कोभिड-त्रास,पिर्के सलामी र सरकार नै मलामी !

  गोपाल पौड्याल  355 पटक हेरिएको

गोपाल पौड्याल

अहिले हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्ने समय हो । कुनै व्यक्ति असल हुन उसको चिन्तन र व्यवहार शिष्ट हुनुपर्छ । राष्ट्र प्रेम हुनुपर्छ । यो तरल अवस्थामा देशको सर्वजनिक सम्पत्तिको बेवास्ता गरी दोहन हुनबाट बचाइ संरक्षण र सुरक्षाका लागि हरेक नागरिकको उत्तिकै दायित्व हुन्छ । राष्ट्र प्रेम राष्ट्रियताको एक पक्ष हो भने हामी असल छौँ, हाम्रो व्यवहार असल छ भन्नुचाहिँ त्यसको अर्को पक्ष हो । जिम्मेवारी लिन सक्ने क्षमता हामीमा नभए पनि आफूलाई त्यसमा स्थिर राख्ने जिम्मेवारी भने हाम्रै हो । म सानो हुँ, मेरो केही जिम्मेवारी छैन भनी निच मार्नुहुन्न ।पद भनेको कसैले दिएको सामान हो, उसले जति बेला पनि फिर्ता माग्न सक्छ । उसले मागेपछि रिक्त नै हुने हो । निःस्वार्थ सहयोगमा ठूलो आनन्द छ । व्यक्ति–व्यक्ति बीचको स–सानो सहयोगले नै भविष्यमा आउने ठूलो क्षति हुनबाट जोगिन सकिन्छ र देशलाई पनि जोगाउन सकिन्छ ।

गत वर्ष भारतबाट नेपाल प्रवेश गर्नेका हकमा सीमावर्ती जिल्लाहरूमा कैयौं ‘क्वारेन्टिन’ बनाइएका थिए । निश्चय पनि ती क्वारेन्टिनहरू कमजोरी रहित थिएन्न । सरकारले नै बनाएको मापदण्डको पालना पनि तिनमा भएको थिएन । एउटै कोठामा धेरै जना कोचिनु पर्दथ्यो । कहीँ महिला–पुरुष लहरै सुत्नुपथ्र्यो  । कतिमा शौचालय, धारालगायतका आवश्यक पूर्वाधारको व्यवस्थाधरि थिएन । त्यही भएर उपचार अभावमा क्वारेन्टिनमै ज्यान जाने अवस्थासमेत निम्तियो । कति त्यहीँ संक्रमित भए । दुव्र्यवहारका घटना पनि बाहिर आए । यति हुँदाहुँदै पनि क्वारेन्टिनहरू खडा गर्नुको राम्रो पक्ष के थियो भने, त्यहाँबाट संक्रमण सोझै गाउँसम्म पुग्न पाएन । चोर नाका हुँदै थाकथलो पुगेका र गृह–क्वारेन्टिनको नियमसमेत पालना नगरेकाहरूबाट गाउँमा संक्रमण केही हदसम्म फैलिए पनि क्वारेन्टिनहरूले ठूलो संख्यामा संक्रमणको साङ्लो चुँडालेकाले अवस्था त्यतिसाह्रो भयावह बन्न पाएन । फेरि,धेरै पालिकाहरू आफैंले पनि र्पिके सलामी छोडेरै भएपनि बाहिरबाट आउनेका लागि क्वारेन्टिनहरू बनाएका थिए । विडम्बना नै भन्नुपर्छ— यसपालि त अपवादबाहेक यस्तो अभ्यास भएकै छैन त ।

भनिरहनु पर्दैन, भारतमा अहिले कहालीलाग्दो अवस्था छ र नेपाल पनि बिस्तारै त्यही दिशाउन्मुख देखिन्छ । तर यता कतिसम्म खेलाँची भैरहेको छ भने, भारतबाट आएकाहरू सीधै घरतिर गइरहेका छन् । नाका आसपासमा कुनै ‘होल्डिङ सेन्टर’ नभएकैले उनीहरूलाई त्यसै घर जान दिइएको छ । नेपाल भित्रिदां गरिने एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भए पनि उनीहरूलाई रोकेर राख्ने ठाउँ छैन । यही कारण, संक्रमण सहजै समुदायमा पुगिरहेको छ । यसको अर्थ हो–हामीले जानी–जानी खतरा निम्त्याइरहेका छौं । भारतमा संक्रमण आकासिन थालेको महिना दिन नाघिसक्दा पनि नेपालले अझै यसको प्रबन्ध गर्न नसक्नुले सरकारको व्यवस्थापन कौशलको धज्जी उडिरहेको छ, र हामी थाहा पाई–पाई पनि महामारीको अझ ठूलो दलदलमा फस्न गैइरहेका छौं । रूपमा हामी रोगबाट प्रताडित देखिए पनि खासमा अक्षम शासक–प्रशासकहरूको सिकार भैरहेका छौं ।

सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको दुई साता बितिसक्दा पनि कामको खासै सुरसार छैन । हाम्रो कार्यशैली नै कति सुस्त छ भने, मन्त्रिपरिषद्ले वैशाख ५ मा नेपाल–भारत सीमाका प्रवेशविन्दुमा प्रत्येकमा हजार जना अट्ने गरी आठ नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । तर वैशाख १३ गते बल्ल तोकिएका आठ नाका— झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी र काठमाडौं उपत्यका प्रवेश गर्ने थानकोटमा एक–एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइयो । र, अहिले अलमल कति सानो कुरामा भइरहेको छ भने कतिपय जिल्लामा यस्तो सेन्टर राख्ने स्थान छनोट पनि गर्न सकिएको छैन ।

मुलुक प्रवेश गरेपछि अडिने स्थान नभएकैले नागरिकहरू जोखिमपूर्ण तवरबाटै सोझै सार्वजनिक यातायातमा गृहजिल्ला जाने क्रम रोकिएको छैन । उनीहरूलाई निश्चित दिनसम्म होल्डिङ सेन्टरमा राखेर सुरक्षित रूपमा घर पुुर्याउने व्यवस्था गर्न अब पनि ढिलाइ गर्नु भनेको महामारीको अझै डरलाग्दो परिस्थिति निम्त्याउनु हो । नाकाबाट आइरहेका बेला उनीहरूमा स्वास्थ्य समस्या नदेखिए पनि संक्रमण नै छैन भन्न सकिँदैन । कदाचित संक्रमण रहेछ भने घर पुग्दासम्म यसबाट धेरैलाई सरिसकेको हुन्छ । त्यसैले नाका आसपासमै होल्डिङ सेन्टर वा क्वारेन्टिन बनाएर उनीहरूलाई राख्नुको कुनै विकल्प छैन । र, पीसीआर परीक्षणबाट संक्रमित नभएको पुष्टि भएपछि वा क्वारेन्टिन अवधि सकिएपछि मात्रै उनीहरूलाई घर पठाउने व्यवस्था गर्नुपर्छ । यसरी पठाउँदा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिनुपर्छ ।

रोग रोकथामको यो उपाय जति नै जटिल र खर्चिलो भए पनि संक्रमण फैलिएपछि निम्तिने भयावह अवस्थाको तुलनामा केही पनि होइन । सरकारले पहिल्यै रोकथाममा ध्यान दिएमा मात्रै पछि अत्तालिने अवस्था सिर्जना हुँदैन । हो, यसपालि होल्डिङ सेन्टर र क्वारेन्टिनहरूमा पोहोरका जस्ता कमजोरी हुनु हुन्न । तर, यस्ता केन्द्रहरू बनाउँदै नबनाउने महाभूल त झनै गर्नु हुँदैन । तसर्थ, तीनै तले सरकारहरूले यसको उचित चाँजो मिलाउनुपर्छ । महामारी कै प्रकोप नियन्त्रण गर्न भनेर सरकारले विद्यालय, कलेज, होटलजस्ता उपयुक्त संरचना खालि गराई सकेकै छ अव होल्डिङ्ग सेन्टर बनाउन तत्कालमा किन खर्च गर्ने यिनै विद्यालय, कलेज, होटलजस्ता विद्यमान उपयुक्त संरचनालाई होल्डिङ्ग सेन्टरका रूपमा विकास गरेर प्रयोगमा ल्याउन ढिलाइ गर्नु हुन्न, ताकि संक्रमण सोझै समुदायमा फैलन नपरोस,कोही पनि अनाहकमा महामारीबाट प्रताडित बन्नु नपरोस अनि सरकार पनि मलामी बन्नु नपरोस ।

२०७७ को आगमनदेखि नै भोगेको कोरोना–कहर घट्नेभन्दा झन् बढ्दो देखिनु ठूलो चिन्ताको विषय बनेको छ । दोस्रो लहरको सम्भाव्य जोखिमले यतिखेर समाज आक्रान्त छ । भारतमा संक्रमण भुसको आगोझैं भएको छ । तीनतिर भारतसँगकै खुला सिमानाले बेरिएको हाम्रो सानो देशका लाखौं मानिस रोजीरोटीका लागि त्यता जाने गर्छन्। त्यसरी लावालस्कर लागेर जाने र फर्किनेहरूको कुनै आधिकारिक तथ्यांक हामीसँग छैन । यो महामारीबाट सिक्नुपर्ने पहिलो पाठ थियो– कन्ट्याक्ट ट्रेसिङ । यसका लागि हरेक नाकामा एउटा खरिदार र एउटा ल्यापटप भए हुन्छ । हाम्रो ध्यान यतातिर छैन । डिजिटल ठेगानाले देशभरका मानिसहरूलाई जोड्नु नेपालको पहिलो आवश्यकता हो । यो कार्य हामी आगामी राष्ट्रिय जनगणनासँगै गर्न सक्छौं ।

विश्व यतिखेर कोरोनाले अर्थतन्त्रमा पारेको गहिरो प्रभाव, कोरोनापछिको भविष्यको आंकलनमा व्यस्त छ । दुर्भाग्य, हाम्रा समय र सम्भावनाहरू महामारी नियन्त्रणमा नभएर सरकार कसरी गिराउने र सांसद किनेरै भए पनि जनवाद होइन डनवादलाई कसरी टिकाउने भन्ने मात्रै भएको छ । जवाफदेही, नैतिकता, संविधानको मर्म र भावना कुन चराको नाम हो, नेताहरूलाई सरोकारको विषय भएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार