
पाँचथर : नेपाल पत्रकार महासंघ,पाँचथर शाखाले ‘पत्रकार आपतकालीन राहतकोष’ मा आर्थिक सहयोग गरिदिन अपिल गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरले सबैतिर असर पुर्याउएको वर्तमान परिस्थितिमा पाँचथरका पत्रकारलाई पनि केही दिन यता कोरोना संक्रमण देखिएको र जिल्ला बाहिर लगेर भेन्टिलेटरमा राखी थप उपचार भइरहेको जनाइएको छ ।
यस विषम परिस्थितिलाई ध्यानमा राख्दै महासंघको पाँचथर शाखा कार्यसमितिले भिडियो माध्यमबाट जेठ ५ गते बैठक बसी छलफलबाट विभिन्न निर्णय गर्दै कोषबाट पाँचथरका पत्रकारलाई उपचार खर्चमा सहयोग गर्ने उदेश्यले आर्थिक सहयोगको आह्वान गरेको छ ।
बैठक मार्फत अग्रपंक्तिमा रहेर आमनागरिकलाई सूचना दिने,सचेतना जगाउने तथा दवाव सृजना गर्ने काममा खटिएका पत्रकार, सञ्चाकर्मीलाई कोरोना विरुद्धको खोप,पिसिआर,एन्टिजिन परीक्षण सहज बनाउन,स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन तथा संक्रमित पत्रकारको नि:शुल्क उपचार लगायतको उचित प्रवन्ध मिलाउनका लागि स्थानीय,प्रदेश तथा संघीय सरकारलाई जोडदार माग गरेको शाखाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई रिपोर्टिङको शिलसिलामा पर्न सक्ने जोखिम,प्राकृतिक विपद लगायतलाई मध्यनजर गर्दै गत वर्षबाट आपतकालीन राहत कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ निर्माण गरि कार्यान्वयनमा ल्याईएको छ ।
यस कोषमा जिल्ला शाखाका पूर्वअध्यक्ष तथा वर्तमान प्रदेश नम्बर १ का उपाध्यक्ष लवदेव ढुंगानाले व्यक्तिगत १० हजार रुपैयाँ,पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरेबाट पाँच हजार पाँच सय पाँच र पाँचथर शाखाद्वारा ५० हजार रुपैयाँ गरि जम्मा ६५ हजार पाँच सय पाँच रुपैयाँ संकलन भएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
शाखाले लक्ष्य राखेको कोष निर्माणको लागि बजेट आवश्यक परेको हुँदा स्वदेश तथा विदेश रहनुहुने महानुभाव,स्थानीय सरकार,प्रदेश सरकार,संघीय सरकार, जनप्रतिनिधि तथा सम्पूर्ण शुभेच्छु संघसंस्था र इच्छुक व्यक्तिले प्रभु बैंक फिदिम शाखाको खाता नम्बर १२५०१५०७५९५०००४२ अन्तर्गत ‘नेपाल पत्रकार महासंघ आपतकालीन राहतकोष’ को नाम जम्मा हुने गरि सहयोग गरिदिन पनि अपिल गरेको छ ।
























































