अध्ययन, विवाह र पेशा (जीवन/अनुभूति)

भीम राई

यदि साँच्चै भन्ने हो भने मलाई फोयडर दोस्टोइभिस्कि र निकोलो म्याकेभ्यालियको नाम अहिलेसम्म पनि उँच्चारण गर्न ज्यादै कठिन भइरहेको छ । लगभग ३ सय ५० बर्षका अन्तर्हालमा दोस्टोइभिस्कि रुश र म्याकेभ्यालिय ईटालीमा जन्मेका थिएँ । उनीहरु एक-आपसमा फरक देशमा जन्मेका मानिसहरु मात्र नभएर बिलकुलै फरक पृष्ठभूमिका पनि थिएँ । ‘अपराध र सजाँय’ पुस्तकका लेखक दोस्टोइभिस्कि साहित्यका लागि कहिलै नअस्ताउने चम्किला तारा हुन भने म्याकेभ्यालिय आधुनिक राजनीति शास्त्रका भिष्म पिता मानिन्छन् ।

कच्याककुचुक हुँदै एकपोका परिरहेको मेरो दिमागलाई लिएर एकदिन म तिनै दोस्टोइभिस्किको समाधिस्थल टिकभिन, रुश लागिरहेको थिएँ । तर नाताशाले अचानक सेन्ट पिटर्सबर्गमा अबस्थित ट्रुबाटस्काइ बास्चन कारागर सङ्ग्राहलयमा पहिले घुम्नको लागि मलाई सल्लाह दिइन । उनी बिगत दुई दिनदेखि हाम्रो पथप्रर्दशकको काम गरिरहेकी थिइन । र, सेन्ट पिटर्सबर्गको सूर्योदय सँगसँगै झुल्कने उनको अनुहार हेर्दा मलाई कताकता उनी रशियन मोडल हुन कि भन्ने लागिरहेको थियो ।

अति मिठो रशियन मुस्कानका धनी नाताशासँग भेट भएपछि उनले हरेकचोटी मुख खोल्दा म त्यसैत्यसै लल्याकलुलुक हुने गर्दथे । त्यसैले उनको कारागार भ्रमणको सल्लाहलाई शिरोपर गर्दै हामी त्यसदिन सबैभन्दा पहिले उक्त्त कारागार सङ्ग्राहलयतर्फ लाग्यौ । त्यहाँ पुगेपछि मलाई थाहा भयो कि तिनै कारागारमा प्रख्यात उपन्यासकार म्यासिम गोर्कीले कहालिलाग्दो जेल जीवन ब्यतित गरेका रहेछन् । अचानक उनी थुनिएका कोठामा पुगेपछि रशियन क्रान्तिको समयमा लेखिएको बिश्व बिख्यात ‘आमा’ उपन्यासको यादले मलाई झलझली सताउन थालि हाल्यो ।

हुनत यस धर्तीमा भएका हरेक मानिस मात्र नभएर हरेक प्राणीहरुको लागी आमा शब्द त्यतिक्कै प्यारो हुने गर्दछन् । तर मलाई गोर्कीको थुनुवा कोठामा पुगेर उपन्यासका मूख्य पात्र पाभेल भ्लाशोभ र उनकी आमा निलोभ्नाको मात्र यादले सताएका थिएनन् । केहिसमय अगाडी दिबङ्गत हुनुभएकी आफ्नी ममतामयी आमाको बिरमाइलो यादले मेरो हृदय क्षतबिक्षत बनाइ रह्यो । त्यसैले मटर चढेर १५ मिनेट जति लाग्ने टिकभिन समाधिस्थल पुगेर बाँकीरहेको हृदयलाई झन टुक्राटुक्रा बनाउन पटक्कै रहर लागेर आएन । त्यसैले उदाश भावमा सेन्ट पिटर्सबर्गलाई सँधैको लागि बिदाइ गरेपछि डेनमार्कको कोपनहेगन सामुन्द्रिक तटमा अबस्थित मत्स्यकन्या ‘मरमेड’ नदेखिन्जेलसम्म मेरो दिल रोइरहेकै थियो ।

दोस्टोइभिस्किको अध्यायलाई यँही बन्द गरेर उता ईटालीको एकिकरणकर्ता म्याकेभ्यालियको जन्मघर फ्लोरेन्स पुग्दा सेन्ट पिटर्सबर्गमा जस्तो हृदय पटक्कै जलेको थिएन । त्यसैले बिन्दाश बनेर तारासँग फ्लोरेन्सको चक्कर मज्जाले मारेका थियौ । अनि सत्यकुरो के पनि हो भने ईटालीको बिषयमा मैले यहाँ लेख्दैगर्दा मलाई अति मनपर्ने देशहरुको सूचिमा त्यो देश अग्रपङ्त्तिमा रहेको छ भन्नेकुरो मैले कदापि बिर्सन पनि हुदैन ।

किनभने त्यहाँको भाषा, धर्म, संस्कृति, कला, इतिहास, फेसन र खाना पनि अहिलेसम्म उच्च दर्जाकै रहेको छ । मैले आफ्नो स्वच्छिक अध्यान भ्रमणको क्रममा ईटालीको भेनिस, बोलोग्ना, जेनेवा, पिसा, रोम वा नेपल्समा पहिले नै पाईला टेकिसकेको थिएँ । तर त्यसबेलासम्म फ्लोरेन्स पुगिहालेको थिइन । त्यसैले तारासँग त्यहाँ पुग्ने बितिक्कै हतारहतार सर्बाधिक चर्चित सान्टामरिय क्याथेड्रलको टुप्पामा चढ्यौ । र, टस्कनी क्षेत्रको रमाइलो दृश्यबलोकन गर्दै इटालीको बक्षस्थलमा टेकेको समयलाई गणना गर्दा छैटौ पटक भइसकेका रहेछन् भनेर तारालाई एकपटक सुटुक्क सुनाएका थिएँ ।

एकछिन इटालीलाई पनि त्यँही छाडौ । र, त्यसको छिमेकी राष्ट्र जर्मनीतर्फ लाग्यौ । म जर्मनी ८ चोटी पुगिसकेको थिएँ । किनभने जर्मनी पनि मेरो उत्कृष्ट रोजाइको देशहरु मध्येको एउटा प्रमुख देश हो । यहाँ परदेशकै कुरोहरु केहीबेर गर्न गइरहेको छु । किनभने तीनै परदेशी जीवन बिताउने क्रममा १२ वटा रमाईला बशन्तहरु मैले हङकङका बिताएका थिए । दशकौ समय नष्ट गरेर हङकङमा भोगेका तितामिठा यादहरु चट्टै भुलिहाल्न म कहाँ सकिहाल्छु र ? तर परदेशी जीवनमा सबैभन्दा बढि समय त झन बेलायतमा पो गुज्रिरहेका छन् । जहाँ २२ वटा कठङ्ग्रिदो हिउँदहरु त मैले पार गरिसकेकै थिएँ । अनि अझै अहिलेसम्म थाहा छैन, हरेक बर्ष बढदै जाने निर्मम बेलायती हिउँदहरुले मेरा अस्थिपन्जरहरुलाई के कति खिया पार्ने हुन ?

यसरी आफ्नो जिन्दगीको अनूभुति लेख्तैगर्दा मलाई यहाँ तीनै बेलायती जिन्दगीको बिषयमा संक्षिप्त चर्चा गर्न मन लागिरहेको छ । किनभने मैले बेलायती गोर्खा सेनामा बिस बर्ष सेवा गरेको थिएँ । गोर्खा सेनादेखि निबृत भएपछि आफ्ना बच्चाहरुको उज्वल भविष्य नेपालमा छैन कि के हो भन्ने मेरो मनमा निक्कै लामो समयसम्म खटकि रहेको थियो ।

मेरो घर भएको ठाउँ गौशालादेखि ढुङ्गा फाल्दा पुग्ने दुरिमा पशुपतिनाथको मन्दिर रहेको छ । त्यस मन्दिरमा हरेक बिहान पुजारीहरुले शिबलिङ्गलाई दुधले धोइरहेको बिरमाइलो दृश्य देख्न सकिन्थ्यो । मैले यहाँ किन बिरमाइलो शब्दको प्रयोग गरे भने मन्दिरको नजिकै दुध जस्तो पौष्टिक आहारा खाना नपाएर छटपट्टी रहेको बच्चाहरुको आकृती त्यहाँ सदैब देखा परिरहने गर्दथ्यो । मेरो हृदयमा अचानक त्यसबेला, ‘शिबलिङ्गलाई गाईको दुध र मानिसलाई तीनै गाईको मुत ख्वाउने समाजदेखि के शिक्षा लिन सकिएला र ?’ भन्ने बिचार लामो समयसम्म उब्जिरह्यो ।

मन्दिर परिसरमा देखिएका तीनै अपाङ्ग बच्चाहरुको बिरमाइलो दृश्यदेखि नजर भगाएर सडक किनारमा हिडदै गर्दा अलाबामा राज्यमा घटेको एउटा घटनाको एक्कासी स्मंरण गरेको थिएँ । अलाबामाको मोण्टगोमेरी बसभित्र श्वेत नागरिकको आगमान हुँदा हरेक अश्वेत नागरिकहरुले बसको कुर्सी छाडनु पर्ने बाध्यत्मक मानबिय नियम थियो । तर एकदिन निक्कै लामो समयदेखि बसको कुर्सि तताई रहेकी अश्वेत महिला रोजा पार्कले आफु बसिरहेको बसको कुर्सि नछाडेर मौन बिरोधाभाष प्रकट गरेकी थिइन । तीनै ‘स्वतन्त्रताको आमा’ रोजा जस्तै म स्वदेशमा बसेर कुनैपनि कुरोको बिरोधाभाष प्रकट गर्न सक्तिनथे । किनभने लामो समयसम्म सैनिक अनुशासनको घेराभित्र हुर्केको हुनाले बिरोध र क्रान्ति मेरो जिन्दगीको सबैभन्दा पृय शब्दहरु भएका थिएनन् ।

त्यस दिनदेखि त्यो पवित्र मन्दिर परिसरमा हरेकदिन हुने अपवित्र सोचको बिरोध गर्नको साटो अर्को बिकल्प रोज्न थालिसकेको थिएँ । त्यसैले सेनामा छँदा लिएको अनुभवको एकभारी कागजपत्र जम्मा गरेर बेलायती राजदुताबास लैनचौर पुगे । राजदुताबासका अध्यागमन अधिकृत स्कटिश नागरिक एड्रियन लुविसले अन्तर्वार्ता लिने क्रममा ५ बर्ष बेलायत बस्ने अनुमतिपत्र मेरो हातैमा थमाइ दिएका थिएँ । तिनै अनुमतिपत्र (भिसा) पाएपछि आफ्नो झोलीतुम्बि तयार गर्न थालिहालें । र, स्रहशाब्दिको अबसरमा भएको रमाइलो भोजपछि बेलायतलाई कर्मभूमि बनाउने उदेश्यले प्यारी श्रीमती र छोराछोरीलाई च्याँपेर गहभरी आँशु सहित सदासर्वदाको लागि मैले देशको माटोलाई चटक्कै छाडेर हिडिहाले ।

मनभरी बेदनाको भारी बोकेर देशलाई छाडेपनि आफुले बोल्ने भाषा, साहित्य र संस्कृतीलाई साथैमा राखिरहेको थिएँ । कतार एअरको दुईतले बिमानले हिथ्रो बिमानस्थल टेक्ने बितिक्कै जमिनमा झरेर बेलायतको सानो राज्य वेल्सतर्फ लागेको थिएँ । तिनै वेल्सको दक्षिणी भेगमा रहेको ‘क्लेनेथ्ली’ भन्ने गाउँमा पुग्दा म नै पहिलो गोर्खा सिपाही भएर पुगेको रहेछु ।

मैले सैनिक जीवनदेखि निबृत भएर दोश्रोचोटी परदेश लाग्नुको मूख्य उदेश्य छोराछोरीको अध्यान नै प्रमुख थियो । त्यसैले उनीहरुको शिक्षादिक्षालाई पहिलो प्राथमिक्त्ता दिइरहेको थिएँ । हुनत बिश्वका धेरै मानिसहरु एकदेश बाट अर्को देशमा अर्थ आर्जन गर्नका लागि गएका हुन्छन । तर त्यसबेला त्यो कुरोमा मेरो सोच बिलकुल फरक रहेको थियो । जब म वेल्स पुगे, तब मलाई थाहा भयो कि, ‘मानिसले जुन काम आफ्नो जीवनमा गर्न सकेको हुदैनन्, तिनै काम आफ्नो सन्तानलाई गर्न लगाउने रहेछन् ।’ तर मलाई त्यस कुराको राम्रै हेक्का भएतापनि आफ्नो छोराछोरीको भविष्य उज्वल होस भन्नको खातिर कुनै कसरत बाँकी राखेको थिइन ।

हुनत कुनैपनि कुरोलाई जबरजस्ति गर्नु निश्चय नै राम्रो बिचार होइन । किनभने त्यस्तो बिचारले नकरात्मक सोचको उत्पन्न हुन सक्त्तछ । अझै बेलायती दार्शनिक थोमस हिल ग्रिनले, ‘मानब स्वतन्त्रता चाहन्छन्, नत्रभने यन्त्र झै बन्ने गर्दछ,’ भनेका थिएँ । मैले ग्रिनको मार्मिक भनाइलाई हृदयङ्गम गरेतापनि म उनीहरुलाई क्षणिक समयको लागि एउटा साधरण यन्त्र झै बनाउन खोजिरहेको थिएँ ।

ग्रिनको कुरोलाई एकछिन यतै थाँती राखेर लिङ्कनको कुरो गरौ । उनले छोरालाई, ‘आफुले कमाएको १० सेन्ट, बाटोमा भेटाएको १ डलर भन्दा उत्तम हुन्छ,’ भन्ने सिकाउन चाहेका थिएँ । तर म उनको त्यस बिचारको बिरुध्दमा उँभिएका थिएँ । किनभने म छोरालाई पैसाको मोहमा रमाउने एकजना कुशल ब्यापारी भन्दा अस्पतालको अशल चिकित्सक भएको हेर्न चाँहीरहेको थिएँ । किनभने यदाकदा मलाई यस्तो लाग्ने गर्दथ्यो, ‘चिकित्सकहरु मानव जीवनको लागि भगवानको अर्को रुप हुन ।’

होमरको पुस्तक ‘शाहसिक यात्रामा’ ट्रोजन युध्ददेखि घर फिरेका पात्र झै भएर क्लेनेथ्ली पुग्दा त्यहाँका जनशङ्ख्या लगभग २५ हजार मात्र रहेको थियो । त्यतिका जनशङ्ख्या भएको गाउँमा जम्मा ४ वटा माध्यमिक बिधालयहरु र एउटा महाबिधालय थियो । तिनै बिधालयहरु मध्ये ‘सेन्ट माइकल’ निजी बिधालय भएको हुनाले सर्बसाधरण मानिसहरुले त्यहाँ अध्यान गराउन सकिदैन थियो ।

अन्य तीन वटा बिधालयहरु मध्ये एउटा पूर्ण वेल्स भाषाको बिधालय थियो । त्यसपछि बाँकीरहेका दुईवटा मध्ये ‘कोइका’ पूर्ण स्वतन्त्र बिधालय थियो । जहाँ बिधार्थीहरुको सङ्ख्या हजार भन्दा उँभोउँभो थिएँ र प्राचिन एथेनियन शैलीको पूर्ण प्रजातन्त्र अभ्यास गरेको त्यहाँ पाइयो । मलाई मान्छेले मान्छे मार्ने खालको प्रजातन्त्र स्विकार्य हुन सक्त्तैनथ्यो । त्यसैले यहाँ उद्धृत गरिएका कुनैपनि बिधालयहरु मेरो रोजाइका बिधालयहरु भित्र परेका थिएनन् । अन्तमा बाँकीरहेको तीनै एउटा बिधालय चाँही क्याथोलिक बिधालय थियो । जहाँ लगभग ४ सय बिधार्थीहरु मात्रै अध्यान गर्ने गर्दथे ।

अन्य बिधालयहरु भन्दा मलाई त्यो क्याथोलिक बिधालयमा थोरै दिलचश्वि भएर आयो । किनभने त्यहाँ बिधार्थीहरुको सङ्ख्या पनि कम्ति नै थिएँ । र, अलिकति धार्मिक शिक्षा ‘रिलिजियस एजुकेसन’ पनि सिक्न सकिन्थ्यो । तर म प्रकृतिपुजक भएको नाताले धर्मप्रति अलिकति शँकालु प्रबृतिमा मानव थिएँ । त्यसैले मलाई जहिले पनि धार्मिक शिक्षाप्रति हल्का शँका उत्पन्न भइरहने गर्दथ्यो । किनभने मैले रुचिपुर्वक ‘पशुपत्ति’ छाडेको थिएँ, र मलाई ‘भेटिकन’ पुगिहाल्ने रहर लागेको थिएन । तर छोराले धर्मप्रती कस्तो मोह राख्ला भनेर सदैव निगरानि गरिरहेको हुन्थे । अझ यसलाई यसरी खुलस्त गरौ । म हेगेललाई जस्तो गिर्जाघरको पादरी बनाउने बाबु होइन, जोन लकलाई जस्तो चिकित्सक बनाउने बाबु हुन खोजिरहेको थिएँ ।

त्यस बेलासम्म मेरो छोरो अलिक सानै थिएँ । र, लगाम पुर्णतय मेरो हातमा रहेको थियो । त्यसैले मैले चाँहे बमोजिम उनले बिधालयको पढाइ राम्रै गरे । त्यसपछि स्वान्जी सहर नजिकै रहेको गोर्साइनन कलेज धाउन थाल्यो । दक्षीण वेल्समा रहेको त्यस कलेजको प्रतिष्ठा अहिलेसम्म निक्कै उँच्च श्रेणीमा रहिआएको छ । अझै त्यस कलेजदेखि हरेकबर्ष तीन-चार जना बिधार्थीहरु अक्सफोर्ड वा क्याम्ब्रिज (अक्सब्रिज) युनिभर्सिटीमा छिर्न सक्तथे ।

तर अक्सब्रिजमा छिर्नको लागि बिधार्थीहरुले कलेजको समयभन्दा फाल्टो समय पनि अध्यान गर्नु पर्दथ्यो । बास्तवमा त्यसलाई अध्यान भन्दापनि अक्सब्रिजमा के कसरी छिर्न सकिन्छ भनेर पाठ सिक्न सकिन्थ्यो । त्यसरी फाल्टो समयमा सिकाउने अध्यापिका एकजना केश पाकेकी बुढी वेल्स आइमाई थिइन । म सँगको पहिलो भेटमा उनले, ‘अति तिक्ष्ण दिमाग भएका बिधार्थीहरुलाई मात्र त्यहाँ प्राथमिक्त्ता दिने चलन रहिआएको छ,’ भनेको सुनेपछि मेरो मन कुटुक्कै भाँचिएर तीन टुक्रा भएको थियो ।

छोरालाई अक्सब्रिजमा छिराउने रहरले बिदा लिएको भएतापनि कलेजको पहिलो बर्षको अध्यान राम्रै गरयो । त्यसपछि हरेक सप्ताहन्तमा हामीले बेलायती युनिभर्सिटीहरुको चक्कर लगाउन थालेका थियौ । हाम्रो त्यस चक्करलाई इङ्गल्याण्डदेखि स्कटल्याण्ड मात्र नभएर आयरल्याण्डको डब्लिन युनिभर्सिटीसम्म पुरयाएर बिसौनी मारेको थियौ । जस्तो कि यहाँहरुलाई जानकारी होला । बेलायतमा लगभग १ सय ३० वटा युनिभर्सिटी तथा शैक्षिक संस्थाहरुले मात्र स्नातक तहको प्रमाणपत्र प्रदान गर्ने गरेका छन् ।

तर चिकित्सा शास्त्रको हकमा भने इङ्गल्याण्ड (२५) स्कटल्याण्ड (५) वेल्स (२) र उत्तरी आयरल्याण्ड (१) गरेर जम्मा ३३ वटा युनिभर्सिटिमा मात्रै अध्यान गर्न पाइन्छ । त्यसमध्ये बकिङघाम युनिभर्सिटीले सन् २०१५ देखि पहिलोचोटी निजी चिकित्सा शास्त्र पढाउन सुरु गरेको छ । जहाँ अध्यान गरेबापत बार्षिक शुल्क ३६ हजार पाउण्ड लाग्छभने अन्य युनिभर्सिटीमा बार्षिक शुल्क ९ हजार पाउण्ड मात्र लाग्ने गरेका छन् ।

बेलायतको ३३ वटा युनिभर्सिटीहरुमा चिकित्सा शास्त्र अध्यान गर्न मिलेतापनि हरेक बिधार्थीले बर्षमा ४ वटा भन्दा बढि युनिभर्सिटीमा आबेदन भर्न पाइने नियम छैन । यदि ती युनिभर्सिटीहरुमा नाम निकाल्न सकिएन र चिकित्सक नै बन्ने रहर भएमा पूर्वी यूरोपको पूर्व साम्यबादी राष्ट्रहरु चेक, हङ्गेरी, बुल्गेरिया वा रोमानिय तिर हानिनु पर्ने हुन्छ । नत्रभने बङ्गलादेश वा चीन पुगेर हर्बल डाक्टर बन्नुपर्ने स्थिती रहन जान्छ ।

जतिसुकै कठिन परिक्षा भएतापनि मैले छोरालाई बेलायत बाट नै चिकित्सक बनाउने रहर गरिरहेको थिएँ । त्यसैले मेरो सल्लाह बमोजिम ब्रिस्टल, बर्मिङ्घाम, म्यानचेष्टर र लिभरपुल युनिभर्सिटीहरुमा छोराले आबेदन भरे । तर भाग्यले साथ दिएर उनलाई ब्रिस्टल र लिभरपुलले अन्तरवार्ताको लागि आह्वन गरेको थियो । ब्रिस्टलमा दिएको अन्तरवार्ता असफल भएतापनि लिभरपुल युनिभर्सिटीमा उनले नाम निकाल्न सक्यो ।

लिभरपुल युनिभर्सिटीमा ५ बर्ष अध्यान पुरा गरेपछि उनी जुनियर चिकित्सक बनेका थिएँ । त्यसपछि २ बर्षे आधारभुत तालिमको लागि पुनः छोराले अक्सफोर्ड डिनरीलाई छानेको थियो । तर दुर्भाग्यबश दोश्रोचोटी पनि त्यो कामयाब हुन सकेन । त्यसपछि उनले क्रमशः एक-एक बर्ष रोयल लिभरपुल अस्पताल र बर्मिङ्घाम अस्पतालमा आधारभुत तालिम पुरा गरेका थिएँ । २ बर्षे आधारभूत तालिम सकिएपछि अर्को २ बर्षे मूख्य ‘कोर’ तालिमको लागि फेरी अक्सफोर्ड छिर्नको लागि उनले प्रयत्न गरे । अहँ तेश्रो पटक पनि अक्सफोर्डमा उनले अबसर पाउन सकेनन् ।

पटक पटक गरेको प्रयत्नमा अक्सफोर्डमा अबसर नपाए पनि हाम्रो रहर अझै मरिसकेको चाँही थिएन । जे जसरी हुन्छ, एकपटक अक्सफोर्डमा छिरेर कुनै तालिम गर्ने अबसर मिल्यो भने जिन्दगीको सजिलै पार तर्न सकिएला भन्ने हामीलाई लागिरहेको थियो । तर त्यसो भन्दैगर्दा दिनानु दिन उनको अबसर सागुँरिदै घैटोको घाँटीझै भइरहेको थियो । निकट भबिश्यमा नै उनको सामु ६ बर्षे सर्जिकल तालिम आइरहेको थियो । यदि त्यसमा पनि उनले सफलता हात पार्न सकेन भने अन्तिम चोटी डाक्टर इन फिलोसोफी (डिफिल) मात्र गर्न बाँकी हुन्थ्यो ।

ल्याटिन भाषादेखि अङ्ग्रेजीमा रुपान्तरण गरिएको डिफिल तिनै शब्द हुन । जस्लाई प्रथम बिश्व युध्दको समयमा अरु सबै मानबजाती लडाईमा ब्यस्त भइरहेको बेला सन् १९१९ मा अक्सफोर्डले पिएचडी शब्दसँग त्यसलाई सट्टा भर्ना गरेका थिएँ । नत्रभने साधरणतय बेलायती अन्य युनिभर्सिटीहरुले अध्यावधि बिधावरिधी (पिएचडी) नै भन्ने गरेका छन् ।

कोर तालिम अक्सफोर्डदेखि पाउन नसकेपछि एक बर्ष कभेन्ट्री र अर्को बर्ष वुस्टर अस्पतालमा उनले तालिम पुरा गरेका थिएँ । उनी चिकित्सक भएको समय ४ बर्ष बितिसकेका भएतापनि समय एकनासले आफ्नै रफ्तारमा बहदै गइरहेको थियो । मानबिय जीवनमा हुने सबैखाले घटना परिघटनालाई भुलेर केबल पेट सम्बन्धि (कोलोरेक्टल सर्जन) बन्ने महत्वकाङ्क्षा बोकेर अर्को बर्ष उनी रोयल कलेज अफ सर्जरी, लण्डनमा ठूलो परिक्षा दिनको लागि हिड्यो ।

एकटुक्रा काँचो नरिवल खाएर शूभ-साहितमा हिडेको छोराले अति मेहनत तथा धैर्यताको साथ रोयल कलेज अफ सर्जरी लण्डनको (एमआरसिएस) परिक्षा उतिर्ण भएर सदश्य बन्न सफल भएको थियो । तीनै सफल परिक्षाको दिक्षान्त समारोहको बेला युगाण्डादेखि दादा इदि अमिनले लखेटेर ब्रिस्टलमा कोण पशल थाप्ने भारतिय मुलका एकजना ब्यापारीसँग मेरो अचानक त्यहाँ भेट भएको थियो । ‘बन्धु ! यो दिक्षान्त समारोह मेरो लागि खेलाँची पटक्कै होइन,’ दुईजना छोराहरु र दुवैजना बुहारीहरु बेलायतमा सर्जन भएको खुशि हुँदै उनले सुनाउँदा मेरो छोराको पनि बिहे गर्ने समय आएको जस्तो मैले त्यसबेला महसुस गरिरहेको थिएँ ।

रोयल कलेज अफ सर्जनदेखि एमआरसिएसको प्रमाणपत्र हात पारेपछि ६ बर्षे सर्जिकल तालिमको लागि अक्सफोर्ड डिनरीमा उनले पुनः आबेदन हाल्यो । पटक पटक तालिमको लागि अक्सफोर्ड छानेर वाकदिक भएतापनि कसोकसो त्यसचोटी पश्चिमदेखि शूर्योदय भएर घैटोमा घाम लाग्न सक्यो । त्यति लामो समयको कठोर परिश्रमपछि बल्लबल्ल छोराले अक्सफोर्ड युनिभर्सिटीमा ६ बर्षे कोलोरेक्टल सर्जन तालिमको लागि अबसर पायो ।

छोराले लामो शँघर्षपछि अक्सफोर्डको ढोका खोलेर ‘इन्डक्सन’ तालिमको लागि ‘बेलवेल’ कलेजको आगन्तुक कक्षामा पुगेको थियो । तिनै कोठामा सन् १६५६ मा युबा चिकित्सक जोन लकले पनि चिकित्सकको इन्डक्सन तालिम लिएका एउटा इतिहास बाँचीरहेकै थियो । तर रिङ्गटन, समरसेटदेखि इटन कलेज हुँदै अक्सफोर्डको ढोका खोल्न जोन लकलाई जति सजिलो परेको थियो । बुईपा, खोटाङ्देखि बानेश्वर हुँदै अक्सफोर्ड आइपुग्न जेशन राईलाई निश्चय नै त्यति सहज थिएन । त्यसदिनको इन्डक्सन तालिम सकेर कारमा घर फर्कदै गर्दा, ‘छोरा ! जीवनमा लडन ठूलो कुरो होइन, लडेर उठनु सबैभन्दा ठूलो कुरो हो,’ मन्डेलाको उक्त्त भनाइलाई बेलायती ठूलो बाटो (एम ४०) मटर वेमा सगौरबको साथ मैले सुनाइरहेको थिएँ ।

छोराको त्यति धेरै मेहनत र परिश्रमदेखि मलाई निश्चय नै केहि राहत अबश्य मिलेको थियो । तर, ‘कानुन निष्पक्ष हुन्छ, मानिस निष्पक्ष हुदैनन्,’ प्लेटोको प्रख्यात २२ पुस्तकहरु मध्ये ‘द लज’ देखि मैले त्यस्तो निश्कर्ष निकालेका जीवनका उकाली ओरालीहरुमा यदाकदा स्मंरण गरिरहेको हुन्थे । हुनत उनका सबै पुस्तकहरु पढने अबसर मलाई पक्कै पनि मिलेको छैनन् । तर अन्तर आत्मामा, ‘कानुन के हो ?’ भन्ने प्रश्नले जहिलेपनि मलाई घचघच्याई रहेको हुन्थ्यो । म्याकुबेरी र ह्वाइटका अनुसार, ‘कानुनको कुनै सिधा परिभाषा हुदैन, पानी जस्तै हो,’ भन्ने जानेपछि यस धर्तीमा हुने हरेक कुरोको ज्ञान लिइरहन जरुरी छैन रहेछ भन्ने सोच्न थालिसकेको थिएँ ।

तर त्यसो भन्दैगर्दा मैले एकाइसौ शताब्दिको मानब जीवन ब्यतित गरिरहेको थिएँ । त्यसैले पटमूर्ख बनेर परिस्थितिदेखि त्यति सजिलो भागि हाल्न रहर लागेर आउदैनथ्यो । अझ कानुनी राज्यमा बसाइ सरेको हुनाले खाँदा, बस्दा, हिडदा र प्रत्येक शब्द बोल्दा नियमको परिधिभित्र रहेर बाँच्नुपर्ने मलाई बाध्यता थियो । मासु सकिएर चाउरी परेको अनुहार र खङरङ्ग जीउलाई मूश्किलले डोरयाउदै ६ दशक पुरयाउनै लागेका थिएँ । त्यस्तो हेर्दै रहर मरेर आउने सेताम्मे केश पाकेका म आफैले चाँही केही अध्यान गर्न सक्त्तिनथे । त्यसैले छोरालाई चिकित्सक बनाएतापनि छोरीलाई काननुको बिधार्थी बनाउने ठूलो रहर पालेर बसिरहेको थिएँ । अनि छोराले जुन जुन बिधालय र कलेजमा अध्यान गरेका थिएँ । छोरीले पनि सोहि ठाउँमा कदम टेकेकी थिइन । तर फरक मात्र के थियो भने छोरो बिज्ञान र छोरी कानुनका बिधार्थी थिइन ।

हाम्रो जस्तो पुरुष प्रधान भएको समाजमा जसरी भएपनि म छोरीलाई कानुनबेत्ता बनाउन चाहिरहेको थिएँ । त्यसैले छोराको समयमा झै छोरीको समयमा पनि युनिभर्सिटी छान्ने बिषयमा निक्कै धेरै अनुभव बटुल्न थालेका थियौ । छोराको पालादेखि त्यसबेलासम्म बेलायती युनिभर्सिटीहरुको घरदैलोमा घरिघरि पुगेर दोहलो काँढिसकेको थिएँ । त्यसैले बेलायतदेखि बाहिर जाने रहर पनि हामीले गर्न थालेका थियौ । त्यँही क्रममा सबैभन्दा पहिले इटालीको बोलोग्नो युनिभर्सिटीमा पुगेका थियौ । किनभने सन् १०८८ मा स्थापना भएको त्यो नै बिश्वको सबैभन्दा पुरानो युनिभर्सिटी रहेको थियो । त्यसको ८ बर्षपछि सन् १०९६ मा स्थापना भएको अक्सफोर्डले दोश्रो उपाधि पाएको थियो भने सन् १२०९ मा स्थापना भएको क्याम्ब्रिजले १२३१ मा मात्र राजकिय अधिकारपत्र (चार्टर) पाएका थिएँ ।

चिन्ता परिचिन्तनका प्रेमी छोरी र मेरो रहरहरु त्यतिले मात्र पुरा हुन सकेका थिएनन् । त्यसैले अमेरिकन बिमान चढेर राष्ट्रपति केनेडीको जन्मघर बोस्टनतर्फ हानिएका थियौ । तीनै बोस्टनमा अबस्थित हारबर्ड युनिभर्सिटीको प्राङ्गणमा रहेको जोन हारबर्डको शालिकलाई हेर्दै उनलाई लामो समयसम्म सस्मंरण गरिरह्यौ । सरि, इङ्गल्याण्डमा जन्मेर इमान्युल कलेज, क्याम्ब्रिजमा लगभग ७ बर्ष अध्यान गरेका जोनले त्यस युनिभर्सिटीको स्थापना गरेका थिएँ । र, तीनै युनिभर्सिटीमा राष्ट्रपति ओबामा दम्पतीले पनि कानुन पढेका थिएँ । अर्को महिना छोरीसँग राष्ट्रपति पुटिनले कानुन अध्यान गरेका युनिभर्सिटी हेर्न सेन्ट पिटर्सबर्ग, रुसमा पुगेका थियौ । संसारका प्रतिष्ठित कानुनका युनिभर्सिटीको अध्यान भ्रमण गरिसकेपछि छोरीले लण्डन सहरभित्र नै अध्यान गर्ने जिकिर गरेकी थिइन । त्यसैले एल ए सी, यु सि एल, किङ्गस र क्विनम्यारी युनिभर्सिटीहरुमा आबेदन दिइन ।

नभन्दै उनको चन्द्रमा दाहिने परयो । कानुनको लागि अग्रपङ्त्तिमा रहेको युनिभर्सिटी क्विन मेरीमा उनको नाम निस्कन सकेको थियो । हरेकबर्ष उनका धेरै साथिहरुले युनिभर्सिटी परित्याग गर्दै हिडेतापनि कुनै बाधा अबरोध बिना उनले ३ बर्षे अध्यान पुरा गरेकी थिइन । उनको अध्यान पुरा भएपछि दिक्षान्त समारोहमा भाग लिनको लागि हामी एकदिन लण्डनमा अबस्थित ‘ल सोसाइटी’ पुगेका थियौ । सन् १७४० मा स्थापना भएको तिनै ल सोसाइटीमा केहि प्रमुख ब्यक्त्तित्वहरु महात्मा गान्धी, महम्मद जिन्हा, डा. भिम राव अम्बेकडरले मात्र नभएर लि क्वान यी समेतले त्यहाँ दिक्षित भएका थिएँ ।

अछुत परीवारमा जन्मेका अम्बेकडर (बाबासाहेब) तिनै आदरणिय ब्यक्त्तित्व हुनुहुन्छ । जस्ले हिन्दु समाजलाई बराबरी अधिकार दिने हो भने मनुश्मृती नै परिवर्तन गर्नपर्छ भनेका थिएँ । जीवनको उत्तरार्ध कालमा बुध्द धर्म ग्रहण गरेका अम्बेकडरले, ‘यदि ब्रम्ह्को मुखबाट शुद्र र पयरबाट ब्राम्हण जन्मेको थियो भन्ने नियम बनाउन सकियो भने अहिलेसम्म भइरहेको एतिहासिक अन्याय सबै मिल्न जान्छ,’ भन्दा गान्धीको अनुहारदेखि चिटचिट पसिना निस्केको थियो । त्यसपछि गान्धीले आजीवन अम्बेकडरको अनुहार खुलेर हेर्न चाहेका थिएनन् । तिनै कानुनका ज्ञाता अम्बेकडरले ४ सय ४४ धारा र १ लाख १७ हजार ३ सय ६९ शब्दहरुले कुँदेर भारतको संबिधान लेखेका थिएँ । जुन संबिधान अहिलेसम्म संसारको सबैभन्दा लामो संबिधान हुन गएको छ ।

छोरीले अङ्ग्रेजी कानुनको डिग्री हात पारेपछि म्यानचेष्टर र बर्मिङघाममा एक-एक बर्षको प्यारा लिगलको तालिम लिएकी थिइन । त्यसपछि लिभरपुलमा अर्को एकबर्ष लिगल प्राक्टिस कोर्स (एलपिसी) को अध्यान गरेकी थिइन । सोलिसिटर हुनको लागी अनिबार्य गर्नुपर्ने त्यो अध्यानको लागि बार्षिक शुल्क मात्रै १२ हजार स्टर्लिङ पाउण्ड लाग्ने गर्दछ । त्यसै त म दरिद्र थिएँ, छोरीको त्यस अध्यानले घरिघरि पैसा तिर्नुपर्दा गान्धीको झै मेरो पनि अनुहारमा चिटचिट पसिना आएको थियो । ज्यादै अफ्ठ्यारो र पट्यारिलो एक बर्षे अध्यानपछि बल्ल बल्ल ट्रेनी सोलिसिटरमा आबेदन भर्नको लागि अबसर पाएकी थिइन ।

तर आबेदन भर्ने अबसर पाएर मात्र के गर्ने र ? त्यसको प्रतिफल पाउन दिनानुदिन ज्यादै चर्को हुँदै आइरहेको थियो । बेलायतमा सोलिसिटर हुनको लागी हरेक बिधार्थीहरुले २ बर्षे ट्रेनि सोलिसिटर अनिबार्य गरेको हुनुपर्छ । ट्रेनि सोलिसिटर निजी कम्पनीहरुले मात्र उपलब्ध गराउने भएको हुनाले त्यहाँ स्थान पाउन ज्यादै कठिन हुने गर्दछ । किनभने, ‘मानबिय स्वभाव पक्षपाति हुन्छ,’ भन्ने कुरो नेपालदेखि बेलायतसम्म धेरैचोटि अनुभव गरिसकेको थिएँ । हुनत ट्रेनिको लागि २ बर्ष तालिम र तलब पनि दिनुपर्ने भएकोले निजि कम्पनिका मालिकहरुले सबै प्रकृया पुरयाएर आफ्नो सन्तानहरुलाई मात्र पहिलो प्राथमिक्तामा राख्ने गरेका हुन्छन् । त्यसैले पुस्तौ पुस्तादेखि बेलायतमा कानुन ब्यबशायिहरुको सन्तान कानुन ब्याबशायि नै हुने गरेका छन् । सम्भवत आधुनिक जमानाको यो निक्कै दुःखद पक्ष हो ।

एक सुटकेस जति फाराम भरेर हैरान खेपेकी छोरी थाकेर लखतरण परेकी थिइन । तर धाराबाहिक अन्तर्बार्ता पश्चात् ‘बाराट एण्ड को’ रेडिङ्ले उनलाई २ बर्षे ट्रेनिको तालिम दियो । ‘कर्पोरट फिल्डमा’ योग्यता हासिल गरेपछि बानबुरी सोलिसिटर्स फर्ममा हाल उनी कार्यरत भएकी छिन । तैपनि बिश्वको सबैभन्दा चर्चित कानुनी फर्महरु (म्याजिक सर्कलमा) २ बर्ष काम गर्नको लागि दिनहुँ फारामहरु भरिरहेकी छिन । म्याजिक सर्कलमा बहुराष्ट्रिय कम्पनीहरु एलान एण्ड ओभरी, क्लिफोर्ड चान्स, फ्रेशफिल्डस, लिङ्केटर्स र स्लाउटर एण्ड मे रहेका छन् । जुन कर्पोरेट कम्पनीहरुको बार्षिक करोबार बिलियन पाउण्ड भन्दा माथि नै हुने गरेका छन् ।

छोरीले सोलिसिटरको न्युनतम अनुभव ६ बर्ष पुरा गरेपछि मात्र न्यायधिसको प्रतिश्पर्धामा भाग लिन पाउने छिन । तर त्यो भन्दा अगाडी कैयन छेकबारहरुलाई पार गर्नु पर्ने हुन्छ । हुनत हरेक मानबको सपना बिपनामा परिणत नहुन पनि  सक्त्तछन् । तर कतै जाने हो भने प्रथम कदम चाल्नै पर्ने हुन्छ, किनभने जस्तोसुकै काम पनि त्यति सजिलो हुनेछैन ।\

छोराले हालसालै वारविक युनिभर्सिटी बाट मेडिकल एजुकेसनमा मास्टर उतिर्ण गर्यो भने छोरीले लिभरपुलदेखि बिजिनेसमा मास्टर अध्यान गर्दै गरेकी छिन । तर जिन्दगीमा जतिसुकै अध्यान वा अनुभव गरेता पनि ३० हिउँद काटेका छोरा र २६ टेकेकी छोरीले एकदिन बिबाह गर्नुपर्छ भन्दा ३ बर्ष पछि फेलोसिप रोयल कलेज अफ सर्जन (एफआरसिएस) र म्याजिक सर्कलको फाराम कै मात्रै कुरो आउने गरेका छन् । त्यसैले, ‘के मानबिय करियर नै बिहे हो त ?’ भनेर म कुनैबेला द्विधामा परिरहने गर्दछु ।

तैपनि उनीहरुको आधुनिक बिचार सुनेर मलाई घरिघरि आदर्शवादी बिचारका महागुरु विलियम फ्रेडरिक हेगेलको याद आउने गरेका छन् । उनले बाद (थेसिस), प्रतिबाद (एन्टि थेसिस) र सम्बाद (सायन थेसिस) को सिदान्त प्रतिपादन गरेका थिएँ । तर छोराछोरीको बिबाहको हकमा भने मेरो परिवारमा धेरैचोटी बाद र प्रतिबाद उत्पन्न भएतापनि खै कुन्नि किन हो सम्बादले कहिले समश्य सामधान गर्न सकिरहेका छैनन् ।

हुनत मानब जीवनको लागि बिबाह सबै चिजको सामधान चाँही निश्चय पनि हुँदै होइन । बिश्वको बहुचर्चित धनाढ्यहरु जेफ बेज र बिल गेटस पनि पारपाचुकेदेखि जिन्दगीमा टाढा रहन सकेका थिएनन् । मलाई जहाँसम्म लाग्छ, यस धर्तीमा हुने कुनैपनि भौतिक चिजको उनीहरुलाई केही कमि छँदै थिएनन् । तर निश्चित रुपमा शारिरिक सम्पर्ग चाँही केहि चिज हो कि भन्ने यदाकदा लागिरहेको छ । नत्रभने मानव जीवनको लागि सबैभन्दा धेरै सोच्ने मार्क्सबादका पिता कार्ल मार्क्सले आफ्नी पत्नी जेनीसँग लुकिछिपी धाईआमा हेलेन डेमुथदेखि अबैधानिक छोरो फ्रेडरिक डेमुथको जन्म किन दिन्थे होला र ? उनकै समकक्षी फ्रेडरिक एङ्गेल्सले आइरिस लडकी म्यारी बर्न्ससँग बाँचिन्जेल प्रेम गरिरहे । अझै भएन म्यारीकी मृत्युपछि उनकी साख्खै बहिनी लिज्जिसँग सल्केर उनको देहबसान हुनु भन्दा एकदिन अगाडी मात्र बिहे गरेका थिएँ ।

सोर्हबर्षको उमेरदेखि बिहेगर्न सुरु गरेका माओले आफ्नो जीवन कालमा ४ चोटी बिहे सम्पन्न गरेका थिएँ । उनी भन्दा ४ बर्ष जेठी तर पखालाले मृत्युवरण भएकी उनको पहिलो श्रीमती लिउ यिसिउको समाधिस्थल साओसान, हुनान प्रान्त पुग्दा मैले माओलाई मनमनै सरापेका थिएँ । त्यस्तै अक्टोबर १९२६ मा जङ्ग सुमिङसँग ग्वाङ्जाउमा बिहे गरेतापनि हो ची मिन्हले बाँचिन्जेलसम्म, ‘अह ! मैले बिहे गरेको छैन,’ भनेको सियाम रिपमा पुगेर सुन्दा मेरो आँखादेखि पिलिक्कै आँशुको थोपा खसेको थियो । मानिस अबसर पाउँदा कतिसम्म तल गिरेर स्वार्थी, निर्दयी र पापी हुने रहेछन् भन्ने कुरो तिनै हो चि मिन्हदेखि मैले चाल पाएँको थिएँ ।

झन सबैभन्दा खेदको कुरो त लाउ एन्ड्रिजसँग फ्रेडरिक नित्सेले तीन-तीनचोटी प्रेम प्रस्ताव राख्दा, ‘म केबल तपाईको नजिकको साथी हुनसक्छु, तर तपाईको पत्नी हुन सक्त्तिन,’ भनेपछि उनले आबल ब्रम्हचारी बन्ने निर्णय गरेका थिएँ । जसको कारण उनको मृत्यु पनि चाँडै भएको थियो ।

जति अध्यान र अनुभब गरेतापनि आखिर बिबाह नै नगर्ने हो भने मानबिय जिन्दगी जर्ज ओरेलको पुस्तक ‘पशु खेती’ जस्तै हुने रहेछ । पशु खेतीले जारको शासन हटाएर त्यो भन्दा निरङ्कुश स्टालिनको शासनलाई मज्जाले उर्जागर गरिदिएको छ । अझै त्यतिले मात्रै होइन, ‘राज्य भनेको मै हुँ,’ भन्ने राक्षसी राजा लुइस चौधौदेखि रिसाएका जनताले लुइस सोर्हौसम्म पुग्दा गिलेटिनले घाँटी छप्काइ दिएका थिएँ । अन्तमा फ्रान्समा राजा भन्दा नेपोलियन शक्त्तिशाली भएर उदाएका थिएँ । ‘दाजु जस्तो टुलुटुलु हेरेर बस्दिन,’ भन्ने राजा भन्दा, ‘बयल गाडादेखि अमेरिका पुग्न सकिन्न,’ भन्नेहरु झन शक्त्तिशाली शासक बनिरहेका हाम्रा सामु मध्यान्हको शूर्य झै छ्याङ्गै भएका छन् ।

अन्तमा, ‘जहाँदेखि आएको थियौ, त्यँही पुग्नु पर्ने हौं,’ भने जनताले क्रान्ती र हरेक छोराछोरीले अध्यान किन गर्नु परयो होला र ? त्यसैले म चाँही अब कुनदिन छोराछोरीको बिबाह होला र नाति नतिनीको सुकोमल अनुहार हेर्न पाइएला भनेर हानवेल गाउँको कुनामा बसेर खियाँ परिसकेका आफ्ना हस्तरेखाहरु राम्ररी नियाली रहेको छु । नत्रभने तीनै पशु खेतिका मूख्य पात्र ‘ओल्ड मेजर’ को झै जीवन परिवर्तन गर्ने मेरो सपना खै कसरी साकार हुन सक्ला र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार