इलाम : इलाम र पाँचथरको सिमाना फाकफोकथुम-१,घुर्बिसे पञ्चमी बजारमा रहेको दुईतले कच्ची घर गए रातीको भीषण वर्षासंगै पूर्णरुपमा क्षति भएको छ ।
पाँचथर फाल्गुनन्द-५ निवासी नगेन्द्र चेम्जोङले चार आनी क्षेत्रफलमा काठ र जस्ता पाताबाट बनाएको पुरानो घर साविक ठाँउबाट तीन मिटर तल लच्किएर क्षति भएको प्रहरी चौकी आमचोकका प्रहरी सहायक निरीक्षक मदन बहादुर बस्नेतले जानकारी दिए । घटनामा कुनै मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
करीब १८ लाख रुपैया बराबरको घर र सो घर भाडामा लिएर खाजानास्ता संचालन गर्दै आएका माइ नगरपालिका इलामका प्रेम कुमार शेर्माको दुईलाख ५० हजारको सामान सहित जम्मा २० लाख ५० हजार रुपैया बराबरको क्षति भएको पीडित पक्षले दावी गरेका छन् ।
उक्त क्षति भएको घरसंगै हाल छिमेकीले पक्की घर निमार्ण गर्दै गरेको र उक्त घर निर्माण गर्न सामाग्री राख्दा नाली थुनिएर घरमा पानी छिरेका कारण घर भत्किएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ
थप क्षति विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।