फाल्गुनन्दका अगुवा कृषक नेम्वाङले तरकारी खेतीबाट लाखौं रुपैया आम्दानी गर्दै

  युद्धबहादुर बोहोरा  234 पटक हेरिएको

(आफ्नै कृषि फर्ममा टमाटर टिप्दै कृषक टीका नेम्वाङ )

पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदिनका अगुवा युवाकृषक टीका नेम्वाङले तरकारी खेतीबाट बर्सेनि लाखौं रुपैया आम्दानी गरिरहेका छन् ।

नेपालमा बेरोजगार भएर हजारौं युवाहरू दिनहुँ विदेश पलायन भइरहेको अवस्थामा नेम्वाङले भने स्वदेशमै परिश्रम गरेर लाखौं रुपैया कमाइ गर्दै गाउँका एक उदाहरणिय कृषकका रूपमा चिनिएका छन् ।
केहि वर्ष पहिले खाडी मुलुक पुुुुगेका ३५ वर्षिय नेम्बाङ राम्रो कमाई नभएपछि चार वर्षपछि घर फर्किएर आफ्नै जमिनमा तरकारी खेती शुरू गर्न थालेका हुन् ।
बालुवाको मरुभूमि साउदी अरबमा समेत राम्रो सब्जि फलेको देखिपछि उनले आफ्नाे देशमा त्यो भन्दा उत्तम  सब्जि फलाउन सकिन्छ भन्ने सोचाइ गरेर नेपाल फर्किएपछि पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेतीमा प्रवेश गरेका थिए ।

शुरुमा आठ हजार रुपैया लगानी गरेर सानो खेती लगाए । त्यसपछि दुईलाख रुपैयाबाट १० वटा टनेल बनाएर टमाटर,करेला र अकबरे खुर्सानी रोपे । अकबरे खुर्सानी र त्यसको बेर्ना समेत उत्पादन गरि बिक्रि गर्दै उनले खेती बढाए ।
काँक्रो,टमाटर,खोर्सानी,करेला जस्ता वेमौसमि सब्जि खेती गर्न ग्रीन हाउस र टनेल निमार्ण गर्दै उत्पादन वृद्धि गरेसंगै केहि जमीनमा अलैंची खेती समेत लगाएर विदेशको भन्दा राम्रो नेपालमै आयस्रोत जुटाउन थाले ।

गत असोजमा बेर्ना राखेर उनले कार्तिकमा रोपेको टमाटरबाट अहिले धमाधम उत्पादन शुरु भएको छ । हाल ५० रुपैया प्रति किलोग्रामका दरले बजारमा बिक्री गर्दै गरेको उनले बताए । पाकेको समयमा टमाटर टिप्दा प्रति बोटमा राम्रो फललाग्दा ३० किलोग्राम सम्म उत्पादन हुने र रोपेको एक वर्ष भन्दा बढी समयसम्म टमाटर फल्ने गरेको छ ।
हाल उनले याङ्फुङ्ग कृषि तथा एग्रो फर्म दर्ता गरि करिब ४० रोपनी जमिनमा सब्जि खेती गर्दै आएका छन् । अहिले १२ लाख रुपैया बराबरको लगानीमा संचालित उनको फर्मलाई कृषि ज्ञान केन्द्र पाँचथरबाट युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत एक लाख रुपैया र फाल्गुनन्द गाउँपालिकाबाट साना सिंचाइ योजनाको कार्यक्रमबाट एक लाख अनुदान उपलब्ध भएको छ । शुद्ध अर्गानिक सब्जि उत्पादन गरेको दावी गर्ने नेम्बाङको घरपरिवारले फर्ममा काम गर्ने र केेहि मौसमी कामदारलाई रोजगार पनि दिइरहेका छन् ।

उनको फर्मबाट उत्पादन गरिएको टमाटर,खुर्सानी,करेला तथा काँक्रा स्थानीय बजार राँके,पुरानो पञ्चमी,देउराली,घुर्बिसे पञ्चमी,सप्तमी लगायतका बजारमा मोटरसाइकमा ढुवानी गरेर बिक्री गरिरहेका छन्  । वर्षातको समयमा कच्ची बाटोमा मोटरसाइकल गुड्न नसक्दा डाेकोमा बोकेर पनि उपभोक्ता तथा व्यापारीको घरघरमा पुर्‍याउने गरेको छन् । गाउँघरमा बिबाह,भोज तथा विभिन्न दुखसुखका कार्जेमा पनि स्थानीयले तरकारी माग गर्दा होम डेलिभरी समेेत गर्ने गरेको बताउँछन् ।

यसअघि पाँचथरका धेरै किसानले उत्पादन गरेको टमाटर बिक्रि नहुँदा बोटैमा कुहिएको थियो । बिक्री नभएपछि सडकमा फ्याँकेका पनि थिए । त्यसबेला भारत र तराईका क्षेत्रबाट बिषादियुक्त सस्तो टमाटर भित्रीएकोले किसानले मार खेप्नुपरेको थियो भने यतिबेला यस्तो समस्या नभएको साथै आजभोलि स्थानीय उत्पादनलाई उपभोक्ताले प्राथमिकता दिन थालेको उनको भनाइ छ । अहिले अर्गानिक तरकारीको माग बढेको र धेरै उपभोक्ता सन्तुष्ट भएको सुन्दा खेती गर्न जाँगर चलेको नेम्वाङले बताए ।

 

 

 

उनि भन्छन्, ‘मैले विदेशमा बसेर समय खेर फालेछु,अहिले पछुतो लागेको छ ।’परिवारको साथमा बसेर बालबालिकाको पढाईमा सहायता मिलेको छ । दैनिक परिश्रम गर्दा आफु स्वस्थ भएको महसुस गरेको छु । आफैं उत्पादन गरेको सागसब्जि खान पाउँदा हर्षित भएको बताउँदै बजारीकरणको राम्रो व्यवस्था हुने हो भने अझै खेती बढाउने उनको सोचाइ छ ।

विदेशको नोकरीमा भन्दा आफ्नै बारीमा सब्जि खेती गरेर सन्तुष्ट बनेका नेम्वाङका एक छोरा,तीन छोरी र श्रीमती सहित छ जनाको परिवारको घरखर्च टरेेेेको छ । खेतीबाट आम्दानी गर्दै छोरा र छोरीलाई विद्यालयमा पढ्ने रकम जुुुटाएका छन् । खर्च गरेर बचेको पैसाले आठ लाख बराबराबरको लगभग १२ रोपनी जमीन र एक मोटरसाइकल समेत खरिद गरेको बताए ।

केहि समय पहिले यस फर्मलाई जिल्ला कृषि सहकारी पाँचथरले संचालन गरेको कृषिमेला अन्तर्गत कृषि प्रदर्शनीमा उत्कृष्ट बेर्ना उत्पादन गरेको भन्दै सम्मान गरेको थियो ।

कृषिजन्य उत्पादनमा अब्बल मानिएको जिल्लाकै उत्कृष्ट फाल्गुनन्द -४ को चिलिङदेनमा प्रायः हरेक किसानले अकबरे खुर्सानी,अदुवा,कुचो,लसुन,टमाटर,दुध,सुन्तला,कागती तथा धान र मकै उत्पादन गरेर कृषि पेशाको माध्यमबाट जिविकोपार्जन गरेका छन् । सिंचाइको समस्या,किरा लाग्ने,मलखादको व्यवस्थापनमा कठिन हुने,बजारीकरणको उचित प्रबन्ध,कोल्ड स्टोरेजको अभाव जस्ता कठिनाइ भोग्नु परेको किसानहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार