फाल्गुनन्दका सात वडामा मिनिटिलर हस्तान्तरण,मेसिन पाउँदा किसान दङ्ग

  युद्धबहादुर बोहोरा  431 पटक हेरिएको

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा सातै वडाका किसानलाई मिनिटिलर वितरण गरिएको छ ।

कृषि यन्त्र उपकरण वितरण तथा तालिम कार्यक्रम अन्तर्गत पालिकाको ७० प्रतिशत अनुदान र किसानको ३० प्रतिशत लागतमा पाँच लाख ६० हजार रुपैया बराबरको मेसिन वितरण गरिएको पालिका कृषि शाखा प्रमुख सिर्जना बयलकोटीले जानकारी दिइन् ।
पालिका भित्र विभिन्न यन्त्र उपकरण वितरण गरि प्रति ईकाई उत्पादन वृद्धि तथा उत्पादन लागत घटाउने,कृषकको आर्थिक पक्ष सुधार गर्ने साथै फलफूल,तरकारी,खाद्यान्न बाली उत्पादनमा वृद्धि गराउन प्रोत्साहन गर्ने उदेश्यले वितरण गरिएको बताइएको छ ।

कृषिलाई आधुनिकिकरण,व्यावसायिकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षा र स्वरोजगारको अवसर सृजना गर्ने पालिकाले लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

वडाका कृषि सहकारी,कृषक समुह तथा व्यावसायिक कृषि फर्मलाई ७ हर्सपावर क्षमताको मिनिटिलर शाखा प्रमुख बयलकोटीको संयोजकत्मा प्रशासकीय अधिकृत तुम्रोकद्वारा वितरण गरिएको थियोे ।

उक्त मेसिन बाँझोबारी जोत्न र मकै खेतीमा प्रयोग गर्न सकिने र फालि परिवर्तन गरेर धान खेतीको लागि समेत हिलो खेतमा काम गर्न सकिनेछ । मेसिन प्रयोग गर्नको लागि हरेक समुहका एक-एक जना सकृय कृषकलाई यसअघि प्राविधिक सम्बन्धि प्रशिक्षण दिइसकेको उनले बताइन् । यसपछि किसानले उत्पादन गरेको अन्नबाली कुटानी-पिसानीको लागि मिनिमिल पनि उपलब्ध गराउने पालिकाको कार्यक्रम रहेको जनाइएको छ ।

क्रमिक रुपमा हलगोरुको सट्टा दूध उत्पादनको लागि उन्नत जातको गाई,भैंसी पाल्न प्रोत्साहन गर्दै आधुनिक उपकरणहरु पालिकाको अनुदानमा अधिकाँश कृषकको पहुँच पुग्ने गरि उपलब्ध गराउने योजना बनाइएको पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए ।

आधुनिक मेसिन पाएपछि किसानको मुहारमा खुशी छाएको छ । काम गर्न सहज हुँदा उनीहरु दङ्ग भएका छन् । यो भन्दा पहिले खेती गर्दै आएका किसानले परम्परागत हलगोरुको सहारामा धेरै महँगो लगानीमा कठिन साथ बालीनाली लगाएर जिविका चलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार