खुल्ला नाकाको असर : गाउँगाउँमा फैलियो संक्रमण

  नयाँ बुलन्द  79 पटक हेरिएको

 

फाइल तस्वीर

इलाम : एकहप्ता अघिसम्म पूर्वी नाका काँकरभिट्टा, पशुपतिनगर क्षेत्रबाट दैनिक हजारौको संख्यामा मानिसहरु नेपाल भित्रिएका थिए ।

भारतमा दैनिक ३ लाखको हाराहरीमा कोरोना संक्रमित बढ्न थालेपछि त्यहा रहेका नेपालीहरु देश फर्क अभियानमा थिए ।

भारतमा रहेका नेपालीहरु पूर्वी नाकाबाट मात्र होइन देशका सवै नाकाबाट दैनिक लाखौको संख्यामा मानिसहरु भित्रिएका छन् । भने तेस्रो मुलुकबाट आउनेको संख्या पनि ठूलो छ । जसका कारण कोरोना संक्रमण गाउँ–गाउँमा तीव्र बन्दै गएको छ ।

अघिल्लो वर्ष सरकारले क्वारेन्टाइन निर्माण गरेर भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको क्वारेन्टाइन मार्फत पीसीआर परिक्षणण गराउने तथा १४ दिन क्वारेन्टाइनमा राख्ने गरेका कारण गाउँमा प्रत्यक्ष रुपमा संक्रमण हुन सकेको थिएन । तर यसपटक भने सरकारले होम क्वारेन्टाइनलाई प्राथमिकता दिँदा संक्रमण गाउँमा तीव्र रुपमा फैलिदै गएको हो ।

गतवर्ष सामुहिक क्वारेन्टाइनको अवधारण सरकारले ल्याको भएपनि यसपटक भने होम क्वारेन्टानको व्यवस्था गरेर सोहि अनुसार स्वास्थ्य निर्देशिका लागु गरेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले बताए ।

‘सामुहिक क्वारेन्टाइनमा ठूलो संख्यामा मानिसहरुलाई राख्नुपर्दा संक्रमित नभएकाहरुलाई समेत संक्रमण हुने देखिएपछि यसवर्ष सरकारले होम क्वारेन्टाइनको व्यवसथा गरेको छ’, यादवले भने –‘संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्दै छ ।’

उनका अनुसार अघिल्लो वर्ष कमजोर खालको भाइरस थियो । त्यसवेला संक्रमितहरुको आ–आफ्नै भोगाइ र बुझाइ छ । त्यसैले यसपटक हेलचेक्रई बढ्दा परिस्थिति भयावह बन्दै गएको छ । हामी पूर्वी नाकामा छौँ, त्यसैले जोखिम पनि उच्च छ । जीवनलाई रोज्नेकी मृत्युलाई उनले प्रश्न गरे ? स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य मापदण्ड ईमान्दारी पूर्वक पालना गरे कोरोनाबाट जोगिन सकिने यादवले बताए ।

पछिल्लो समय मेचीनगरपालिकाले सचेतना अभियान सुरु गरेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि मंगलबार सम्ममा मेचीनगरमा ५३ जना संक्रमित भइसकेका छन् । संक्रमण तीव्र बनेपछि मेचीनगरले संक्रमित परिवारका सदस्यहरुको पीसीआर परिक्षण समेत सुरु गरेको छ । मंगलबार २३ जनाको पीसीआर परीक्षण गरिएको यादवले बताए ।

उता जिल्लामै संक्रमण तीव्र बन्दै गएपछि जिल्ला कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले पूर्वी नाकामा होल्डिङ सेन्टर बनाउने निणर्य गर्याे । तर, निणर्य भएको ९ दिन भइसक्दासमेत निर्माणकार्य पुरा हुन सकेको छैन । नेपाली सेनाले काँकरभिट्टा माविको खेल मैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ ।

गतवर्ष सोहि ठाउँमा नेपाली सेनाले दुईवटा होल्डिङ सेन्टर निर्माण गरेको थियो । नेपाली सेनाले विगतको भन्दा स्तरीय होल्डिङ बनाउने सरकारको योजना अनुसार स्रोत जुटाउन समय लागेको प्रशासन स्रोतले जानकारी दिएको छ ।

होल्डिङ सेन्टर स्थापना र सञ्चालनको जिम्मा पाएको चारआली स्थित नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापाले आफुहरुसँग भएको टेन्ट प्रयोग गर्दै होल्डिङ निर्माण गर्न सुरु गरिएको तर पर्याप्त सामग्री र स्रोतको अभावमा यसले पूणर्ता पाउन नसकेको बताए ।

एन्टिजेन पोजेटिभ भेटिएकाहरुलाई प्रवेश बिन्दुसँगै रहेको टेन्टमा राखेर सम्बन्धीत स्थानीय तहसम्म पठाउने तयारी भइरहेको र सोको कार्यान्वयका लागि प्रशासनसमक्ष अनुरोध गरिएको थापाले जानकारी दिए ।

यसरी हेर्दा सीमा नाकामा होल्डिङ सेन्टर स्थापनासँगै स्क्रिनिङको काम सुरु हुन अझै कति समय लाग्ने हो भन्ने टुंगो देखिदैन । सामग्रीको अभावमा काम सुरु गर्न नसकेको सेनाले प्रशासनले स्रोत उपलब्ध गराएको एकदिन भित्रमै स्क्रिनिङको काम सुरु गर्ने जनाएको छ ।

भारतमा दैनिक चारलाख भन्दा धेरै कोरोना संक्रमित थपिरहँदा भारतमा रहेका नेपालीहरु दैनिक २ सयको हाराहारीमा नेपाल प्रवेश गरिहेको नाकामा रहेको सशस्त्र प्रहरीको काँकरभिट्टा विओपीको तथ्यांकले देखाएको छ ।

यसैवीच आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पूर्वीनाका पशुपतिनगर र काँकरभिट्टा अनुगमन गर्दै सीमा खुकुलो हुन नदिन निर्देशन दिएका थिए । उनले भारतसँगको सीमालाई कसिलो तुल्याउन र होल्डिङ सेन्टर व्यवस्थित गर्न सुझाव दिएका थिए ।-लोकतन्त्र पोस्टबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार