्रवातको प्रभावका कारण प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार अपरान्हपछि भने मौसममा सुधार आउने महाशाखाले जानकारी दिएको छ ।

यसैबीच, गृहमन्त्रालय अन्तरगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेकोले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्न पनि आग्रह गरेको छ ।

आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार