पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा गृहजिल्ला पाँचथरलाई पठाइएको स्वास्थ्य सामग्री फिदिम आइ पुगेको छ ।
स्वास्थ्य सेवा विभागबाट फिदिम स्थित अस्थायी कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
नेम्वाङको पहलमा नियमित सरकारी प्रकृयाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त विभिन्न सामग्रीहरु फिदिम स्थित कोभिड अस्पताललाई प्राप्त भएका हुन् । यसरी उपलब्ध सामग्रीहरु आजै जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल लगायतको उपस्थितिमा अस्पताले जिम्मा लिएको छ ।
उपलब्ध सामग्रीहरुमा कोभिड–१९ का सङ्क्रमितको उपचारमा प्रयोग हुने ३० प्रकारका औषधि तथा स्वास्थ्य सामग्री छन् । यस्तै १० थान अक्सिजन सिलिण्डर तथा दुई थान अक्सिजन कन्सन्ट्रेटर १० थान हस्पिटल बेड तथा बेडका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु उपलब्ध भएका हुन् । यस्तै एण्टिजेन कीट, गाउन, पीपीई सेट, पञ्जा, सर्जिकल मास्क, सेफ्टी चस्मा, सेनिटाइजर, थर्मोमिटर, फेससिल्ड लगायत सामग्री समेत प्राप्त भएका हुन् ।
शुक्रवार जिल्लाका सरोकारवालाहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री नेम्वाङले जिल्लावासी कोभिड–१९ सङ्क्रमतिको उपचारका लागि आफूले सक्दो सहयोग गर्दै जाने वचन दिनुभएको थियो । पछिल्लो समय जिल्लामा अभाव भएका औषधिहरु समेत उपलब्ध हुँदा धेरै सहज भएको जिल्ला अस्पतालका लेखापाल सोम दङ्गालको भनाई छ ।
यस्तै समृद्ध पाँचथरले समेत एन–९५ मास्क ५० थान, पञ्जा पाँच सय थान, पीपीई सेट पचास थान र एक कार्टुन मास्क कोभिड अस्पताललाई उपलब्ध गराएको अध्यक्ष भूमिका सुब्बाले जानकारी दिनभयो ।-मेची पोस्टबाट