इलाम : जिल्लामा कोरोको माहामारीको प्रकोप बढेसँगै मेची अञ्चल आयुर्वेद औषधालयले संक्रमितको घरमा पुगेर औषधि र परामर्श दिन सुरु गरेको छ । जिल्लामा कोरोनाकै कारण ६ जनाको ज्यान गएपछि कार्यालयले जिल्लाभर यो अभियान सञ्चालन गरेको हो ।
कोरोनाबाट मुक्त हुन गर्नु पर्ने प्राणायाम, आयुर्वेदिक औषधिसहित आवश्यक परामर्श प्रदान गरिएको सूचना अधिकारी तीर्थ आचार्यले जानकारी दिए । सोमबार माई नगरपालिका र रोङ गाउँपालिकाबाट थालिएको अभियान मंगलबार सदरमुकाम इलामसहितका क्षेत्रमा सञ्चालन गरियो ।
मुलुकमै पहिलोपटक विरामी भएकै स्थानमा पुगेर सेवा दिएको दाबी गरिएको यो अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू संक्रमितको घर र आइसोलेससनसम्म पुगेर सेवा दिइरहेका छन् । औषधालयका प्रमुख विजय श्रेष्ठको नेतृत्वमा रहेको टोलीले हरेक बिरामीलाई गुर्जोचूर्ण, जेष्ठीमधुचूर्ण, त्रिकटुचूर्ण र अश्वगन्धा निःशुल्क प्रदान गरिरहेको छ ।
जिल्लामा रहेका औषालयहरूका सबै स्वास्थ्यकर्मी यो अभियानमा जुटेका छन् । १० वटा पालिकाका लागि ३ वटा समूह बनाएर काम अघि बढाइएको आचार्यले जानकारी दिए । अभियानमा नेपाल सरकारद्वारा जारी आयुर्वेद प्रोटोकलअनुसारको उपचार र परामर्श प्रदान गरिँदै आएको औषधालयले जनायो । हालसम्म इलाममा १ सय १३ सहित जिल्लामा १ सय ९२ जना संक्रमित छन् ।