
पाँचथर : फाल्गुनन्द गाउँपालिकामा सात जनाको एन्टिजिन परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
विहिवार राँकेमा तीन जना र घुर्बिसे पञ्चमीमा चार जनाको एन्टिजिन परिक्षण गरिएको थियो ।
त्यस मध्ये घुर्बिसे पञ्चमीमा परिक्षण गरिएका वडा नम्बर ५ का ४४ वर्षिय स्थानीय शिक्षक र सोही वडा निवासी २५ वर्षिय पालिका कार्यालयमा कार्यरत कर्मचारी गरि दुई जनामा संक्रमण देखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड फोकल पर्सन दिनेश भट्टराईले जानकारी दिए ।
उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिको सम्पर्कमा रहेका मानिसहरुको कन्ट्याक्ट् ट्रेसिङ्ग गरिरहेको बताइएको छ ।
पोजेटिभ रिपोर्ट देखिएका व्यक्ति संग सम्पर्कमा भएका शंकास्पद र लक्षण मिल्ने कुनै पनि बिरामीले परिक्षण गराउन पालिका कार्यालय तथा कोभिड फोकल पर्सनसंग सम्पर्क गर्न आग्रह गरिएको पालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङको भनाइ छ ।
यस्तो जटिल समयमा समस्या लुकाउने भन्दा पनि स्वतस्फूर्त परिक्षण गराउन अग्रसर भइ आफु सुरक्षित भइ अरुलाई पनि जोगिन मद्दत गर्न उनले अनुरोध गरेका छन् ।
सबैले आफ्नो ठाँउबाट सक्दो मद्दत गर्न आव्हान गर्दै पालिकाले श्रोत साधनले भ्याएसम्म नागरिकको स्वास्थ्य सुरक्षा गर्न केन्द्रित रहेको बताए ।
यस अघि राँकेमा गरिएको एन्टिजिन परिक्षणमा बैंकका कर्मचारी दुई जनाको पोजेटिभ देखिएकालाई पुनःदोस्रो पटक परिक्षणमा नेगेटिभ रिपोर्ट आएको भएता पनि एक जनाको स्वास्थ्य समस्या देखिए पछि अस्थायी कोभिड जिल्ला अस्पताल फिदिम रेफर गरिएको उनले बताए ।
हाल पाँचथरमा जेठ ६ गते सम्म दुई सय ६९ जना संक्रमित मध्ये दुई सय ४२ जना होमआइसोलेसनमा,तीन जना अस्पतालको आइसोलेसन बेडमा उपचाररत,सात जना एचडियुमा राखेर उपचार हुँदै गरेका छन् भने तीन जना जिल्ला बाहिर रेफर गरिएको छ ।
अहिलेसम्म १३ जना निको भइ घर फकिएका र एक जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
























































