इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै, होटेल व्यवसाय प्रत्यक्ष मारमा

  नयाँ बुलन्द
42 Shares

इलामको पर्यटन व्यवसायी पुनः धरासायी बन्दै, होटेल व्यवसाय प्रत्यक्ष मारमा

इलाम : गत वर्षको कोरोना कहरपछि तड्रिदै गएको इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै भएको निषेधाज्ञाका कारण इलामका पर्यटकीय क्षेत्र सुनसान छन् भने त्यसको प्रत्यक्ष असर होटल ब्यबसायमा देखिएको छ ।

इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरेकै कारण लामो सन्नाटापछि गएको दसैंदेखि पर्यटक आउन थालेका थिए ।

पर्यटनको राम्रो सम्भावना भएकाले नै निजी क्षेत्रको लगानी पनि वर्षेनी बढ्दो छ । तर, कोरोना महामारीको दोस्रो लहरपछि पर्यटकीय गतिविधि ठप्प हुँदा इलामका होटल सञ्चालक प्रभावित भएका छन् ।

करोडौ लगानी गरेर सञ्चालमा ल्याएका होटलहरु बन्द गर्नु पर्दा बैंकको ऋण तिर्न नसकेर थलिने अवस्थामा पुगेको होटल सञ्चालक बिजय राई बताउनु हुन्छ ।

इलामको सदरमुकाम इलाम बजार, फिक्कल, कन्यामलगायतका पर्यटकीय स्थल धेरैको रोजाइमा पर्छ । तर वैशाखदेखि ती क्षेत्रमा पनि मानिसको चहलपहल शुन्यप्राय बन्दा इलामको पर्यटन ब्यबसाय नराम्ररी प्रभाबित भएको हो ।

पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका कोरोनाको कहर बढेसँगै बन्द छ । यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बन्दाबन्दीले जिल्लामा सञ्चालित ठूलो लगानीको होटल, मझौला र साना होटल गरेर दैनिक चौरहतर लाख रुपैयाँ नोक्सानी भाइरहेको बताउनुहुन्छ ।

इलाममा रहेको ४५० वटा होटलमा २ हजार ३०० जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्षको लकडाउनपछि ६० प्रतिशत होटल पुनः सञ्चालनमा आएका थिए ।

उता कोरोनाकै कारण जिल्लाका कोसेली घरसमेत बन्द भएको छ । घुमघामका लागि आउने पर्यटकले चिया, छुर्पी, ललिपप, सागसब्जीलगायत खरिद गरेर लैजाने गदर्थे तर त्यो पनि बन्द छ यतिबेला ।

त्यस्तै भर्खरै मात्र कन्याममा घोडचढी र जातीय पोशाकका पसलहरू तङ्ग्रिन सुरू गरेका थिए त्यसले पनि सञ्चालनमा आउन नपाउँदै बन्दाबन्दीको मार खेप्नु परेको छ । त्यसैले कोरोना कहरले प्रत्यक्ष मारमा परेका ब्यबसयीले अघिल्लो वर्ष पनि राज्यबाट राहत महसुस हुने गरी छुट नपाएकाले यसपटक समयमानै सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग राख्दै आएका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार