काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली बिहीबार राति पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले बहुमत जुटाउन नसकेकाले ओली नै पुन : प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिए पछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमा कसैको दावी पर्न नआएको जनाएको छ । । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका हुन् ।
माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो । विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।
यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् । काँग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४८ गरी १०९ सांसद छन् । जसपाको ३२ (दुई निलम्बित) सांसद दुई भागमा विभाजित छन् । सिंगो जसपाको सहयोगका लागि आज विहान देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । तर ठाकुर र महतोले सरकार निर्माण साथ दिन नसकिने बताएपछि देउवालाई बहुमत जुटाउन सम्भव नभएको हो ।
जसपाको ठाकुर पक्षले सरकार निर्माणमा तटस्थ बस्ने जनाएकाले केपी शर्मा ओली नै फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ओलीले प्रधानमन्त्रीमा नियुक्त भए ३० दिनभित्र अर्थात असार ३० गतेभित्र बहुमत सिद्ध गर्नुपर्छ । सोमबार विश्वासको मत लिँदा माधव नेपाल पक्षको बहिष्कारका बीच ओलीले ९३ मत मात्र पाएका थिए । उनको विपक्षमा १२४ र १५ मत तटस्थको पक्षमा खसेको थियो ।
जसपालाई ओलीको निम्तो
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी शर्मा ओलीले निम्तो दिएका छन् । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । बिहीबार साँझ बालुवाटारमा ओलीसँग छलफल गरेर फर्केपछि जसपा अध्यक्ष ठाकुरले आफू निकट नेताहरुसँग सरकारमा जानेबारे छलफल गरेको एक नेताले बताए । जसपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारमा जाने रुची देखाएका छन् । यद्यपि अहिलेसम्म महतोले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । महन्थले पनि जसपा सत्ताको खेलमा नलाग्ने बताउँदै आएका छन् ।