यी कांग्रेस नेताहरू जो कोरोनाकालमा जनताको सहयोगमा हरसमय खटिए

  नयाँ बुलन्द
189 Shares

काठमाडौं – एक वर्ष भइसक्यो कोरोना भाइरसको संक्रमणले मुलुकलाई गाँजेको । सरकारी अकर्मण्यताका कारण मुलुकको स्वास्थ्य प्रणाली नै टुटेको छ ।

त्यही भएर अहिले मानिसहरू सरकारको भर पर्नुभन्दा पनि व्यक्तिगत र दाताको सहयोगमा उपचार सेवा गर्न थालेका छन् । मुलुकमा व्यक्ति र संघसंस्थाले जनताको रक्षार्थ सहयोगमा जुट्नु भनेको शासनसत्ताप्रति भरोसा नहुनु हो ।

जबदेखि केपी ओली प्रधानमन्त्री बने, तब उनका बतासे कुराले जनतामा सरकारप्रति भरोसा टुटेको हो । जे विषयलाई पनि हल्का ढंगले लिने, प्रणाली व्यवस्थितमा ध्यान नदिने, आसेपासेलाई सरकारी नियुक्ति दिएर पार्टी भर्तीकेन्द्र बनाउने, भजनकीर्तन गर्नेलाई पुरस्कृत गर्ने ओली प्रवृत्तिले नै अहिले जनतामा घोर निरासा उत्पन्न गराएको छ । यस्तो अवस्थामा पनि नेपाली कांग्रेसका केही नेताले जनताको भरोसा टुट्न दिएका छैनन् ।

तिनै नेताका कारण कांग्रेसको भविष्य उज्ज्वल भएको छ । जनताले फेरि पनि कांग्रेस नै हो जनताको दुःख–सुखको साथी भन्न थालेका छन् । कांग्रेस नेताहरू विनोद चौधरी, गगन थापा, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, प्रदीप पौडेल, राजीवविक्रम शाह, डा.आरजु देउवा, डम्बर खड्का, कान्छाराम तामाङ, मिनकृष्ण महर्जन, शंकर भण्डारीलगायतले कोरोनाकालमा आफूले सक्ने सहयोग गरेका छन् । कोरोना नियन्त्रण र रोकथाम न्यूनीकरणमात्र होइन, समस्यामा परेका जनतालाई पनि उनीहरूले खुलेर सहयोग गरेका छन् ।

विनोद चौधरी :– कांग्रेस सांसद चौधरीले १० करोड लागतमा अस्पताल बनाइदिने घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सहज होस् भनी उनले व्यक्तिगत रूपमा यो निर्णय गरेका हुन् ।

आरजु देउवा :- कांग्रेस नेतृ आरजु देउवा जो यतिबेला जापानमा उपचार गराइरहेकी छन् । यस्तो महामारीका बेला उनले कैलालीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोगको घोषणा गरेकी छन् ।

गगन थापा :- कांग्रेसका युवा नेता गगन थापा जो पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् । उनले कोरोना न्यूनीकरणका लागि हरेक दिन सरकारलाई घच्घच्याइरहेका छन् । विभिन्न सुझाव र सल्लाह पनि दिइरहेका छन् । सल्लाह दिनेमात्र होइन, उनले व्यक्तिगत रूपमा आफ्नो निर्वाचन क्षेत्रका कोरोना संक्रमित जनताका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । उनले व्यक्तिगत पहलमा आइसोलेसन केन्द्रसमेत सञ्चालन गरेका छन् ।

मोहनबहादुर बस्नेत :-  पूर्वसञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता बस्नेत कोरोनाकालमा सबैभन्दा धेरै खटिनेमा पर्छन् । उनले व्यक्तिगत पहलमा सरकारले समेत गर्न नसक्ने धेरै काम गरेका छन् । जिल्लावासीको कोरोना बिमा गर्नेदेखि लिएर सिन्धुपाल्चोकमा सय बेडको कोभिड अस्पताल नै बनाउने भएका छन् ।

प्रदीप पौडेन :-  कांग्रेस केन्द्रीय सदस्य पौडेलले विभिन्न दाताको सहयोगमा काठमाडौंमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र तयार पारेका छन् ।

रामहरि खतिवडा :-  निर्वाचनमा पराजित भए पनि कांग्रेस नेता खतिवडा सबैभन्दा सक्रिय हुनेमा पर्छन् । जिल्लाको विकास मात्र होइन, जनताका हरेक समस्यामा पहिले उनी नै पुग्छन् । महामारीका बेला उनकै पहलमा ओखलढुंगामा जनताको स्वास्थ्य परीक्षण गर्ने काम सुरु भएको छ ।

डम्बर खड्का :-  इलामका डम्बर खड्का जिल्लामा निकै लोकप्रिय छन् । समाजसेवीको पहिचान बनाएका खड्काले  निरन्तर इलामेली जनताको दुःखसुखमा साथ दिँदै आएका छन् । व्यक्तिगत रूपमा उनले खाद्यान्न सहयोगदेखि लिएर लकडाउनका बेला काठमाडौंमा फसेका जिल्लावासीलाई लिन उनी राजधानी नै आएका थिए ।

जगदीश्वरनरसिंह केसी :-  कांग्रेस नुवाकोटका सभापति केसीले पहिलोपटक पार्टी कार्यालय कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाउने निर्णय गरेका थिए ।

जुन निर्णय निकै लोकप्रिय भएको थियो । अहिले विभिन्न जिल्लाले यो घोषणा गरेका छन् । व्यक्तिगत वा सहयोग नै जुटाएर भए पनि कांग्रेस नेताहरूले जनताको सहयोगमा आफूलाई दिनरात व्यस्त बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार